काठमाडौँ । प्रधानमन्त्री नियुक्त भएपछि वालेन्द्र शाह (बालेन) ले आज बुधबार प्रतिनिधिसभामा सांसदहरूको प्रत्यक्ष प्रश्नको सामना गर्दै छन् । यसअघि गत जेठ १७ मा अनौपचारिक रूपमा प्रधानमन्त्री बालेनले सदनको बैठक बसिरहेकै बेला सांसदहरूको प्रश्नको जबाफ दिन तयार रहेको भन्दै प्रश्नोत्तर राख्न सभामुखलाई आग्रह गरेका थिए । तर, उक्त प्रश्नोत्तर नियमावलीको व्यवस्थाभन्दा फरक भएकाले प्रधानमन्त्री बनेको ५ महिनापछि आज पहिलो पटक प्रधानमन्त्री बालेनले प्रत्यक्ष प्रश्नोत्तरको सामना गर्दै छन् ।
प्रतिनिधिसभामा आजका लागि तय गरिएको प्रत्यक्ष प्रश्नोत्तरमा ११ सांसदले प्रश्न गर्ने भएका छन् । संसद् सचिवालयका अनुसार प्रश्नोत्तरका लागि अधिकतम १५ वटा प्रश्नको सीमा तोकिएको भए पनि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो भागमा परेको ७ वटा प्रश्नमा जम्मा ३ वटा मात्र दर्ता गराउँदा जम्मा ११ सांसदले मात्र प्रश्न गर्ने भएका हुन् ।
विगतका प्रश्नोत्तर कार्यक्रममा निर्धारित १५ वटा सीमाभन्दा बढी प्रश्न दर्ता हुँदै आए पनि यस पटक भने कोटाभन्दा कम प्रश्न दर्ता भएका छन् । संसद् सचिवालयमा प्रश्न दर्ता गराउनेहरूमा रास्वपाका अमरेशकुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बाँस्कोटा छन् भने कांग्रेसबाट बासना थापा र गीता गुरुङ, एमालेबाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्ना, नेकपाबाट वर्षमान पुन र प्रमेश हमाल, श्रम संस्कृतिबाट हर्कराज राई र राप्रपाकी खुश्बु ओली छन् । उनीहरूले नै आजको प्रश्नोत्तरमा प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन् ।