काठमाडौं। बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले ज्यान जोखिममा पर्ने, पक्राउ पर्ने वा जेल सजाय भोग्नुपर्ने सम्भावना रहे पनि यही वर्षको डिसेम्बरसम्म स्वदेश फर्किने दृढ अडान व्यक्त गरेकी छन्। भारतमा निर्वासनमा रहेकी उनले आफूलाई बङ्गलादेश फर्किन जनताबाट निरन्तर आग्रह भइरहेको बताएकी छन्।
एएफपीसँग इमेलमार्फत दिएको अन्तर्वार्तामा ७८ वर्षीया हसिनाले आफ्नो भविष्यबारे पूर्ण रूपमा जानकार रहेको उल्लेख गर्दै त्यसका बाबजुद स्वदेश फर्किने निर्णयबाट पछि नहट्ने बताएकी हुन्। ज्यान जान सक्ने, पक्राउ पर्न सक्ने वा जेल जानुपर्ने अवस्था आए पनि त्यसका लागि आफू तयार रहेको उनको भनाइ छ।
विद्यार्थी नेतृत्वको आन्दोलनपछि सन् २०२४ को अगस्टमा उनको १५ वर्ष लामो शासन अन्त्य भएको थियो। आन्दोलनका क्रममा भीडले प्रधानमन्त्री निवास घेरेपछि उनी हेलिकोप्टरमार्फत भारत पुगेकी थिइन्। संयुक्त राष्ट्रसंघका अनुसार आन्दोलन दमनका क्रममा भएको सरकारी कारबाहीमा करिब एक हजार चार सय जनाको मृत्यु भएको थियो।
गत नोभेम्बरमा ढाकास्थित अदालतले मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा हसिनालाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो। हसिनाले उक्त फैसलालाई कानुनको आवरणमा गरिएको राजनीतिक प्रतिशोधको संज्ञा दिएकी छन्।
भारतमा गोप्य स्थानमा बस्दै आएकी हसिनाले आफूलाई स्वदेश फर्किन कुनै बाह्य दबाब नरहेको बताइन्। बङ्गलादेश सरकारले भारतसँग आफ्नो सुपुर्दगी माग गरे पनि स्वदेश फर्कने निर्णय त्यससँग सम्बन्धित नभएको उनको भनाइ छ। भारतीय अधिकारीहरूले प्रत्यर्पणबारे आफूसँग कुनै छलफल नगरेको र भारतमा सम्मानपूर्वक बसिरहेको उनले उल्लेख गरिन्।
हसिनाको बहिर्गमनपछि बनेको अन्तरिम प्रशासनका कारण केही समय चिसिएको भारत–बङ्गलादेश सम्बन्ध फेब्रुअरीमा तारिक रहमान प्रधानमन्त्री बनेपछि क्रमशः सुधार हुँदै गएको बताइएको छ।
मानवअधिकार संगठनहरूले हसिनाको शासनकालमा विपक्षीमाथि दमन, गैरन्यायिक हत्या, राजनीतिक हस्तक्षेप तथा विवादास्पद निर्वाचन गराएको आरोप लगाउँदै आएका छन्। तर हसिनाले ती सबै आरोपलाई राजनीतिक उद्देश्यले सिर्जना गरिएको अभियानको संज्ञा दिँदै प्रत्येक आरोपपछि अनुसन्धान गरिएको र दोषीमाथि कानुनी कारबाही भएको दाबी गरिन्।
विद्यार्थी आन्दोलन दमनका क्रममा अत्यधिक बल प्रयोग गरिएको आरोप पनि उनले अस्वीकार गरिन्। आफ्नो सरकारले धैर्यपूर्वक आन्दोलनलाई शान्तिपूर्ण समाधानतर्फ लैजान प्रयास गरेको दाबी गर्दै उनले उक्त आन्दोलन सामान्य विद्यार्थी प्रदर्शन नभई योजनाबद्ध राजनीतिक अभियान रहेको आरोप लगाइन्।
भारतमा हालै भएका विद्यार्थी आन्दोलनबारे टिप्पणी गर्न उनले अस्वीकार गरिन्। साथै, बङ्गलादेशमा प्रभावकारी रूपमा प्रतिबन्धमा परेको आफ्नो अवामी लिग पार्टीमार्फत स्वदेश फर्किएपछि पुनः सक्रिय राजनीतिमा फर्किने वा नफर्किने विषयमा पनि स्पष्ट धारणा व्यक्त गरिनन्।
उनले आफ्नो लक्ष्य सत्ता प्राप्ति नभई जनताको सेवा रहेको बताइन्। आन्दोलनका क्रममा ज्यान गुमाएकाका परिवारप्रति सहानुभूति व्यक्त गरे पनि माफी माग्न अस्वीकार गर्दै राज्यका निर्णय कुनै एक व्यक्तिले मात्र नगर्ने भएकाले सम्पूर्ण परिस्थितिलाई अलग गरेर मूल्याङ्कन गर्न नमिल्ने प्रतिक्रिया दिइन्।