काठमाडौँ । भोटेकोसी बाढीपीडितका लागि भारतले चौथोपटक राहत सामग्री नेपाल पठाएको छ । भारतका विदेशमन्त्री एस जयशंकरले दिएको जानकारीअनुसार ११ टन राहत सामग्रीसहित शनिबार राति सी-१३० सैन्य विमान नेपाल पठाइएको हो ।
खोज र उद्धारका लागि उपकरणसहितको सुरुङ प्राविधिक टोली (टनेल टेक्निकल टिम), फोरेन्सिक उपकरणसहित डीएनए विश्लेषणका लागि फोरेन्सिक विशेषज्ञको टोली, कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट र हाइजिन किटसहितका राहत सामग्री पठाइएको उनले बताएका छन् ।
साथै २३० फिटको सिंगल लेन मोड्युलर स्टिल पुलका लागि उपकरण बोकेका १६ ट्रक नेपाल आइपुगेका छन् । भारतीय विदेशमन्त्री जयशंकरअनुार हालसम्म भारतले औषधि, पोर्टेबल जेनेरेटर सेट, खाद्य प्याकेट, पानी शुद्धीकरण ट्याब्लेट र प्राविधिक उपकरणसहित कुल ६८.५ टन राहत सामग्री हवाई मार्गबाट काठमाडौँ पुर्याइसकेको छ ।