दीपेन्द्र प्रसाद
अवस्थी
(प्रबन्ध निर्देशक, नेपाल आईटी सोलुसन)
धरातलको खोजी र ९० को
दशकको साक्षी (Gen Y)
समय नदीको एउटा यस्तो
शाश्वत,
अविराम र तीव्र बहाव हो, जो केवल अगाडि मात्र बग्न जान्दछ; आफ्नो उद्गमतर्फ फर्कने यसको कुनै स्वभाव वा
नियति हुँदैन। समयले कति चाडबाड बगायो, कति पुस्ता ढाल्यो र कति भूगोल परिवर्तन गर्यो, त्यसको कुनै लेखाजोखा छैन। तर, स्मृतिका पदचापहरू समयका तटीय बालुवामा
कोरिएका त्यस्ता गहिरा र अमिट डोबहरू हुन्, जसलाई न त आधुनिकताको तीव्र हावाले उडाउन सक्छ, न त व्यस्तता र सहरिया कोलाहलको बाढीले नै
पुर्न सक्छ। आजको यो चमकधमकपूर्ण, सुविधासम्पन्न, इन्टरनेटको सञ्जालले घेरिएको र झल्झलाउँदो सहरिया कोठाको
बन्द गल्लीमा बसिरहँदा,
जब म आफ्नो अतीतको झ्याल
बिस्तारै खोल्छु,
बैतडीको शङ्करपुर र
खर्काधारको त्यो सुगन्धित माटो, रैथाने सिरेटो र महाकालीको सुसाइले मेरो मन-मस्तिष्कलाई
जुरुक्कै उठाएर बाल्यकालकै त्यो पुरानो आँगनमा पुर्याउँछ।
मेरो जन्म सन् १९९१
(वि.सं. २०४८) को ठीक आसपास र त्यसपछिको हो। म 'Gen Y' (जेनेरेसन वाई) अर्थात् ९० को दशकको (90s Kid) त्यो अनौठो र ऐतिहासिक संक्रमणकालीन पुस्ताको
सदस्य हुँ,
जसको एउटा खुट्टा रैथाने
विगतमा र अर्को खुट्टा आधुनिक भविष्यमा अडिएको छ। यो एउटा यस्तो भाग्यमानी र
उत्तिकै सङ्घर्षशील पुस्ता हो, जसले एकातिर ढिकी-जाँतो, दियालोको उज्यालो, मेला-पात, अभाव, सादगी र कठोर श्रमले भरिएको ग्रामीण जीवनलाई आफ्नै आँखाले
देख्यो,
भोग्यो र कतिपय अवस्थामा
त्यसलाई आत्मसात् गर्यो। अर्कोतिर, हुर्कँदै जाँदा यही पुस्ताले कम्प्युटरको आविष्कार, Mobile क्रान्ति, इन्टरनेटको जादु र आजको अत्याधुनिक डिजिटल युगलाई पनि
उत्तिकै सहजता र दक्षताका साथ अङ्गालिरहेको छ। हामीले एकातिर तामा र काँसका
भाँडामा पञ्चअन्न भिजाएर गौराको मौलिकता टिप्यौँ, भने अर्कोतिर आज 'स्क्रिन' मा संसार नियाल्ने र 'नेपाल आईटी सोलुसन' मार्फत प्रविधिको संसारलाई हाँक्ने सामर्थ्य पनि पायौँ।
आजको 'Gen Z' वा 'Alpha' पुस्ताका केटाकेटीका लागि जुत्ता-चप्पल
च्यातिएर नयाँ फेर्नु,
मन लागेको बेला महँगा
ब्रान्डेड कपडाहरू 'अनलाइन अर्डर' गर्नु वा सुख-सुविधाको उपभोग गर्नु कुनै ठुलो उत्सव होइन।
उनीहरूका लागि यो एउटा सामान्य र नियमित दैनिकी मात्र हो। आजका केटाकेटीलाई हाम्रो
त्यो समयको कथा सुनाउने हो भने उनीहरू "तपाईँहरू ढुङ्गे युगमा बस्नुहुन्थ्यो
कि क्याहो?"
