भक्तपुर । सूर्यविनायक नगरपालिकाको आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्वत रुपमा पारित गरेको छ । मंगलवार नगर प्रमुख बाशुदेव थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नगरपालिकाको २० औं नगरसभाले सर्वसम्वत रुपमा पास गरेको हो ।
भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्यका क्षेत्रमा मुलुभरमै उदाहरणीय काम गरेको सूर्यविनायक नगरपालिकाले जिल्लाका चार स्थानीय तहमध्ये पहिलो पटक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको २० औं नगरसभाको अधिवेशनमा नगर प्रमुख बाशुदेव थापाले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए ।
धिवेशनमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुतगर्दै नगर प्रमुख थापाले ८३ पृष्ठ लामो नीति तथा कार्यक्रम सभासमक्ष प्रस्तुत गरेका थिए । सूर्यविनायक नगरपालिका जनताका मनछुने थुप्रै काम गरेर देश विदेशमा परिचित हुन थालेको बताउँदै नगर प्रमुख थापाले २०८०÷०८१ को स्थानीय शासन संस्थागत क्षमता स्वमूल्याङकन लिजा मा देशभरीका स्थानीय तहमध्ये १९ औ स्थानमा आएको बताए ।
आर्थिक वर्ष २०८१/०८२ को अन्तिम लेखा परिक्षणमा भक्तपुरका स्थानीय तहमध्ये सबैभन्दा कम एक प्रतिशतमात्र वेरुजु कायम हुनु र नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने तयारी पुरा हुनुले पनि सूर्यविनायक नगरपालिकाको श्रीबृद्धी गराएको नगर प्रमुख थापाको भनाई थियो । सूर्यविनायक नगरपालिकाका आठवटा वडा कार्यालय भवन निर्माण सम्पन्न भई सकेको एउटा निर्माणका अन्तिम चरणमा रहेको बताउदै नगर प्रमुख बाशुदेव थापाले बाँकी रहेको वडा नं १ को कार्यालय भवन पनि आगामी आर्थिक बर्षभित्र निर्माण सम्पन्न गर्ने योजना रहेको जानकारी दिए ।
आगामि वर्षको नीति तथा कार्यक्रममा निर्माणाधिन योजना सम्पन्न गर्ने कार्यलाई प्राथमिक्तामा राखेको बताउँदै नगर प्रमुख थापाले नौ वर्षे आफ्नो कार्यकालमा १५९।५ किलो मिटर सडक कालोपत्रे, ४८।५ किलोमिटर सडक ढलान र ८७।७७ किलोमिटर सडक ग्राभेल गरेको जानकारी दिए । त्यसैक्रममा ४८।९ किलोमिटर ढल विछयाउने, १३।४ किलोमिटर सडकमा ढुङ्गा तथा ब्लक विछयाउने, ४५ वटा पक्की मोटरेबल पुल निर्माणसम्पन्न भएको नगर प्रमुख थापाको भनाई थियो ।
नगर प्रमुख थापाका अनुसार, सोहि अवधिमा ९ वटा ट्रस पुल, एउटा नगर अस्पताल निर्माण, ६७।७ किलोमिटर बाटो सिमाङकन गरि पर्खाल निर्माण, २३ वटा पाटी प्रतिक्षालय, २६।३ किलोमिटर सिंचाई कुलो मर्मत, १३ वटा जेष्ठ नागरिक मिलन चौतारी निर्माण सम्पन्न गरिएको छ । त्यसैगरी एउटा खेलकुद मैदान, ८० वटा विद्यालय फाल्चा, सामुदायिक भवन मठ मन्दिर, स्वास्थ्य चौकी निर्माण, २९ वटा खानेपानी टयाङकी र १३२।५ किलोमिटर खानेपानी पाईप विछयाउने कार्य सम्पन्न भएको छ ।
नगर प्रमुख थापाले खानेपानी अभाव झेलिरहेका वडा नं २ देखि ६ सम्म मेलम्चीको खानेपानी वितरण गर्न सफल भएको बताउँदै सूर्यविनायक नगर अस्पताल ५० शैयामा सञ्चालन गरेर सर्वसुलभ मूल्यमै विशेषज्ञ सेवा प्रदान गरिएको जानकारी दिए । सो अस्पताललाई बागमति प्रदेश सरकारको सहयोगमा ट्रमा सेन्टरको रुपमा विकास गर्ने योजना रहेको नगर प्रमुख थापाको भनाई छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवाराज आचार्यका अनुसार, नगर प्रमुख थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलवारनै सभाबाट सर्वसम्मत रुपमा पारित भएको छ । त्यसैगरी नगर सभा बैठकले विषयगत समितिहरुको चालु आ।व। २०८२/०८३ को वार्षिक प्रतिवेदन समेत सर्वसम्मत पारित गरेको छ ।
बैठकमा नगर उपप्रमुख सरिता तिमल्सिना भट्टराईले राजस्व परामर्श समितिको प्रतिवेदन तथा चालु आर्थिक वर्षको हालसम्मको आय–व्यय विवरण, न्यायिक समितिको वार्षिक प्रतिवेदन, नगरस्तरीय अनुगमन तथा सुपेरीवेक्षण समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन । त्यसैगरी विधायन समितिको प्रतिवेदन समिति संयोजक एवं वडा नं। २ का वडाअध्यक्ष प्रदीप कार्कीले प्रस्तुत गरेका थिए ।
त्यस्तै सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटाले सामाजिक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिएभने आर्थिक विकास समितिको प्रतिवेदन समितिका संयोजक पुष्पराज बस्नेतले प्रस्तुत गरेका थिए । यसैगरी पूर्वाधार विकास समितिको प्रतिवेदन समितिका संयोजक शिवराम राउतले र वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको प्रतिवेदन समितिका संयोजक भगवान खत्रीले सभामा पेश गरेका थिए ।
यस्तै सुशासन, सार्वजनिक सेवा प्रवाह तथा क्षमता विकास समितिको प्रतिवेदन समितिका संयोजक सानुकाजी कायस्थले सभासमक्ष प्रस्तुत गरेका थिएभने सार्वजनिक लेखा समिति तथा अन्तिम लेखापरीक्षण प्रतिवेदनसम्बन्धी प्रस्ताव समिति सदस्य तारा सापकोटाले प्रस्तुत गरेकी थिइन । नीति तथा कार्यक्रम पास भएसंगै नगरपालिकाले बुधवार आगामि आर्थिक वर्षको वजेट सार्वजनिक गरिने कार्यसूचि रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले जानकारी दिए ।