काठमाडौँ । प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘लज्जावती’ ले आफ्नो दोस्रो गीत सार्वजनिक गरेको छ । निर्माणपक्षले बिहीबार गायक थानेश्वर गौतमको स्वरमा रहेको मलाई पिर परेको तिम्लाई के थाहा छ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरेको हो । प्रेमविरहको भाव समेटिएको गीतमा भीमकुमार ओझाको शब्द र सन्तोष बिसीको संगीत रहेको छ । गीतको भिडियोमा फिल्मका कलाकार मेनुका माझी र श्रीकृष्ण निरौला मुख्य रूपमा प्रस्तुत भएका छन् । उनीहरूबीचको प्रेम, विछोड र त्यसपछिको भावनात्मक अवस्थालाई भिडियोमा मार्मिक ढंगले चित्रण गरिएको छ ।
भिडियोमा प्रेमिकाबाट अलग भएपछि श्रीकृष्ण निरौलाले निर्वाह गरेको पात्र मानसिक रूपमा विचलित बनेको देखाइएको छ । उनी जताततै आफ्नी प्रेमिकाको उपस्थितिको अनुभूति गरिरहेको दृश्यले गीतको भावलाई थप सशक्त बनाएको छ । भिडियोमा मुकुन भुसाल र जानुका विश्वकर्माको पनि उपस्थिति रहेको छ । निर्देशक राजबहादुर सानेका अनुसार लज्जावतीले प्रेम सम्बन्धमा आउने उतारचढाव, संघर्ष र त्यसले व्यक्तिको जीवनमा पार्ने प्रभावलाई कथाको मुख्य विषय बनाएको छ । फिल्मले प्रेम, विश्वास, विछोड र जीवनका चुनौतीलाई भावनात्मक शैलीमा प्रस्तुत गर्ने प्रयास गरेको निर्देशकको भनाइ छ ।
फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी र सिपी पौडेललगायत कलाकारहरूको अभिनय रहेको छ । आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको यस फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन् । कमलप्रसाद शर्मा र सन्दीपकुमार रोकाया निर्माता तथा दिनेश बुढाथोकी कार्यकारी निर्माता रहेका छन् । फिल्मको सम्पादन तारा थापा किम्भेले, द्वन्द्व निर्देशन देव महर्जनले तथा छायांकन दिव्यराज सुवेदीले गरेका छन् । फिल्म ‘लज्जावती’ आगामी साउन २९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ । दोस्रो गीत सार्वजनिक भएसँगै निर्माणपक्षले फिल्मको प्रचारपसारलाई थप तीव्र बनाएको छ ।