भन्दै अचम्म मानेर
हाँस्छन्! तर,
सुदूरपश्चिमको त्यो पहाडी
धरातलमा अभावभित्र पनि जुन आत्मिक सन्तुष्टि, निष्कपट बाल-सुलभ आत्मीयता र चाडबाडको वास्तविक तिर्सना
लुकेको हुन्थ्यो,
त्यसको गहिराइ आजको यो
बजारवादी र कृत्रिम संसारले कहिल्यै बुझ्न र महसुस गर्न सक्दैन।
सुदूरपश्चिमको प्राण:
दसैँभन्दा ठुलो महाचाड 'गौरा'
हाम्रो समाजमा धनीमानी वा
बाहिरी संसारका लागि दसैँ सबैन्दा ठुलो चाड होला, तर हाम्रो सुदूरपश्चिमको कथा र भावना बिल्कुलै बेग्लै छ।
हाम्रा लागि गौरा पर्व भनेको आम नेपालीले मनाउने दसैँभन्दा पनि कयौँ गुणा ठुलो, पवित्र र महान् उत्सव हो। दसैँ त केवल एउटा
चाड हो,
तर गौरा हाम्रो पहिचान, हाम्रो माटोको सुगन्ध र हाम्रो संस्कृति हो।
वर्षभरि कामको सिलसिलामा भारतका विभिन्न सहर वा परदेश भासिएका दाजुभाइहरू दसैँमा
घर नआए पनि गौराका लागि जसरी पनि थातथलो फर्कन्थे।
घाम-पानी, दुःख-कष्ट सहेर पनि गौराको समयमा गाउँघर
फर्कने त्यो लहर र गाउँ जुरुक्कै बौरिने त्यो उमङ्ग शब्दमा बयान गर्न सकिँदैन।
तामाका भाँडामा पञ्चअन्न (बिरुडा) भिजाएर सुरु हुने गौराको त्यो अनुष्ठान, मङ्गल गान र गौरा खलोमा लाग्ने देउडाका
पाइलाहरूले सिङ्गो सुदूरपश्चिम कोल्टे फेरेझैँ लाग्थ्यो। खुट्टामा नयाँ जुत्ता
सिउरिन र आङ्मा नयाँ लुगा फेर्न हामीले पूरै एक वर्ष यही महान् गौरा पर्व नै
कुर्नुपर्थ्यो।
त्यो बेला अचेलका
केटाकेटीले जस्तो फेसनदार,
चम्किला वा रङ्गीचङ्गी
कपडाको जिद्दी गर्ने छुट हामीलाई थिएन। गौरामा बुवाले किनेर ल्याइदिने त्यो नयाँ
कपडा पनि धैरैजसो त स्कुलको पोसाक (School Dress) नै हुन्थ्यो, ताकि गौरा पर्वको उत्सव पनि टर्ने र स्कुल खुल्दा स्कुल जान
पनि मिल्ने। चाडबाडमा पनि स्कुलकै निलो र कालो ड्रेस लगाएर हिरो पल्टिनुपर्ने र
साथीभाइका अगाडि मख्ख पर्नुपर्ने हाम्रो त्यो बाल-बाध्यता सम्झिँदा आज पनि ओठमा
एउटा मिठो मुस्कान मुस्कुराउँछ र मन चस्स हुन्छ। एउटै कपडाले दुवै गर्जो
टार्नुपर्ने त्यो समयको वास्तविक खुसीको मूल्य आजको यो महँगो बजारवादी संसारले
कहिल्यै चुकाउन सक्दैन।
तीन पुस्ताको रगत-पसिना:
हजुरबाको मदानी र बुवाको जले डोको
त्यो बेला कपडा वा
जुत्ता-चप्पल किन्नु आजको जस्तो मोबाइलमा औँला भाँच्नु जस्तो सजिलो कहाँ थियो र ?
