काठमाडौं । मलेसियाली अटोमोबाइल ब्रान्ड प्रोटोनले नेपाली बजारमा आफ्नो नयाँ विद्युतीय गाडी ‘ईमास ५ (e.MAS 5)’ सार्वजनिक गरेको छ। नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत दुई भेरियन्टमा उपलब्ध हुने ईमास ५ औपचारिक रूपमा बजारमा ल्याएको हो।
कम्पनीले नयाँ ईमास ५ लाई ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई संस्करणमा सार्वजनिक गरेको छ। दुवै भेरियन्टमा आधुनिक डिजाइन, आकर्षक इन्टेरियर र अत्याधुनिक प्रविधि समावेश गरिएको भए पनि ब्याट्री क्षमता, मोटरको शक्ति, ड्राइभिङ रेन्ज तथा चार्जिङ क्षमतामा फरक रहेको कम्पनीले जनाएको छ।
प्राइम भेरियन्ट : पहिलो पटक ईभी खरिद गर्नेका लागि
ईमास ५ को प्राइम भेरियन्टमा ३०.१२ किलोवाट–घण्टा (kWh) क्षमताको लिथियम ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यो भेरियन्टले डब्लूएलटीपी (WLTP) मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा २२५ किलोमिटरसम्म यात्रा गर्न सक्छ।
यसमा ५८ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ। चार्जिङका लागि ६.६ किलोवाट एसी चार्जर र ५३ किलोवाट डीसी फास्ट चार्जिङ सपोर्ट उपलब्ध छ। यो भेरियन्टले ० देखि ५० किलोमिटर प्रतिघण्टाको गति मात्र ४.४ सेकेन्डमा लिन सक्ने कम्पनीको दाबी छ।
प्रिमियम भेरियन्ट : बढी रेन्ज र उच्च कार्यसम्पादन
उच्च कार्यसम्पादन चाहने ग्राहकलाई लक्षित गर्दै कम्पनीले प्रिमियम भेरियन्ट बजारमा ल्याएको हो। यसमा ४०.१६ किलोवाट–घण्टा ब्याट्री र ८५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ। कम्पनीका अनुसार यो संस्करणले एकपटकको पूर्ण चार्जमा ३२५ किलोमिटरसम्म यात्रा गर्न सक्छ।
यसमा ७१ किलोवाट डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ, जसले ब्याट्रीलाई ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म करिब २०–२१ मिनेटमै चार्ज गर्न सक्ने क्षमता राख्छ। साथै, यो भेरियन्टले ० देखि ५० किलोमिटर प्रतिघण्टाको गति ३.९ सेकेन्डमा हासिल गर्न सक्छ।
आधुनिक डिजाइन र फराकिलो इन्टेरियर
आकारका हिसाबले ईमास ५ को लम्बाइ ४,१३५ मिलिमिटर, चौडाइ १,८०५ मिलिमिटर, उचाइ १,५८० मिलिमिटर तथा ह्विलबेस २,६५० मिलिमिटर रहेको छ।
यो रियर–ह्विल ड्राइभ (Rear-Wheel Drive) प्लेटफर्ममा आधारित भएकाले सन्तुलित ड्राइभिङ अनुभव, उत्कृष्ट ह्यान्डलिङ तथा आरामदायी यात्रा सुनिश्चित गर्ने कम्पनीको दाबी छ।
अत्याधुनिक प्रविधि र सुरक्षा सुविधा
ईमास ५ मा आधुनिक प्रविधिसहितका विभिन्न सुविधा समावेश गरिएका छन्। यसमा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा तथा डिजिटल कनेक्टिभिटीका सुविधा उपलब्ध छन्।
सामान राख्नका लागि ३७५ लिटरको बुट स्पेस रहेको छ भने पछाडिको सिट फोल्ड गर्दा १,३२० लिटरसम्म सामान राख्न सकिन्छ। साथै, अगाडिपट्टि ७० लिटर क्षमताको ‘फ्रंक’ (Front Trunk) समेत उपलब्ध गराइएको छ।
मूल्य कति ?
ईमास ५ प्राइम : रु. २९ लाख ९९ हजार
नेपालमा विद्युतीय सवारीसाधनको माग निरन्तर बढिरहेका बेला प्रोटोनले प्रतिस्पर्धी मूल्य, आधुनिक प्रविधि, आकर्षक डिजाइन र पर्याप्त ड्राइभिङ रेन्जसहित ईमास ५ सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार पहिलो पटक विद्युतीय गाडी खरिद गर्ने ग्राहकका लागि प्राइम भेरियन्ट उपयुक्त हुनेछ भने लामो दूरी, उच्च शक्ति र थप सुविधा चाहने ग्राहकलाई लक्षित गर्दै प्रिमियम भेरियन्ट ल्याइएको हो।
आधुनिक सुरक्षा प्रणाली, फास्ट चार्जिङ सुविधा, आकर्षक मूल्य र उन्नत प्रविधिका कारण प्रोटोन ईमास ५ ले नेपाली विद्युतीय सवारीसाधन (ईभी) बजारमा बलियो प्रतिस्पर्धा गर्ने अपेक्षा कम्पनीले गरेको छ।