राष्ट्रियसभामा नेकपाकी सांसद रेनु चन्दले सुकुम्बासीको खानामा किरा भेटिएको भन्दै सरकारलाई के कारबाही गर्ने हो भनेर प्रश्न गरेकी छन् । शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद चन्दले गृहमन्त्रीले खान लागेको अमलेटमा काँडा भेटिएपछि तीन लाख रुपैयाँ जरिवाना गरिएको प्रसंग उल्लेख गर्दै सुकुम्बासीको खानामा किरा भेटिँदा सरकारलाई कति जरिवाना गर्ने हो भन्ने प्रश्न उठाइन् ।
‘मन्त्रीले खान लागेको अमलेटमा काँडा भेटियो, तीन लाख जरिवाना लाउनुभयो । ठिक गर्नुभयो । सुकुम्बासीको खानामा किरा भेटियो सरकारलाई कति जरिवाना लाउँदै हुनुहुन्छ ? अथवा सरकारलाई के कारबाही गर्दै हुनुहुन्छ ?’ उनले भनिन् ।
सांसद चन्दले सुकुम्बासीलाई व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएर भोट मागिए पनि सत्तामा पुगेपछि उठिबास लगाउने काम भइरहेको आरोप लगाइन् । उनका अनुसार हाल सरकारले होल्डिङ सेन्टरबाट समेत सुकुम्बासीलाई हटाउने कार्य गरिरहेको छ । ‘हामी नयाँ हौँ, सबै समस्याको समाधान गर्ने जादुयी क्षमता बोकेर आएका छौँ भन्ने अनि सुकुम्बासीको मानव अधिकार हनन गर्ने ? यो सरकारमा वैचारिक स्पष्टता छैन,’ उनले भनिन् ।
सांसद चन्दले सरकार सुकुम्बासीप्रति अन्यायपूर्ण रूपमा प्रस्तुत भएको र मानवअधिकार हनन भइरहेको आरोप समेत लगाइन् ।