सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी बोर्ड सीईओमा याङ्की उक्यावलाई नियुक्त गर्ने निर्णय गरेकाे छ । सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयको प्रस्तावमा उनलाई लगानी बोर्डको सीईओ नियुक्त गरिएको हो ।
दुई दर्जन बढीले लगानी बोर्ड सीईओमा आवेदन दिएका थिए । लगानी बोर्ड सीईओ नियुक्तिका लागि सिफारिस समितिले तीमध्ये ८ जनाको नाम संक्षिप्त सूचीमा राखेको थियो । त्यसपछि समितिले अन्तर्वार्ता र प्रस्तुतीकरणपछि याङ्की, मनोज पौडेल र जितेन्द्र धितालको नाम सिफारिस गरेको थियो । तीमध्यृ याङ्कीलाई सरकारले सीईओ नियुक्त गरेको हो ।
याङ्कीले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को प्रशान्त क्षेत्र कार्यालयकी वरिष्ठ नीति सल्लाहकार भएर काम गरिसकेकी छिन् । त्यस्तै यूएनडीपी नेपालको विकास अर्थशास्त्री समेत रहेकी उनी विकास अर्थशास्त्र र सार्वजनिक नीति विज्ञका रूपमा परिचित छिन् ।
उनले बेलायतको अक्स्फोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेकी छिन् । उनले सार्वजनिक नीति, दिगो विकास, संघीय वित्तीय प्रणाली, विकास अर्थशास्त्र, सार्वजनिक लगानी तथा पूर्वाधार विकास लगायत क्षेत्रमा विशेषज्ञता हासिल गरेकी छिन् ।