काठमाडाैँ । ग्रामीण महिला सिर्जनशील परिवारले आफ्नो ३३औँ स्थापना दिवस विभिन्न कार्यक्रमसहित सम्पन्न गरेको छ । स्थापना दिवसको अवसरमा महिला अधिकार, लैङ्गिक समानता, हिंसामुक्त समाज निर्माण र सामाजिक न्यायका क्षेत्रमा योगदान पुर्याउँदै आएका विभिन्न क्षेत्रका १२ जना महिलालाई ‘सिर्जनशील समानता पुरस्कार’बाट सम्मान गरिएको छ ।
सम्मानित हुनेहरूमा महिला हिंसाविरुद्धको अभियानकी जेन्जी अभियन्ता मनिषा रानामगर, संस्थाकी पूर्वअध्यक्ष कल्याणी नेपाल, संस्थापक रामदेवी तामाङ, कान्तिपुरकी सञ्चारकर्मी कमला पाख्रिन, राजनीतिक नेता तथा सफल हिमाल आरोही माया गुरुङ, भोटेकोशी गाउँपालिकाकी निवर्तमान उपप्रमुख दाबुटी शेर्पा, त्रिपुरासुन्दरी गाउँपालिकाकी दुर्गादेवी नेपाल, जुगल गाउँपालिकाकी सिर्जना तामाङ, लिसङ्खुपाखर गाउँपालिकाकी हेमगंगा मोक्तान, सुनकोशी गाउँपालिकाकी लक्ष्मी पौडेल, बलेफी गाउँपालिकाकी कमला कायस्थ र बाह्रबिसे नगरपालिकाकी सुशिला पाख्रिन रहेका छन् ।
संस्थाले महिला अधिकार, लैङ्गिक समानता, हिंसाविरुद्धको अभियान, सामाजिक न्याय तथा जोखिममा रहेका व्यक्ति र समुदायको पक्षमा योगदान पुर्याउने व्यक्तित्वलाई हरेक वर्ष ‘सिर्जनशील समानता पुरस्कार’ प्रदान गर्दै आएको छ । आफ्नो जीवनमा भोगेका कठिन सङ्घर्ष र चुनौतीलाई शक्तिमा रूपान्तरण गर्दै सामाजिक परिवर्तनमा योगदान पुर्याउने महिलाको काम र नेतृत्वलाई सम्मान गर्नु पुरस्कारको मुख्य उद्देश्य रहेको संस्थाले जनाएको छ ।
कार्यक्रमको उद्घाटन पूर्वस्थानीय विकासमन्त्री तथा संस्थाका सल्लाहकार अमृतकुमार बोहरासहित स्थानीय तहका प्रमुख तथा उपप्रमुख, वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक र संस्थाका संस्थापक तथा साधारण सदस्यहरूले ३३ वटा दीप प्रज्वलन गरी गरेका थिए । कार्यक्रममा संस्थाकी अभियन्ता टिका थापाले सांगीतिक प्रस्तुतिसमेत दिइन् ।

तीन दशकदेखि महिला अधिकारको अभियानमा
ग्रामीण महिला सिर्जनशील परिवारको स्थापना वि.सं. २०५० साउन ३२ गते भएको हो । स्थापनाकालदेखि नै संस्थाले ग्रामीण क्षेत्रमा महिलामाथि हुने विभेद, मानव बेचबिखन, आधुनिक दासता तथा हिंसाविरुद्ध विभिन्न अभियान सञ्चालन गर्दै सामाजिक न्याय र समानताको प्रवर्धनमा काम गर्दै आएको छ ।
साथै, बालबालिका तथा किशोरकिशोरीको शिक्षा र अधिकार संरक्षणका क्षेत्रमा पनि संस्थाले निरन्तर काम गर्दै आएको छ । संस्थापक अध्यक्ष देवी अधिकारीले विभिन्न चुनौतीका बाबजुद समुदायदेखि जिल्लास्तरसम्म बालबालिकाको अधिकार संरक्षण र सामाजिक रूपान्तरणका लागि संस्थाले निरन्तर योगदान दिँदै आएको बताइन् ।