त्यसका पछाडि पूजनीय
हजुरबा,
हजुरआमा र बुवाको तीन
पुस्ताको अटुट स्नेह,
कठोर श्रम र बगेको
रगत-पसिना जोडिएको हुन्थ्यो।
घरमा हजुरआमा र हजुरबुवाले
बिहानै उज्यालो नहुँदै,
चिसो ओछ्यान छाडेर गोठका
गाई भैँसीको हेरचाह गर्ने, दूध दुहुने, र ठेकीमा मदानी हाली मोही मथ्ने कडा मेहेनत गर्नुहुन्थ्यो।
बिहानै उज्यालो नहुँदै ठेकीमा मदानी गुञ्जिरहँदा, ठेकीको आवाजसँगै हजुरबा-हजुरआमाको बुढेशकालको जीउ र हड्डी
पनि त्यसरी नै कटकट दुखिरहेको हुन्थ्यो। जाडो होस् या गर्मी, उहाँहरूले आफ्नो गाँस काटेर, पेट बाँधेर महिनौँदेखि अलिकति घिउ जतनसाथ
साँचिहाल्नुहुन्थ्यो। हजुरबा-हजुरआमाले त्यसरी दुःख गरेर साँचिदिएको घिउको त्यो टिनलाई
बुवाले निगालोबाट बुनिएको जले डोकोभित्र राख्नुहुन्थ्यो।
त्यो बलियो जले डोको, जसलाई पिठ्युँमा भिर्ने झोलाको जस्तै दुईवटा 'कान' हुन्थे। बुवाले एकातिर ती डोकोका कानलाई पाखुरामा भिरेर अनि
अर्कोतिर नाम्लोको सहाराले निधारमा भारी जेलेर पहाडका उकाली-ओराली गर्नुहुन्थ्यो।
खुट्टामा राम्रो चप्पल सम्म नहुँदा बुवाका पैतालाहरू खर्काधारका तिखा र नङ्गा
ढुङ्गाहरूमा रगडिन्थे,
तर उहाँ कहिल्यै
थाक्नुभएन। महाकाली पारिको भारतीय बजार र झुलाघाटतर्फ ओर्लँदा उहाँको निधारबाट
चुहिएको पसिनाले हाम्रा चाडबाडहरू रङ्गीन बन्थे। झुलाघाटको त्यो ऐतिहासिक झोलुङ्गे
पुल तरेर पारि भारतीय बजार पुग्नु, घिउ बेचेर भारतीय रुपैयाँ (भारु) को जोहो गर्नु, र वर्षभरिका लागि नुन, तेल, कपडा र जुत्ता किनेर ल्याउनु बुवाको एउटा ठुलो सङ्घर्षको
महायात्रा जस्तै हुन्थ्यो। आफ्नो निधारको पसिना चुहाएर बुवा भारतीय बजारबाट भारी
बोकेर घर फर्किएका दिन सिङ्गो घर मात्र होइन, हाम्रो मन र गाउँ नै उज्यालो भएझैँ लाग्थ्यो। आज म जे छु, उहाँहरूको त्यही मेहेनत र आँसुको जगमा खडा
छु।
गोरे दाईको आँगन: आउने
हाँसो, कि आउने आँसु!
भारतीय बजारबाट बुवाको
काँधले बोकेर ल्याएको कपडा घर आइपुगेपछि हाम्रो बालमनमा... अर्को कौतुहलता र
सङ्घर्षको अध्याय सुरु हुन्थ्यो—त्यो कपडा सिलाउने चटारो। कपडा सिलाउनका लागि
गाउँका दमाई दाई (गोरे दाई) को घरमा हामी दिनमा चार-पाँच पटकसम्म मसिना भुसुना
जस्तै धाइरहन्थ्यौँ। "हाम्रो लुगा कहिले तयार हुन्छ, गोरे दाई?" भन्दै उनका छोराहरू तेज राम र शंकरको आँगन
चहार्नु त्यो बेलाको हाम्रो सबैन्दा ठुलो र रोचक दैनिकी हुन्थ्यो।
गौरा पर्वको बेला सिङ्गो
गाउँभरिको कपडा सिलाउने जिम्मेवारी उनीहरूकै काँधमा हुन्थ्यो, त्यसैले सिलाई मेसिनको आवाज रातभरि
गुञ्जिरहँदा पनि उनीहरूलाई भ्याइनभ्याइ हुन्थ्यो। कामको चाप यति धेरै हुन्थ्यो कि, हामीले धेरै कचकच गरेपछि गोरे दाईले कैयौँ
पटक कैंची भुइँमा राख्दै विवश र आदरपूर्वक भन्थे:
"ओथ्थीज्यू, साह्रै चेपियो (भ्याइँदै भ्याइएन), यो गौरा सकिएपछि दिउँला!"
