भक्तपुुर । मध्यपुर थिमी नगरपालिका वडा नं. ८, बोदेमा शुुक्रबार फोहोरमैला व्यवस्थापन र कौसीखेती प्रवद्र्धन सम्बन्धी एकदिने उत्प्रेरणा तालिम सम्पन्न भएको छ । मध्यपुर थिमी नगरपालिका वडा नं. ८ को कार्यालय र नेप्सेम्याक सेवा प्र. लि. भक्तपुरको संयुक्त आयोजनामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमको मुख्य उद्देश्य घरबाटै निस्कने फोहोरलाई स्रोतबाटै वर्गीकरण गरी व्यवस्थापन गर्न सिकाउनु, कुहिने फोहोरबाट प्रांगारिक मल उत्पादन गरी कौसीखेतीमार्फत आत्मनिर्भरता बढाउनु र वातावरणलाई स्वच्छ राख्न समुदायलाई जागरुक गराउनु रहेको थियो । 
तालिममा वडाका जनप्रतिनिधि, कर्मचारी, टोल विकास संस्थाका प्रतिनिधि, स्थानीय संघ–संस्थाका पदाधिकारी र स्थानीय टोलबासीहरू गरी कुल ५० जनाको उत्साहजनक सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रशिक्षक बाबुराम चौलागाईंले फोहोरको अवधारणा, फोहोरप्रति मानिसको व्यवहार, यसबाट सिर्जना हुने समस्या, फोहोरका प्रकार, पृथकीकरणको महत्व र फोहोरलाई कच्चा पदार्थको रूपमा प्रयोग गर्ने तरिकाहरूका बारेमा प्रशिक्षण दिनुभएको थियो। उहाँले प्लास्टिकजन्य फोहोरको उचित सङ्कलन र त्यसको उपयोगितामाथि पनि प्रकाश पारे ।
त्यस्तै, अर्का प्रशिक्षक कृष्णा श्रेष्ठले फोहोर पृथकीकरण, घरमै कम्पोष्ट मल बनाउने विभिन्न व्यावहारिक तरिकाहरू र कौसीखेतीका अवधारणा तथा अभ्यासहरूका बारेमा जानकारी दिएका थिए । उनले कम्पोष्ट मल बनाउँदा ध्यान दिनुपर्ने कुराहरू र कौसीखेतीबाट कसरी आफ्नो परिवारका लागि ताजा तरकारी उत्पादन गर्न सकिन्छ भन्ने विषयमा प्रयोगात्मक ज्ञानसमेत प्रदान गरे । 
सहभागीहरूले तालिम अत्यन्तै फलदायी भएको र अब आफ्नो घरको फोहोर व्यवस्थापन गर्न र कौसीखेती सुरु गर्न आफूहरू उत्प्रेरित भएको प्रतिक्रिया दिएका छन्। यस कार्यक्रमले वडा नं. ८ लाई सफा, सुन्दर र आत्मनिर्भर बनाउने अभियानमा महत्वपूर्ण टेवा पु¥याउने विश्वास लिइएको छ ।