काठमाडौँ । आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि काठमाडौँ महानगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरद्वारा आज (असार २६ गते) जारी प्रेस विज्ञप्तिमा यस दुःखद घटनाप्रति स्तब्धता प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ ।
महानगरपालिकाले दिवंगत नेपालीका परिवारलाई मानवीय सहयोग, रोजगारी र उनका सन्ततिलाई निःशुल्क शिक्षा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । विज्ञप्तिमा भनिएको छ, "दिवंगत गणेश नेपालीका परिवारलाई काठमाडौँ महानगरपालिकाको तर्फबाट मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निःशुल्क शिक्षा दिने सम्बन्धमा विधिसम्मत रूपमा कार्यपालिका बैठकबाट निर्णय गरिनेछ ।"
यस घटनाको निष्पक्ष छानबिनका लागि नेपाल सरकार, गृह मन्त्रालयले छानबिन समिति गठन गर्ने निर्णय गरेको जानकारी सञ्चारमाध्यममार्फत प्राप्त भएको उल्लेख गर्दै महानगरले उक्त समितिको तथ्यगत छानबिनमा पूर्ण रूपमा सहयोग गर्ने स्पष्ट पारेको छ। छानबिनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदमहरू चालिने महानगरको भनाइ छ।
साथै, महानगरपालिकाले नेपाल सरकारसँगको समन्वय र सहकार्यमा समाधानका उपायहरू पहिचान गर्न, यस्ता अप्रिय घटनाहरू दोहोरिन नदिन र असल अभ्यास विकास गरी कार्यान्वयनमा लैजान आफू तयार रहेको बताएको छ । यस संवेदनशील अवस्थामा संयमित रहन र धैर्य धारण गर्न महानगरपालिकाले सबैमा हार्दिक अपिल समेत गरेको छ ।
