काठमाडौँ । जापानको आइची÷नागोयामा हुने २०औँ एसियाली खेलकुदमा नेपालबाट २२ खेलमा १३६ खेलाडीले सहभागिता जनाउने भएका छन् । ८० पुरुष र ५६ महिला गरी १३६ खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले बताएका छन् । प्रशिक्षक संख्या ३२ रहेको छ । नेपालबाट आर्चरीमा १–१ पुरुष÷महिला, एथलेटिक्समा ४ पुरुष र २ महिला, ब्याडमिन्टनमा २–२ पुरुष÷महिला, बक्सिङमा ४ पुरुष र ३ महिला, क्यानोइ स्लालममा २ पुरुष, पुरुष क्रिकेट १५, साइक्लिङमा १–१ पुरुष÷महिला तथा डान्स एन्ड स्पोर्ट्समा १ पुरुष खेलाडी सहभागी हुनेछन् ।
त्यस्तै गल्फमा ३ पुरुष र १ महिला, जुडोमा ३–३ पुरुष÷महिला, कबड्डीमा १२–१२ पुरुष÷महिला, करातेमा ३ पुरुष र ५ महिला, स्केटबोर्डमा २ पुरुष, सफ्ट टेनिसमा ३ पुरुष र १ महिला, स्क्वासमा १–१ पुरुष÷महिला, पौडीमा ३ पुरुष र २ महिला, टेबलटेनिसमा ३–३ पुरुष÷महिला, तेक्वान्दोमा २ पुरुष, टेनिसमा ३ पुरुष र २ महिला, महिला भलिबलमा १२, कुस्तीमा ४ पुरुष र २ महिला तथा उसुमा ८ पुरुष र ३ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
चीनको हाङझावमा भएको १९औँ एसियाडमा नेपालबाट २९ खेलमा २५३ खेलाडी सहभागी भएका थिए । १२६ पुरुष र १२७ महिला खेलाडीले भाग लिए । हाङझाव एसियाडमा नेपालले समान १–१ रजत र कांस्य पदक जितेको थियो । ऐतिहासिक पदक जित्ने क्रममा करातेकी एरिका गुरुङले रजत तथा महिला कबड्डी टोलीले कास्य जितेको थिए । एसियाडमा दुवैको पहिलो सहभागिता थियो । २०औँ एसियाड ३ असोजदेखि सुरु हुँदै छ ।