काठमाडौँ । नेपाली कृषकलाई आफ्नो खेतबारीमा पाकेको मकैखेती भिœयाउन भ्याइनभ्याइ छ । ३–४ महिना दुःखजिलो गरेर भिœयाएको मकैले उचित मूल्य पाउन सकिरहेको छैनन् । तर, नेपालका होटल तथा रेस्टुरेन्टमा भने छिमेकी मुलुक भारत तथा चीनबाट आयात गरिएको ‘स्विट कर्न फ्रोजन’ को परिकार खान भने नेपाली ग्राहक मरिहत्ते गरेको देखिन्छ । होटल एसोसिएसन अफ नेपाल बागमतीका अध्यक्ष रामसुन्दर बक्रे नेपालका होटल तथा रेस्टुरेन्टमा ग्राहकको रोजाइमा ‘स्विट कर्न’ पर्दै आइरहेको बताउँछन् । ‘हाम्रै गाउँघरमा प्रशस्त मकै हुन्छ । तर, ‘स्विट कर्न’ भने छिमेकी मुलुकबाटै आयात गर्नुपर्ने अवस्था छ’, उनले भने, ‘कम्तीमा यही उत्पादन भएको मकैलाई स्विट कर्न बनाउनसके हुन्थ्यो ।’ अध्यक्ष बक्रेले स्विट कर्नमा चिल्लोजन्य पदार्थ नहुने भएकाले पनि सर्वसाधारणको रोजाइँमा पर्ने गरेको बताए ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा ७ करोड ३९ लाख ९४ हजार मूल्य बराबरको ८ लाख ९८ हजार १९८ किलोग्राम ‘स्विट कर्न फ्रोजन’ आयात भएको छ ।
विभागले ती ‘स्विट कर्न’ आयात गरेवापत १ करोड ४० लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा भारतबाट ८ करोड ६४ लाख २ हजार रुपैयाँ बराबरको ९ लाख ५ हजार ७०१ किलोग्राम स्विट कर्न फ्रोजर आयात भएको थियो । विभागले आव २०८१/०८२ मा स्विट कर्न आयात गरेवापत १ करोड ७४ लाख १५ हजार मूल्य बराबरको राजस्व संकलन गरेको थियो ।
विदेशबाट स्विट कर्न मात्रै होइन, ठुलो परिमाणमा मकै पनि भित्रिने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा भारत, टर्किय, ब्राजिल, अर्जेन्टिना, कतार, चीनलगायत मुलुकबाट १२ अर्ब ४१ करोड रुपैयाँ बराबरको ३० करोड ६५ लाख ४५ हजार ९०६ किलोग्राम खाद्यान्न मकैको आयात भएको छ । त्यस्तै, आव २०८१/०८२ मा आधा दर्जनभन्दा धेरै मुुलुकबाट १९ अर्ब २७ करोड ६९ लाख ८५ हजार रुपैयाँ बराबरको ३८ करोड ३१ लाख ९ हजार २६९ किलोग्राम खाद्यान्न मकै आयात भएको तथ्यांक छ ।