काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल लोक गायिका टिका पुनलाई सम्मान गरेकाे छ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा आइतबार काठमाडौँमा आयोजित ‘सामूहिक मौलिक तीज गीत विमोचन तथा तीज नारी सम्मान कार्यक्रम–२०८३’ का अवसरमा पुनलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिएको हो ।
नेपाली लोक तथा मौलिक गीत–संगीतको संरक्षण, प्रवर्द्धन र विकासमा पुर्याएको योगदानको कदर गर्दै पुनलाई सम्मान गरिएको आयोजकले जनाएको छ । लोकगीत तथा मौलिक संगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय पुनले नेपाली लोकसंस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउन महत्वपूर्ण योगदान दिँदै आएकी छन् ।
कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापाले गायिका पुनले नेपाली लोकसंगीतको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै उनको सिर्जनात्मक यात्राको प्रशंसा गरेकी थिइन् । उनले मौलिक लोकगीतको संरक्षण र प्रवर्द्धनमा पुनको भूमिका महत्वपूर्ण रहेको बताइन् ।
त्यस्तै, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले पनि गायिका पुनको योगदानको प्रशंसा गर्दै नेपाली मौलिक गीत–संगीतको संरक्षणमा कलाकारको भूमिका महत्वपूर्ण हुने धारणा राखे ।
कार्यक्रममा १४ वटा मौलिक लोकगीतसहित विभिन्न गीतको सामूहिक रूपमा लोकार्पणसमेत गरिएको थियो । तीजको मौलिकता, नेपाली लोकसंस्कृति र परम्परालाई केन्द्रमा राखेर तयार गरिएका गीतहरू सार्वजनिक गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा गायक बसन्त थापा, गायक प्रकाश पराजुलीलगायतका कलाकार तथा सञ्चारकर्मीहरूले नेपाली मौलिक गीत–संगीतको अवस्था, तीज गीतको मौलिकता र यसको संरक्षणका विषयमा धारणा राखेका थिए। इन्द्रेणी कार्यक्रमका कृष्ण कँडेलले पनि नेपाली लोकसंस्कृति तथा कलाकारको योगदानका विषयमा आफ्ना विचार व्यक्त गरेका थिए ।
कार्यक्रमका वक्ताहरूले तीज गीत नेपाली समाजको सांस्कृतिक पहिचानसँग जोडिएको विषय भएकाले यसको मौलिकता जोगाउन आवश्यक रहेको बताएका थिए । पछिल्लो समय तीज गीतमा आधुनिकता बढ्दै गए पनि नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक मूल्यलाई समेट्ने सिर्जनालाई प्राथमिकता दिनुपर्नेमा उनीहरूले जोड दिए ।
सम्मान ग्रहण गर्दै गायिका पुनले आफूले नेपाली लोकगीत तथा संगीत क्षेत्रमा गरेको योगदानको कदरस्वरूप प्राप्त सम्मानले थप जिम्मेवारीबोध गराएको बताइन् । उनले लोकगीत तथा मौलिक संगीतको संरक्षणका लागि कलाकार, सञ्चारकर्मी र नयाँ पुस्ताबीच सहकार्य आवश्यक रहेको धारणा राखिन् ।