काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा देखिएका समस्यामा समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
बिहीबार सिंहदरबारमा नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले ऐन नियम बनाएर भए पनि अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा देखिएका समस्यामा समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।
छलफलका क्रममा संघका प्रतिनिधिहरूले अर्ग्यानिक मलमा अनुदान, अर्ग्यानिक बस्तु निर्यातका लागि प्रमाणपत्र जारी गर्ने, अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्ग्यानिक संस्था बनाउनुपर्ने लगायतका विषय उठाएका थिए ।
जवाफमा प्रधानमन्त्री शाहले निर्यातका लागि प्रमाणपत्र जारी गर्न अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्ग्यानिक संस्था बनाउनका लागि आवश्यक ऐन कानून संशोधन र निर्माणमा लाग्न तत्काल सचिवालयलाई निर्देशन दिएको संघका अध्यक्ष दीपक प्रकाश बास्कोटाले जानकारी दिए ।
अर्ग्यानिक बस्तुमा पाइरहेको अनुदान अहिले रोकिएकोमा त्यस विषयमा पनि लिखित जानकारी गराइएको उनले बताए ।
नेपालमा उत्पादित अर्ग्यानिक बस्तुको अन्तर्राष्ट्रिय बजारमा धेरै माग रहेकाले उत्पादन र बजारीकरणमा ध्यान दिन आफूहरूले सुझाव दिएको संघका अध्यक्ष बास्कोटाले बताए ।
उनले आफूहरूले राखेका विषयमा प्रधानमन्त्री निकै सकारात्मक भएको उल्लेख गरे । प्रधानमन्त्री शाहले नेपालमा उद्योग, व्यवसाय प्रवर्द्धनका निम्ति उद्योगी–व्यवसायीसँग निरन्तर छलफल गरिरहेका छन् ।