गोरे दाईको त्यो जवाफ
सुन्ने बित्तिकै हाम्रो सातो जान्थ्यो, छाँगाबाट खसेझैँ हुन्थ्यो। गौराको त्यो पावन बेलामा अरू
साथीहरू नयाँ कपडामा ठाँटिएर हिँडिरहँदा, आफ्नो लुगा समयमा पाइएन भने बालमन ज्याँदै खल्लो हुन्थ्यो, पुरानै टालेको लुगा लगाउनुपर्दा मन भक्कानिएर
आउँथ्यो र आँखाबाट बरबर आँसु खस्थे। एउटा ठुलो उत्सव नै खल्लो बनिदिन्थ्यो।
अचम्मको कुरा त के हुन्थ्यो भने, कहिलेकाहीँ त गौरा र तिहारसमेत सकिएपछि मङ्सिरको जाडोमा
मात्रै त्यो नयाँ लुगा हाम्रो हातमा पर्थ्यो। चाडबाड सिद्धिएर लुगा पाउँदा सुरुमा
रोइचढाई गरे पनि,
पछि त्यही ढिलो पाएको नयाँ
लुगा पहिरिँदाको सुगन्ध,
कपडाको त्यो कडापन र खुसी
भने छुट्टै हुन्थ्यो। गाउँभरि 'म
नै राजा हुँ'
झैँ गरी मख्ख परेर हिँडेको
सम्झिँदा आज आफैँलाई लाज लागेर हाँसो उठ्छ। उनीहरूको त्यो आँगनले हामीलाई अभावसँगै
धैर्यताको एउटा ठुलो पाठ सिकाएको थियो।
आज समय बदलियो। गाउँका
सबैलाई सिलाएर न्यानो दिने र हाम्रा बाल-खुसीहरूलाई धागोमा उनेर सिलाउने ती प्यारा
गोरे दाई आज यो संसारमा हुनुहुन्न, उहाँ स्वर्गीय भइसक्नुभयो। उहाँको भौतिक अनुपस्थितिले मन
स्तब्ध हुन्छ,
उहाँको त्यो खाली सिलाई
मेसिन र सुनसान आँगन सम्झिँदा आज पनि छाती भारी भएर आउँछ। तर उहाँको त्यो हँसिलो
अनुहार,
कपडा काट्दै गर्दाको त्यो
पुरानो शैली र उहाँको आँगनको त्यो कौतुहलता मेरो स्मृतिको पानामा सधैँका लागि अमर
रहनेछ।
खाकी जुत्ताको सादगी र
गोल्ड स्टारको रवाफ
त्यो जमानामा बजारमा सबै
साइजमा सहजै पाइने १५० रुपैयाँको खाकी (Khaki) रङको कपडाको जुत्ता खुबै च्याम्पियन थियो, जसलाई हामी स्थानीय भाषामा आर्मी कलरको
जुत्ता पनि भन्थ्यौँ। गाउँका धैरेजसो सर्वसाधारण र मध्यमवर्गीय विद्यार्थीका
खुट्टामा त्यही खाकी जुत्ता नै सुहाउँथे र ती जुत्ताहरू निकै बलिया पनि हुन्थे।
तर, समाजमा अलि धनीमानी, सरकारी कर्मचारी वा विद्यालयका शिक्षक
(माड्साप) का परिवारका सदस्यहरूले भने भुइँमा खुट्टै नराखेझैँ गरी अलि महँगो र कडा
ठाँट भएको 'USA
900' वा 'गोल्ड स्टार' को सेतो जुत्ता लगाउँथे। स्कुल जाँदा वा खर्काधारको हिलो
बाटोमा कसैले त्यो सेतो गोल्डस्टार वा युएसए 900 जुत्ता चम्काउँदै हिँडेको देख्दा हामी यसरी
हेर्थ्यौँ,
मानो ऊ गोल्डस्टार जुत्ता
होइन,
गाउँमा 'ल्याम्बोर्गिनी कार' कुदाइरहेको छ! हामी आफ्नो खाकी जुत्ता भुइँमा
घिसार्दै,
कतै हिलो नलागोस् भनी
