भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले एक महिने पौभा तथा थाङ्का चित्रकला सम्बन्धि प्रशिक्षण सुरु गरेको छ । बुधबारदेखि एक महिने पौभा तथा थाङका चित्रकला प्रशिक्षण तालिम सुरु गरिएको हो ।
नगरपालिकाको उद्योग, सहकारी तथा रोजगारी प्रवद्र्धन शाखाको संयोजनमा आयोजित यस तालिमको उद्घाटन एक विशेष समारोहका बीच सम्पन्न भएको हो ।
ा प्रशिक्षण कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका नगर उपप्रमुख श्री विजयकृष्ण श्रेष्ठको प्रमुख आथित्यतामा कार्यक्रम सञ्चालन भएको थियो । सो अवसरमा उपप्रमुख श्रेष्ठले आफैँले थाङका चित्र कोरेर तालिमको औपचारिक समुद्घाटन गरिएको थियो ।
परम्परागत कलालाई युवा पुस्तामा हस्तान्तरण गर्दै स्वरोजगार सिर्जना गर्ने उद्देश्यले सञ्चालित यस तालिममा प्रशिक्षकहरुले सक्रियताका साथ सहभागिता जनाएका छन ।
नगरपालिकाले यसअघि नै सूचना जारी गरी आवेदन माग गरेकोमा २०८३ वैशाख ३१ गतेसम्म कुल ४६ जनाले आवेदन दिएका थिए । जसमध्ये तालिमको पहिलो दिन ३४ जना प्रशिक्षार्थीहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ । तालिमले स्थानीय कला–संस्कृतिको संरक्षणमा टेवा पुग्नुका साथै सहभागीहरूलाई व्यावसायिक सीप प्रदान गर्ने विश्वास लिएको छ ।
कार्यक्रमको अध्यक्षता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले गर्नुभएको थियो । उद्घाटन सत्रमा आर्थिक विकास महाशाखा प्रमुख श्री तुलसी भक्त तको र उद्योग, सहकारी तथा रोजगारी प्रवद्र्धन शाखाका प्रमुख श्री अभयन्द्र रञ्जितको समेत उपस्थिति रहेको थियो ।