भारतको ऋषिकेशस्थित जूना अखडाका आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरिले नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्ने दिशामा भइरहेको प्रयासको प्रशंसा गर्दै नेपालको आध्यात्मिक र सांस्कृतिक पहिचानलाई अझ सशक्त बनाउन आवश्यक रहेको बताएका छन्।
हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा शुक्रबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘प्रबुद्ध नागरिक गोष्ठी’लाई सम्बोधन गर्दै उनले नेपाल सनातन सभ्यता, अध्यात्म र सांस्कृतिक सम्पदाको महत्वपूर्ण केन्द्र भएको उल्लेख गरे। नेपाललाई देवभूमिका रूपमा चिनाउने सरकारी प्रयास स्वागतयोग्य रहेको बताउँदै उनले यसले देशको अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउने धारणा राखे।
कार्यक्रमको सुरुआत नेपालको विविध सांस्कृतिक सम्पदा झल्काउने प्रस्तुतिहरूसँग भएको थियो। छलिया नृत्य, सखिया नृत्य, मञ्जुश्री नृत्य, बाँसुरी वादन तथा शिव–सतीको कथामा आधारित नृत्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा पूर्व कुमारी (माजु) ट्रिस्ना शाक्यको विशेष उपस्थिति रहेको थियो।
पूर्व कुमारीतर्फ संकेत गर्दै स्वामी अवधेशानन्दले कुमारी परम्परालाई नेपालको मौलिक सांस्कृतिक पहिचानका रूपमा व्याख्या गरे। राष्ट्रदेवी राजराजेश्वरी तलेजु भवानीको जीवित स्वरूप मानिने कुमारीको सम्मान र संरक्षणले नेपालको सांस्कृतिक गरिमा झल्काउने बताए।
नेपाल र भारतबीचको सम्बन्धबारे चर्चा गर्दै उनले दुवै देशको सांस्कृतिक र आध्यात्मिक चेतना गहिरो रूपमा जोडिएको उल्लेख गरे। नेपाल एक सार्वभौम राष्ट्र भएको स्मरण गराउँदै उनले माता जानकीलाई ‘नेपालकी छोरी र भारतकी भाग्यविधाता’ का रूपमा वर्णन गरे। उनका अनुसार धार्मिक र सांस्कृतिक सम्बन्धले दुई देशका जनतालाई अझ नजिक बनाएको छ।
राष्ट्र निर्माण र समाज रूपान्तरणमा बौद्धिक वर्गको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले वर्तमान समयमा जाति, भाषा, क्षेत्र र सम्प्रदायका आधारमा समाजलाई विभाजित गर्ने प्रयासहरू बढिरहेको टिप्पणी गरे। यस्तो अवस्थामा राष्ट्रिय एकता, सामाजिक सद्भाव र साझा पहिचानलाई मजबुत बनाउन सबै सचेत हुनुपर्ने उनले बताए।
उनले ‘हामी एक हौं’ भन्ने भावनालाई व्यवहारमा उतार्न सके समाज र राष्ट्र दुवै बलियो बन्ने धारणा व्यक्त गरे। सनातन संस्कृतिमाथि विभिन्न प्रकारका चुनौती देखापरिरहेको उल्लेख गर्दै त्यसको संरक्षणका लागि सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ थियो।
पूर्वीय र पाश्चात्य दृष्टिकोणको तुलना गर्दै उनले पश्चिमी संस्कृतिले संसारलाई मुख्यतः बजारका रूपमा हेर्ने गरेको तर सनातन संस्कृतिले ‘वसुधैव कुटुम्बकम्’ अर्थात् सम्पूर्ण विश्वलाई एउटै परिवारका रूपमा स्वीकार गर्ने दर्शन अघि सारेको बताए। यही मूल्यले मानवता, सहअस्तित्व र सामाजिक सद्भावलाई बलियो बनाउने उनको तर्क थियो।
गोष्ठीमा काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रका बुद्धिजीवी, चिकित्सक, प्राध्यापक, उद्योगी–व्यवसायी, समाजसेवी तथा धार्मिक अगुवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रमले राष्ट्रिय संस्कृति, नैतिक मूल्य–मान्यता र सामाजिक एकताप्रति सकारात्मक सन्देश दिएको बताएका थिए।
कार्यक्रममा हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय संघचालक कल्याणकुमार तिम्सिनाले गोष्ठीको उद्देश्यबारे प्रकाश पारेका थिए। त्यस्तै संघका प्रचारक कपिल भट्टले संस्थाको स्थापना, सिद्धान्त तथा देशभर सञ्चालन भइरहेका सामाजिक, सांस्कृतिक र सेवामूलक गतिविधिबारे जानकारी गराएका थिए।