काठमाडौँ । पत्रिकामा टेन्डरका विज्ञापन प्रकाशित गर्न निषेध गर्नेगरी सार्वजनिक खरिद ऐन २०६३ मा भएको संशोधनविरुद्ध दायर भएको रिटमाथि बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार रिटको पेसी तोकिएको छ। असंवैधानिक तवरले पत्रिकामा पूर्व प्रतिबन्ध लगाएको जिकिर गर्दै अधिवक्ताद्वय अनन्तराज लुईंटेल र रामप्रसाद पुडासैनी रिट दायर गरेका थिए।
संवैधानिक इजलासमा बरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमणकुमार श्रेष्ठ, नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्र, महासचिव केदार कोइराला, पूर्वमहान्यायाधीवक्ता रमेश बडाल, बरिष्ठ अधिवक्ताहरू टीकाराम भट्टराई, ललित बस्नेत तथा निवेदक लुईंटेल र पुडासैनी, अधिवक्ताहरू विकास भट्टराई, कीर्तिनाथ शर्मा पौडेल, प्रतिभा उप्रेती, विशाल थापा, सूर्यवति पुडासैनीलगायतका दुई दर्जनभन्दा बढीले बहस गर्ने तयारी गरेका छन्।
सार्वजनिक खरिद अध्यादेश विरुद्ध अधिवक्ताद्वयले गत जेठ १२ मा दायर गरेको रिटमा सुनुवाइ नहुँदै अध्यादेश संसदबाट पारित भई कानुनको रुप लिएपछि निवेदकद्वयले पुरक निवेदन दायर गरेका थिए। उक्त मुल रिट निवेदन संवैधानिक इजलासमा विचाराधिन रहेकोले पुरक निवेदन समेत बुधबारसँगै पेश हुने अधिवक्ता लुईंटेलले जानकारी दिए।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४ (१), ३० (१) र ४० (१) मा भएको संशोधनले पत्रिकामा टेन्डरको विज्ञापन प्रकाशन गर्न रोक लगाउँदै वेबसाइटमा मात्रै प्रकाशित गर्नुपर्ने व्यवस्थासहित अध्यादेशमार्फत संशोधन गरेको थियो। अध्यादेश संसदबाट पारित भई असार १५ मा राष्ट्रपतिबाट प्रमाणिकरण भइसकेको छ।
मुल निवेदनको सुनुवाइका क्रममा संवैधानिक इजलासले संसदलाई पत्राचार गरी अध्यादेशको अवस्था प्रष्ट पार्न आदेश दिएकोमा अध्यादेश कानुनको रुपमा परिणत भएको जवाफ संसद सचिवालयले सर्वोच्च अदालतलाई गराएको थियो। त्यसपछि अधिवक्ताद्वय लुईंटेल र पुडासैनीले पुरक निवेदन दायर गरेका हुन्।
सरकारले विज्ञापनमा लगाएको एकद्वार नीति नेपाल मिडिया सोसाइटीका अख्तियारप्रात अधिवक्ता लुईंटेलकै निवेदनका आधारमा सर्वोच्च अदालतबाट असार ३० मा खारेज भइसक्दा समेत सरकारले सार्वजनिक खरिद ऐनमा भएको संशोधनका आधारमा दैनिक पत्रिकामा विज्ञापन रोक लगाई आर्थिक नाकाबन्दी लगाउँदै आएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले विज्ञापनमा असार ३० को फैसलामार्फत विभेदको अन्त्य गरेको थियो।