काठमाडौं । सरकारले बजेटमा घोषणा गरेअनुसार राष्ट्रसेवक कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को निर्णयपछि अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने नयाँ तलबमान सार्वजनिक गरेको हो।
नयाँ तलबमानअनुसार सबैभन्दा बढी तलब पाउनेमा मुख्य सचिव र नेपाली सेनाका प्रधान सेनापति रहेका छन्। उनीहरूले मासिक ९० हजार ५९४ रुपैयाँ तलब पाउनेछन्।
यस्तै, सबैभन्दा कम तलब पाउने प्रथम स्तरका कार्यालय सहयोगीको मासिक तलब २८ हजार ९८४ रुपैयाँ कायम भएको छ।
सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत साउनदेखि लागू हुने गरी कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको थियो। साथै प्रोत्साहन भत्ताबापत थप १० प्रतिशत सुविधा दिने व्यवस्था गरिएको थियो।
नयाँ तलबमान लागू भएसँगै निवृत्तिभरण (पेन्सन) पाउने पूर्वकर्मचारीको पेन्सनसमेत १० प्रतिशतले वृद्धि भएको छ। यस्तै मासिक ५ हजार रुपैयाँ महँगी भत्तालाई निरन्तरता दिइएको छ।
'साउन १ गते देखि लागू हुनेगरी निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारी (निवृत्तभरण प्रयोजन)को संलग्न अनुसूची १ देखि ८ सम्मको नयाँ तलबमान एवं एक दिनको तलब बराबरको ग्रेड रकम र वृद्धि पश्चात् कायम हुने तलबमानको १० प्रतिशत मासिक प्रोत्साहन भत्ता बापतको रकम कायम गर्ने,' नयाँ तलबमान कार्यान्वयनका लागि अर्थ मन्त्रालयले बुधबार सबै मन्त्रालय/आयोग/सचिवालय/कार्यालयमा पठाएको पत्रमा भनिएको छ।
अर्थ मन्त्रालयका अनुसार नयाँ तलबमान सरकारी सेवाका विभिन्न तह, श्रेणी र पदअनुसार लागू हुनेछ। सरकारले कर्मचारीको सेवा सुविधा समायोजनसँगै सार्वजनिक खर्च व्यवस्थापनलाई पनि सन्तुलनमा राख्ने जनाएको छ।
तलबमान हेर्न यहाँ थित्च्नुहाेस