प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा बुधबार आयोजित ‘प्रहरी कार्य सम्बन्धी समीक्षा सम्मेलन, २०८३’ सम्पन्न भएको छ। सम्मेलनलाई सम्बोधन गर्दै आईजीपी कार्कीले छलफलका क्रममा उठाइएका विषयवस्तु, सुझाव तथा निष्कर्षहरू नेपाल प्रहरीको आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण आधार बन्ने बताए। उनले नेपाल सरकारका प्राथमिकता र नागरिकको अपेक्षाअनुसार संविधान तथा प्रचलित कानुनले तोकेको जिम्मेवारी निष्पक्षता, व्यावसायिकता र उत्तरदायित्वका साथ निर्वाह गर्न प्रहरी कर्मचारी सदैव प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।
आईजीपी कार्कीले अपराधको स्वरूप र प्रवृत्तिमा आएको परिवर्तनसँगै नयाँ चुनौतीहरू थपिएको उल्लेख गर्दै संगठित अपराध, साइबर अपराध, लागूऔषध कारोबार, मानव बेचबिखन, आर्थिक अपराध तथा सामाजिक सञ्जालमार्फत गलत सूचना र मिथ्या सूचना फैलाउने गतिविधिविरुद्ध प्रहरीले अझ प्रभावकारी रूपमा काम गर्नुपर्ने बताए। यस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन प्रहरी संगठन थप सक्रिय हुनुपर्ने उनको भनाइ थियो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकविरुद्ध हुने अपराधप्रति संवेदनशीलता अपनाउँदै पीडितमैत्री व्यवहार सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै उनले अपराध अनुसन्धान र नियन्त्रणमा प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिनुपर्ने बताए। साथै समुदायसँगको समन्वय र सहकार्यलाई बलियो बनाउँदै प्रभावकारी प्रहरी परिचालन गर्नुपर्नेमा उनले जोड दिए।
उनले सम्मेलनमार्फत विगतका अनुभव, सूचना संकलन, असल अभ्यास, स्रोत–साधन तथा प्रविधिको प्रयोग, अन्तरसुरक्षा निकायबीचको समन्वयलगायत विषयमा भएका अनुभव आदान–प्रदानलाई कार्यक्षेत्रमा लागू गर्नुपर्ने बताए। सम्मेलनबाट प्राप्त सुझाव र निष्कर्षलाई आगामी कार्ययोजनामा समावेश गरिने उनको भनाइ थियो।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्बेदी र काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए।
सम्मेलनमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, सञ्चार निर्देशनालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख तथा प्रतिनिधिहरूले प्रहरी कार्यसँग सम्बन्धित विभिन्न विषयमा प्रस्तुतीकरण गरेका थिए।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारी, सञ्चारकर्मी तथा उपत्यकास्थित प्रहरी वृत्त र प्रभागका प्रमुखहरूको सहभागिता रहेको थियो।
नेपाल प्रहरीले शान्ति सुरक्षा कायम गर्दै नागरिकको जीउधनको सुरक्षा, अपराध नियन्त्रण र प्रभावकारी अनुसन्धानलाई आफ्नो मूल दायित्वका रूपमा अघि बढाइरहेको छ। बदलिँदो अपराधको स्वरूप, प्रविधिको तीव्र विकास र बढ्दो जनअपेक्षालाई ध्यानमा राख्दै प्रहरी कार्यलाई थप प्रभावकारी, उत्तरदायी र परिणाममुखी बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।
सम्मेलनको मुख्य उद्देश्य वार्षिक रूपमा प्रहरी कार्यको समीक्षा गर्दै चुनौती र कमीकमजोरी पहिचान गर्नु, सुधारका क्षेत्र निर्धारण गर्नु, संगठनको क्षमता अभिवृद्धिका उपाय खोज्नु तथा शान्ति सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आवश्यक नीतिगत र संरचनागत सुधारका आधार तय गर्नु रहेको जनाइएको छ।