काठमाडौँ । नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागले नगद विदेशी मुद्रा नेपाल भित्र्याउने (आयात गर्ने) र नेपालबाट बाहिर लैजाने (निर्यात गर्ने) सम्बन्धी साविककै नियमहरूलाई पुन: स्मरण गराउँदै नयाँ एकीकृत सूचना जारी गरेको छ।
राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ५ र १२ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २९क को आधारमा उक्त सूचना पुनः प्रकाशित गरेको हो।
विदेशी मुद्राको सीमा र भन्सार घोषणा
नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५,००० सम्म (वा सो बराबरको भारतीय रुपियाँ तथा अन्य विदेशी मुद्रा) कुनै पनि भन्सार घोषणा बिना नेपाल भित्र्याउन सक्नेछन् । तर, डलर ५,००० भन्दा बढी रकम नेपाल ल्याउँदा भने अनिवार्य रूपमा भन्सारमा घोषणा गरी प्रमाणित गराउनुपर्नेछ ।
भारतीय रुपियाँ ओसारपसार सम्बन्धी नियम
सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारु ५०० र १००० दरका नोटहरूको कारोबार तथा ओसारपसार गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । सन् २०१६ नोम्बर ९ पछि जारी भएका भारु २०० र ५०० दरका नोटहरू नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारु २५,००० सम्म मात्र ल्याउन, लैजान र सटही गर्न पाउनेछन् ।
नेपाली नागरिकले भारतबाहेक अन्य तेस्रो मुलुकमा भारतीय रुपियाँ लैजान वा तेस्रो मुलुकबाट भारतीय रुपियाँ नेपाल ल्याउन पाउने छैनन् । राष्ट्र बैंकले यसअघि मिति २०८२/०५/१० मा यसै विषयमा प्रकाशित गरेको सूचनालाई भने खारेज गरिएको जनाएको छ।