काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको अवस्थाबारे यात्रुलाई वास्तविक समयमै जानकारी दिने ‘केटिएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप सार्वजनिक गरिएको छ । आफूले यात्रा गर्न खोजेको रुटमा कुन सवारी साधन कहाँ पुगेको छ र आफूले पर्खिरहेको स्थानमा उक्त सवारी पुग्न कति समय लाग्छ भन्ने जानकारी एपमार्फत लिन सकिनेछ । ‘संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्’को तेस्रो बैठकका क्रममा परिषद्का अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बिहीबार उक्त एप सार्वजनिक गरेकी हुन् । सार्वजनिक यातायातलाई प्रविधिमैत्री, सहज र यात्रुमैत्री बनाउने उद्देश्यले एप सञ्चालनमा ल्याइएको परिषद्ले जनाएको छ । हाल जिपिएस जडान गरिएका करिब १ हजार २०० सार्वजनिक सवारी साधनको विवरण एपमा हेर्न सकिने व्यवस्था गरिएको छ । आगामी दिनमा थप सार्वजनिक सवारी साधनलाई जिपिएस प्रणालीमा आबद्ध गर्दै एपको पहुँच र उपयोगिता विस्तार गर्ने योजना प्राधिकरणले अघि सारेको छ ।
एप सञ्चालनमा आएसँगै यात्रुले सार्वजनिक सवारी साधनको अवस्थाबारे अनुमानका भरमा लामो समयसम्म बस बिसौनीमा कुर्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ । रुटअनुसार सञ्चालन भइरहेका सवारी साधनको अवस्थाबारे जानकारी प्राप्त हुने भएकाले यात्रुले आफ्नो यात्रा योजना बनाउनसमेत सहज हुने परिषद्को विश्वास छ । बैठकमा अध्यक्ष डंगोलले काठमाडौँ उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई सरल, सहज र सबैको पहुँचमा पु¥याउन स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन् । उनले रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्नुपर्ने तथा विद्यालय र कलेज जाने विद्यार्थीलाई लक्षित गरी बिहानैदेखि सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
सार्वजनिक यातायात कुनै एउटा स्थानीय तहको सीमाभित्र मात्र सीमित विषय नभएको उल्लेख गर्दै उनले स्थानीय तहबीच वित्तीय साझेदारीसहितको साझा प्रणाली विकास गर्नुपर्नेमा जोड दिइन् । ‘सार्वजनिक यातायात कुनै एक पालिकाको सीमाभित्र मात्र राख्न मिल्ने क्षेत्र होइन । पालिका–पालिका जोडिने भएकाले यो पालिकाहरूको साझा सवाल हो । यसमा समन्वय गरेर कार्यक्रम र सेवालाई एकरूपता दिनुपर्छ,’ उनले भनिन् । परिषद्का उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सार्वजनिक बस प्रयोग गर्ने यात्रुले सहज र सुरक्षित रूपमा यात्रा गर्न सकेको अनुभूति हुने प्रणाली निर्माण गर्नुपर्ने बताए । सार्वजनिक यातायात सुधारका लागि परिषद्सँग आवश्यक क्षमता रहेकाले त्यसको प्रभावकारी उपयोग गर्नुपर्ने उनको भनाइ थियो । बैठकमा संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुबेर नेपालीले विगतमा प्राधिकरणको कार्यक्षेत्रका विषयमा अन्तरसरकारी तहमा समान बुझाइ नहुँदा काम अघि बढाउन कठिनाइ भएको जानकारी दिए । अघिल्लो वर्ष सरकारले प्राधिकरणलाई खारेजीको सूचीमा राखेका कारण अघि बढाउन खोजिएका कतिपय काम रोकिएको उनले बताए ।
सरकारले चालु वर्ष प्राधिकरणलाई पुनःसंरचना गर्ने निर्णय गरेपछि चालु आर्थिक वर्षका लागि विभिन्न कार्यक्रम प्रस्ताव गरिएको उनले जानकारी दिए । बैठकले सार्वजनिक यातायात सुधार र यात्रुमैत्री सेवा विस्तारका लागि विभिन्न कार्यक्रम स्वीकृतसमेत गरेको छ । स्वीकृत कार्यक्रमअनुसार बस स्टपर तथा पिक–ड्रप प्वाइन्ट निर्धारण गर्ने, रात्रिकालीन बस सञ्चालनका लागि आवश्यक सर्त तय गर्ने र त्यसका लागि सम्झौताको नमुना तयार गरी नगरपालिकासँग सहकार्य अघि बढाउने निर्णय भएको छ । त्यस्तै स्थानीय तहसँगको साझेदारीमा मुख्य बस स्टप तथा बस पार्कमा जिपिएस ट्रयाकिङमा आधारित सार्वजनिक यातायात सूचना प्रणाली जडान गर्ने कार्यक्रम पनि अघि बढाइने भएको छ । नगदरहित भाडा प्रणाली अर्थात् क्यासलेस भाडादर लागू गर्न आवश्यक कानुनी पूर्वाधार तयार गर्ने निर्णयसमेत बैठकले गरेको छ । सार्वजनिक यातायातमा टिकट लिने संस्कारलाई प्रोत्साहन गर्न अभियान सञ्चालन गर्ने तथा यातायात प्रणाली सुधारका लागि विभिन्न अध्ययन र अनुसन्धान गर्ने कार्यक्रम पनि स्वीकृत भएका छन् ।