काठमाडौँ । प्रदेश सरकारमा सहकार्य गर्ने विषयमा भएको तीन बुँदे सहमति कार्यान्वयनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ५ बुँदे निर्देशन जारी गरेका छन् । प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटका विषयमा ओली र प्रचण्डले मंगलबार निर्देशन जारी गरेका हुन्।
निर्देशनमा प्रदेश सरकार गठन गर्दा प्रदेशसभामा दलको सिट संख्यालाई मुख्य आधार मानिने उल्लेख छ । त्यस्तै मन्त्रालय बाँडफाँट गर्दा प्रदेश सभा सदस्य संख्याको अनुपातमा हुने र मुख्यमन्त्री र सभामुखको जिम्मेवारीलाई पनि समग्र शक्ति सन्तुलनमा गणना गरिने निर्देशनमा भनिएको छ ।
मन्त्रालय बाँडफाँट गर्दा पालैपालो प्राथमिकता दिने व्यवस्था अपनाइने, पहिलो मन्त्रालय मुख्यमन्त्रीको जिम्मेवारी नलिने दलले छनोट गर्ने, त्यसपछि मुख्यमन्त्री रहने दलले दोस्रो मन्त्रालय छनोट गर्ने र सोही क्रमलाई दोहोर्याउँदै मन्त्रालयको बाँडफाँट गर्ने निर्देशनमा उल्लेख छ । त्यस्तै एमाले र नेकपाको सहकार्यले पनि संख्या नपुगे तेस्रो दललाई पनि सहभागी गराएर आपसी समझदारीमा मन्त्रालयमा बाँडफाँट गर्ने निर्देशनमा भनिएको छ ।

