नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अर्थतन्त्रलाई पुनर्संरचना गर्नुपर्ने समय आएको बताएको छन् । मंगलवार देखि काठमाण्डौंमा शुरु भएको १८ औं नाडा अटो शो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले अहिले अर्थतन्त्र चलायमान हुन नसकेको अवस्थामा अर्थतन्त्रलाई पुनर्संरचना आवश्यक भएकोमा जोड दिएका हुन् ।
उनले निजी क्षेत्रको लगानी सुरक्षित नभएसम्म र व्यावसायिक वातावरण नबनेसम्म आर्थिक समृद्धि सम्भव नभएको बताए । उनले भने, ‘समग्र माग बढ्न सकेको छैन, उद्योग व्यवसाय सञ्चालनमा कठिन छ, व्यवसायी कठिन अवस्थामा छन् । व्यवसायको मनोबल इतिहासकै कमजोर अवस्थामा छ । मेरो ३६ वर्षको करियरको अनुभवले अहिले सबैभन्दा कमजोर अवस्थामा पुगेको ठान्छु । अर्थतन्त्र चूनौतीपूर्ण अवस्थामा रहेको र बजार शिथिल रहेको छ । नयाँ सरकारले बजेटको प्रतिवद्धता अनुसार व्यवहारमा काम गर्न सकेको छैन् ।’
अटोमोबाइल क्षेत्रमा आयात प्रतिस्थापनका लागि स्वदेशमै उद्योग खुल्नु पर्ने भन्दै अध्यक्ष श्रेष्ठले त्यसका लागि राज्यको संरक्षण आवश्यक रहेको बताए । उनले कतिपय उद्योग खुले पनि तर सरकारले ध्यान दिन नसक्दा उद्योगी व्यवसायीहरुका समस्या नबुझ्दा औदोगिक विकास हुन नसकेको धारणा राखे ।
सरकारले बजेटमार्फत अर्थतन्त्र चलायमान बनाउने, ५ देखि ७ वर्षमा ३ हजार डलरको प्रतिव्यक्ति आय, १ सय बिलियनको अर्थतन्त्र र १२ लाख रोजगारीको प्रतिवद्धता व्यक्त गरेको भएतापनि बजेटका घोषणा अगाडि बढेन नसकेको, सो अनुसारका रणनीति नआएको उनको भनाइ छ ।
अटोमोबाइल क्षेत्रमा गत आवमा १ खर्ब ६ अर्बको आयात भएको तथ्यांक प्रस्तुत गर्दै उनले सो आयातबाट राज्यले ८१ अर्ब राजस्व संकलन गरेको तर यति ठूलो राजस्व दिने क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण स्पष्ट नभएको उनको गुनासो थियो । उनले १२ खर्ब राजस्व मध्ये एक्लैले ८१ अर्ब योगदान गर्ने क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नु पर्ने सुझाव दिए ।
वर्तमान सरकारले बन्द रहेका उद्योग खोल्ने तदारुकता देखाएकोमा टिप्पणी गर्दै अध्यक्ष श्रेष्ठले सरकारलाई दशकौंसम्म बन्द उद्योग खोल्दै गर्दा चलिरहेका उद्योगको अवस्था के छ भन्नेमा ध्यानै नदिइएको धारणा राखे । उनले अटोमोबाइल क्षेत्रका उद्योगहरूले भोगिरहेका समस्याका बारेमा सरकार मौन रहेको भन्दै उनले उद्योगीका समस्या बुझ्न र समाधान गर्न सरकारसँग आग्रह गरे ।