कार्यक्रममा महिलाले भोग्दै आएका हिंसा, विभेद र चुनौतीविरुद्ध अग्रज महिलाले गरेका सङ्घर्ष तथा त्यसले वर्तमान पुस्ताको नेतृत्व विकासमा पुर्याएको योगदानबारे चर्चा गरिएको थियो । वक्ताहरूले महिलाले संवैधानिक अधिकार प्राप्त गर्न र सामाजिक तथा राजनीतिक क्षेत्रमा आफ्नो नेतृत्व स्थापित गर्न अग्रज महिलाको सङ्घर्ष महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाकी उपाध्यक्ष गीता नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीकी जिल्ला सभापति माया गुरुङले अग्रज महिलाले सुरु गरेका सचेतना र अधिकारका अभियानले अहिलेको पुस्तालाई नेतृत्वमा आउन महत्त्वपूर्ण आधार तयार गरेको बताइन् ।
नेतृत्वसँगै न्यायको पक्षमा उभिएको योगदान
लिसङ्खुपाखर, भोटेकोशी, जुगल, त्रिपुरासुन्दरी र सुनकोशी गाउँपालिका तथा बाह्रबिसे नगरपालिका र बलेफी गाउँपालिकाका निवर्तमान महिला जनप्रतिनिधिहरूलाई सङ्घीयताको नयाँ अभ्यासका क्रममा देखिएका संस्थागत, स्रोत तथा कार्यप्रणालीका चुनौतीका बाबजुद न्यायबाट वञ्चित तथा हिंसा र अन्यायबाट प्रभावित व्यक्तिको पक्षमा उभिएको योगदानका लागि सम्मान गरिएको हो ।
उनीहरूले सुविधा र अवसरको अपेक्षाभन्दा माथि उठेर प्रभावित व्यक्ति तथा समुदायलाई आवश्यक सेवा, सहयोग तथा कानुनी र न्यायिक प्रक्रियामा भरोसा दिलाउन खेलेको भूमिकालाई संस्थाले सम्मान गरेको जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि अमृतकुमार बोहराले पितृसत्तात्मक सामाजिक संरचनाका कारण महिलाका आवाज अझै पनि विभिन्न तहमा सीमित हुने गरेको उल्लेख गर्दै महिला अधिकारका आवाजलाई व्यवहारमै रूपान्तरण गर्नुपर्नेमा जोड दिए । उनले महिला अधिकार र सामाजिक न्यायका क्षेत्रमा ग्रामीण महिला सिर्जनशील परिवारले लामो समयदेखि गर्दै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताए ।
सम्मानित व्यक्तित्व सुशिला पाख्रिनले महिलाले विभिन्न दुःख, कठिनाइ र चुनौतीका बाबजुद एकताबद्ध भएर अघि बढिरहेको बताउँदै प्राप्त सम्मानले आफूहरूलाई थप ऊर्जा र उत्साह प्रदान गरेको बताए ।
समानता र न्यायको अभियानलाई निरन्तरता
संस्थाको ३३ वर्षे यात्रामा महिला अधिकार, लैङ्गिक समानता, हिंसामुक्त समाज निर्माण र सामाजिक समावेशीकरणका क्षेत्रमा महत्त्वपूर्ण काम हुँदै आएको छ । पितृसत्तात्मक सामाजिक संरचनाबाट सिर्जित लैङ्गिक, जातीय तथा भौगोलिक विभेद र असमानताबाट प्रभावित व्यक्तिको अधिकार, आत्मसम्मान र अस्तित्वका लागि संस्था निरन्तर आवाज उठाउँदै आएको छ ।
महिलाले जीवनमा भोगेका कठिन परिस्थिति र हिंसाका अनुभवलाई निराशा र निष्क्रियतामा सीमित नराखी सकारात्मक परिवर्तन र सामाजिक रूपान्तरणको आधार बनाउने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने संस्थाले जनाएको छ ।
कार्यक्रमको सञ्चालन संस्थाकी महासचिव कल्पना कार्कीले गर्नुभएको थियो भने अतिथिहरूलाई उपाध्यक्ष सुमित्रा अधिकारीले स्वागत गरेकी थिइन् । कार्यक्रमको समापन संस्थाकी अध्यक्ष नानीमाया थापाले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै गरिन् ।