जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) बिहान ८ बजे जारी गरेको अद्यावधिक बुलेटिनअनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ।
मौसम महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस प्रदेश साथै कोसी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा कर्णाली प्रदेशको पहाडी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।
यसैगरी आज राति पनि कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी प्रदेशका पहाडी र तराई तथा बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
काठमाडौँमा मध्यम वर्षाको सम्भावना
देशका विभिन्न स्थानसँगै आज काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार काठमाडौँमा दिउँसोपछि बादल बढ्दै जाने र वर्षा हुने सम्भावना छ।
‘काठमाडौँ उपत्यकामा त्यस्तै दिउँसो २/३ बजेपछि मध्यम वर्षा सुरु हुने सम्भावना छ’, उनले आज बिहान नेपालखबरसँग भने।
त्यसअघिसम्म भने घाम-बादल, घाम-बादलको अवस्था रहने उनको भनाइ छ।
हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।
यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।
एक-दुई स्थान, केही स्थान, धेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?
मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।
अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।
यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।
अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।