काठमाडौँ । भोटेकोसीमा आएको विनाशकारी बाढीपछि विभिन्न नदी तथा तटीय क्षेत्रमा फेला परेका र पहिचान खुल्न नसकेका शवको वैज्ञानिक तथा सुरक्षित विधिबाट जमिनमुनि व्यवस्थापन गर्ने क्रम जारी छ । बाढीमा ज्यान गुमाएका व्यक्तिका शव त्रिशूली, नारायणी र अन्य नदीमा बगेर विभिन्न जिल्लामा पुगेपछि पहिचानमा कठिनाइ भएको हो । काठमाडौँको गोकर्णेश्वरस्थित सरकारी वन क्षेत्रमा पनि पहिचान खुल्न नसकेका शव व्यवस्थापन गरिएको छ । मंगलबार दिउँसो केही शव जमिनमुनि व्यवस्थापन गरिएको हो । यसअघि सोमबार राति सोही क्षेत्रमा ४६ शव व्यवस्थापन गरिएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार दिउँसोसम्म ९८७ शव प्राप्त भएकामा करिब १०० शव काठमाडौँ ल्याइएको छ ।
सरकारले ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८’ अनुसार शव व्यवस्थापन गरिरहेको छ । निर्देशिकाअनुसार शवको मुचुल्का, प्रारम्भिक पहिचान, आवश्यक फरेन्सिक परीक्षण तथा डिएनए नमुना संकलन, सनाखत र अभिलेखीकरणपछि भविष्यमा पुनः पहिचान गर्न सकिने गरी संकेत चिह्नसहित शव व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ । चितवनमा पनि त्रिशूली र नारायणी नदीबाट फेला परेका शवको व्यवस्थापन जारी छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हालसम्म ३२१ शव संकलन गरिएकामा १२ शवको सनाखत भई आफन्तलाई बुझाइएको छ । बाँकी शवमध्ये आवश्यक फरेन्सिक परीक्षण र डिएनए नमुना संकलनपछि २८० शव चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।
चितवनमा संकलित शवमध्ये ६६ महिला, ११६ पुरुष, ७ बालक, ६ बालिका तथा १२६ जनाको पहिचान खुल्न नसकेको वा अवस्था स्पष्ट हुन नसकेको प्रहरीले जनाएको छ । १३ भदौमा ९६, १४ गते १०३ र १५ गते ८१ शव व्यवस्थापन गरिएको थियो । नदी किनारमा शव खोज्ने तथा फेला परेका शव अस्पतालमा ल्याएर परीक्षण गर्ने काम भने अझै जारी छ । पश्चिम नवलपरासीको नारायणी नदी क्षेत्रमा हालसम्म १७० शव फेला परेका छन् । तीमध्ये ६८ शव डिएनए नमुना संकलनलगायत कानुनी प्रक्रिया पूरा गरी जमिनमुनि व्यवस्थापन गरिएको छ भने ४ वटा शवको सनाखत भएको छ । बाँकी ९८ शव अस्पतालमा राखिएका छन् ।
सुनवलस्थित मूलपानी सामुदायिक वनमा ठाउँ अभाव भएपछि बर्दघाट–२ चिसापानी सामुदायिक वन क्षेत्रमा पनि शव व्यवस्थापन सुरु गरिएको छ । हालसम्म चिसापानीमा ३० शव व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । भारतको कुशीनगर जिल्लाको खड्डा गण्डक नदीमा फेला परेका ९ मध्ये ४ शव भारतीय पक्षले महेशपुर नाकामा हस्तान्तरण गरेपछि नेपाल ल्याएर अस्पतालमा राखिएको छ । पोखरामा पनि विभिन्न जिल्लाबाट ल्याइएका शवमध्ये ७६ वटा जमिनमुनि व्यवस्थापन गरिएको छ । धादिङ, तनहुँ, गोरखा र पूर्वी नवलपरासीबाट ल्याइएका १०२ शवमध्ये १९ शव पहिचान गरी आफन्तलाई बुझाइएको छ । बाँकी शवको परीक्षण, डिएनए नमुना संकलन र आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोखरा–१६ स्थित सेती नहरछेउको वन क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन गरिएको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार डिएनए नमुना राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइनेछ । भविष्यमा परिवारका सदस्यको डिएनएसँग नमुना मिलान भएमा व्यवस्थापन गरिएका शव पुनः पहिचान गरी आफन्तलाई बुझाउन सकिने गरी अभिलेख राखिएको छ । बाढीले शवलाई लामो दुरीसम्म बगाएर विभिन्न जिल्लामा पुर्याएका कारण पहिचान प्रक्रिया जटिल बनेको छ । कतिपय शवको अवस्था अत्यन्त बिग्रिएका कारण प्रत्यक्ष पहिचान सम्भव नभएपछि फरेन्सिक परीक्षण र डिएनए प्रविधिलाई मुख्य आधार बनाइएको छ । लामो समयसम्म शव संरक्षण गर्दा स्वास्थ्य तथा महामारीको जोखिमसमेत बढ्न सक्ने भएकाले आवश्यक वैज्ञानिक तथा कानुनी प्रक्रिया पूरा गरी सुरक्षित रूपमा व्यवस्थापन गरिएको सम्बन्धित अधिकारीहरूले बताएका छन् ।