काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा फरार रहेका प्रतिवादी मृगेन्द्रनाथ रिमाललाई पक्राउ गरेको छ ।
सीआईबीले बिहीबार नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डको जाहेरीका आधारमा उक्त मुद्दामा फरार रहेका काठमाडौं महानगरपालिका–७ निवासी रिमाललाई सिफलबाट पक्राउ गरिएको जनाएको छ ।
पक्राउ परेका रिमाललाई आवश्यक कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलमा उपस्थित गराइएको सीआईबीले जनाएको छ । उक्त मुद्दामा दीपक भट्टसहित अन्य व्यक्तिविरुद्ध पनि बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत कसूरको अभियोग रहेको प्रहरीले जनाएको छ।