उसलाई बडो ईर्ष्या र सम्मानका साथ बाटो छाडिदिन्थ्यौँ। जुत्ताको त्यो ब्रान्डले
समाजको एउटा आर्थिक वर्गलाई त झल्काउँथ्यो, तर मनहरूबीच भने कुनै दूरी हुदैनथ्यो।
श्री अनिरुद्र प्रा.वि. र 'दशरथ नन्दन-जनक लली'
हाम्रा सांस्कृतिक
चाडपर्वहरूमा होली (फागु पूर्णिमा) को रौनक झन् बयान गरिसाध्य थिएन। होलीका
दिनहरूमा हामी श्री अनिरुद्र प्राथमिक विद्यालयको होली ब्यानर बोकेर गाउँका
ठुला-साना,
मान्यजन सबै मिलेर होली
खेल्न निस्कन्थ्यौँ। त्यो एउटा यस्तो रङ्गीन जुलुस हुन्थ्यो, जहाँ कोही धनी थिएन, कोही गरिब थिएन। त्यो
बेला यातायातको सुविधा थिएन, मानिसहरू पिठ्युँमा वा डोकोमा भारी बोकेरै हिँड्थे। भारतीय
बजारबाट गाउँका पसलतर्फ आउँदै गरेका पसले वा व्यापारीहरूलाई हामी बाटोमा
रोक्थ्यौँ। अनि जिस्कँदै,
रमाइलो गर्दै र मादल-मजुराको
तालमा जोडजोडले चिच्याउँदै गाउँथ्यौँ—
"कहाँ से आया ब्युपारी, कहाँ से आया ब्युपारी... हो जी, दशरथ नन्दन जनक लली..."
बिचरा त्यो व्यापारी
पिठ्युँको भारीले थिचिएर,
निधारको पसिना पुछ्दै, हाम्रो त्यो केटाकेट्याली घेरा र संगीत हेरेर
गलल्ल हाँस्थ्यो र आफ्नो खल्तीबाट मुस्कुराउँदै केही पैसा निकालेर दिन्थ्यो।
व्यापारी र गाउँका ठुलाबडा पनि रिसाउनुको साटो हँसिलो अनुहार लगाएर होलीको त्यो
रैथाने सुगन्धमा झुम्ने गर्थे।
होलीको त्यो रौनकलाई झनै कमेडी र रोमाञ्चक बनाउन गाउँका तन्नेरी दाइहरूले
गर्ने त्यो ठट्टा र अभिनय त सम्झिँदा आज पनि पेट मिची-मिची हाँसो उठ्छ। रमाइलो
गर्न र महिलाको भूमिका निभाउन उनीहरू भाउजूहरूको साडी मागेर लगाउँथे, अनि कपडाभित्र 'बेलुन' फुलाएर नक्कली स्तन बनाई कम्मर मर्काई-मर्काई ठुम्का
लगाउँदै नाच्ने गर्थे। कहिलेकाहीँ नाच्दा-नाच्दै भित्रको बेलुन प्याट्ट फुट्थ्यो र सिङ्गो गाउँ हाँसोले जुरुक्कै
उठ्थ्यो! साडी र बेलुनको त्यो रैथाने हास्यरसले सिङ्गो गाउँ नै हाँसोले
गुञ्जिन्थ्यो।
अनि त्यो होलि खेलाइबाट सङ्कलित
चामल र पैसाबाट होलीको अन्तिम दिन गाउँका साना-ठुला, दाजुभाइ, गोरे दाईका छोराहरू तेज राम, शंकर... र सबै जातजातिका मानिसहरू एकै ठाउँमा, एउटै लहरमा बसेर ठुलो 'भोज' गर्थ्यौँ। त्यो भोज केवल खानपिन मात्र थिएन, त्यो त जातभात, वर्ग, उमेर र अहङ्कारको पर्खाल भत्काउने आपसी आत्मीयता र निष्कपट
प्रेमको एउटा महान् उत्सव थियो। त्यो भोजमा जुन पवित्र सामूहिकता हुन्थ्यो, त्यो आजका महँगा सहरिया भोजभतेर वा
रेस्टुरेन्टहरूमा करोडौँ खर्च गर्दा पनि कतै भेटिँदैन।
