काठमाडौं । दक्षिणकाली नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा मधु अर्याल खनालले पदभार ग्रहण गरेकी छन् । केही दिन अघिदेखि नगरपालिकामा हाजिर गरेकी अर्यालले मंगलबार भने औपचारिकरुपमा पदभार ग्रहण गरेकी हुन् । अर्याललाई नगरपालिका प्रमुख मोहन बस्नेतले खादा लगाएर स्वागत गरे । त्यस्तै बस्नेतले अर्याललाई कलम र डायरी प्रदान गरी सुशासन र सेवा प्रवाह गर्ने कार्यमा सक्रिय भएर लाग्ने प्रेरित गरे ।
कार्यक्रममा प्रमुख बस्नेतले नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत अर्यालयबाट नगरपालिकाको समग्र विकास निर्माण, सेवा प्रवाह लगायतका काममा सहज हुने विश्वास व्यक्त गरे ।
नगरपालिकामा अहिले चालु आर्थिक वर्षका योजना सम्पन्नको चरणमा रहेको र आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम र बजेट निर्माणको चरणमा रहेकाले कामको चाप भएको भन्दै बस्नेतले आर्यालयबाट सबै काम कुशलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे ।
अर्यालले नगरपालिकाको काममा सबै जनप्रतिनिधि र कर्मचारीको साथ सहयोग भएपछि काम गर्न कुनै समस्या नहुने भन्दै नगरपालिकाको काम सिंगो टीमवर्क भएको बताइन् । कार्यक्रममा उपप्रमुख बसन्ती डङ्गोल तामाङले नगरपालिकामा महिला प्रमुख प्रशासकीय अधिकृतको आगमनले थप सुशासन कायम गर्न सहज हुने बताइन् ।
अर्यालसँग लामो समयसम्म जिल्ला समन्वय समिति काठमाडौंमा अधिकृत भएर काम गर्दा स्थानीय तहको नीति, निर्माण, सेवा प्रवाह, बजेट कार्यान्वयन, लगायका बारेमा राम्रो अनुभव छ । अर्याल कुशल प्रशासकको रुपमा चिनिदै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।