काठमाडौँ । काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा पक्राउ परेका जुम्ला तातोपानीका राज कठायतविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रहरीका अनुसार बानेश्वरबाट थापागाउँ जाने सडकखण्डमा सोमबार बिहान ड्युटीमा खटिएका प्रहरीले पैदलयात्री कठायतलाई आकाशे पुलबाट बाटो काट्न आग्रह गरेका थिए । तर, उनले प्रहरीको आग्रह अटेर गर्दै अभद्र व्यवहार र हातपात गरेपछि नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार कठायतविरुद्ध राष्ट्रसेवकलाई काममा बाधा पुर्याएको र अभद्र व्यवहार गरेको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको छ ।