काठमाडौं । नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट विभिन्न मुद्दाका २ हजार १ सय ८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । जसमध्ये केन्द्रीय अनुसन्धान ब्यूरोबाट १७ जना, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ३ सय २६ जना, कोशी प्रदेशबाट ३ सय ५ जना, मधेश प्रदेशबाट ५ सय ३९ जना, बागमती प्रदेशबाट ३ सय ६० जना, गण्डकी प्रदेशबाट १ सय ३२ जना, लुम्बिनी प्रदेशबाट ३ सय २० जना, कर्णाली प्रदेशबाट ६३ जना र सुदूरपश्चिम प्रदेशबाट १ सय २० जना पक्राउ परेका हुन् । उक्त अवधिमा पक्राउ परेका प्रतिवादीहरूलाई तोकिएको ८ सय ७ वर्ष १ महिना १३ दिन कैद सजाय कार्यान्वयनमा आएको छ । साथै उनीहरूबाट २३ करोड ४४ लाख ४३ हजार ८ सय ९१ रूपैयाँ जरिवाना असुल उपर गरिएको छ ।
फैसला कार्यान्वयन तथा फरार अभियुक्त पक्राउलाई प्रहरीले उच्च प्राथमिकतामा राखी कार्य गरिरहेको छ । कर्तव्य ज्यान, लागूऔषध, जबरजस्ती करणी, बैंकिङ कसुर, ठगी लगायतका विभिन्न मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्ने सन्दर्भमा नेपाल प्रहरीले विशेष अभियान संचालन गरी कार्य गर्दै आइरहेको छ ।