पँधेरो नबिर्सिने सचेत चेतना
शङ्करपुर र खर्काधारको
त्यो सेरोफेरोमा होली मात्र होइन, नयाँ वर्षको आगमनसँगै आउने 'बिसु' मा सिस्नु पर्व मनाउँदाको त्यो उमङ्ग, वर्षाको समयमा मान्यजनलाई ओल्को (उपहार) दिएर
मनाइने 'ओल्के सङ्क्रान्ति' को त्यो आत्मीयता, र सुदूरपश्चिमकै जगमगाउँदो 'गौरा' पर्वमा खेलिने देउडाका पाइलाहरू सम्झिँदा आज पनि आँखाहरू
रसाएर आउँछन् र मन भारी हुन्छ। गाउँमा पैसाको अभाव त थियो, तर मानिसहरूमा सन्तोष र अगाध आत्मीयता थियो।
दुःख सुक्ख जे परे पनि छिमेकीहरू मिलेर झुलाघाट... र भारतीय बजार जाने, भारी बोक्न एक-अर्कालाई सघाउने सामूहिकता नै
हाम्रो समाजको वास्तविक सम्पत्ति थियो।
यो संस्मरण र लेख कोर्नुको
एकमात्र तात्पर्य "पानी खाएको बिर्सिए पनि पँधेरो नबिर्सिनु" भन्ने त्यो
अदम्य जीवन-दर्शन हो। 'Gen
Y' को एउटा सचेत सदस्यको
नाताले,
मैले जीवनको दौडमा जतिसुकै
उन्नति गरुँ,
आधुनिकताको रङमा रमुँ, वा संसारको जुनसुकै वैभवशाली कुनामा पुगेर
प्रविधिको सेवा गरूँ,
तर आफू जन्मे-हुर्केको
धरातल,
आफ्नो समाज, हजुरबा-हजुरआमाको त्यो मातृत्व र घिउ
साँचिदिने मेहेनत,
बुवाको काँधको त्यो जाले
डोको... र सङ्घर्षको त्यो रैथाने पँधेरोलाई कहिल्यै भुल्नु हुँदैन।
१५० को त्यो खाकी जुत्ता, स्वर्गीय गोरे दाईको आँगनको त्यो व्यग्र
पर्खाइ,
लुगा नपाउँदा बाल्यकालमा
भएको त्यो मनको खल्लोपन र बगेको आँसु, अनि श्री अनिरुद्र प्रा.वि, "दशरथ नन्दन जनक लली" को त्यो होली गीत, दाइहरूले साडी र बेलुन लगाएर नाचेको त्यो
रमाइलो दृश्य... र दसैँभन्दा प्यारो हाम्रो गौराको त्यो खलो अब इतिहासको पानामा
सीमित भइसके पनि त्यसले सिकाएको संस्कार मेरो जीवनको असली मार्गदर्शक हो।
आज मेरो जीवन बदलियो होला, समाज बदलिएको छ। अचेल सामान किन्न जाले
डोकोमा घिउका टिन बोकेर भारतीय बजार जानु पर्दैन, घरकै आँगनमा सडक र आधुनिक बजार आइपुगेको छ। तर, इतिहासको त्यो स्वर्णिम पाना, जहाँ मेरो जीवनको जग बस्यो—त्यो शङ्करपुर, त्यो खर्काधार, त्यो बिसु, गौरा, होली, हाम्रो त्यो पुरानो समाज र त्यसबाट प्राप्त अमूल्य संस्कार, रगत-पसिना र सम्बन्धहरूलाई म आफ्नो अन्तिम
श्वाससम्म बिर्सन सक्दिनँ। म, मेरो समाज... र मेरो जीवनको यो यात्रा विगतको त्यही अभाव, सरल जीवनशैली र मौलिक सांस्कृतिक वैभवबाट
खारिएर आजको यो स्थानसम्म आइपुगेको हो, र यही रैथाने चेतना नै मेरो जीवनको सबैन्दा ठुलो र अमूल्य
सम्पत्ति हो।