काठमाडौं । प्रिज्मा एड्भर्टाइजिङका संस्थापक–प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा क्रिएटिभ हेड रञ्जीत आचार्य १७औँ कान्स कर्पोरेट मिडिया एन्ड टिभी अवार्ड २०२६ को निर्णायक मण्डल (जुरी) सदस्यमा मनोनित भएका छन् ।
कर्पोरेट फिल्म, दृश्य कथन (भिजुअल स्टोरीटेलिङ) तथा ब्रान्डेड मिडिया निर्माणको क्षेत्रमा विश्वकै प्रतिष्ठित अवार्डमध्ये एक मानिने यस प्रतियोगिताको निर्णायक मण्डलमा नेपालीको प्रतिनिधित्व हुनु समग्र नेपालका लागि तथा विज्ञापन तथा सिर्जनात्मक उद्योगका लागि समेत ऐतिहासिक उपलब्धि हो ।
कान्स कर्पोरेट मिडिया एन्ड टिभी अवाड्र्स सन् २०१० मा स्थापना भई अष्ट्रियाको भियना शहरमा मुख्यालय रहेको कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवाड्र्स प्रत्येक वर्ष फ्रान्सको कान्स शहरमा आयोजना गरिन्छ, जुन विश्व चलचित्र उद्योगको प्रसिद्ध केन्द्रका रूपमा परिचित छ ।
यस ऐतिहासिक शहरमा आयोजना हुने यो एकमात्र अन्तर्राष्ट्रिय महोत्सव हो, जसले कर्पोरेट फिल्म, अनलाइन मिडिया उत्पादन, वृत्तचित्र तथा प्रतिवेदन निर्माणका लागि विश्वस्तरीय मापदण्ड निर्धारण गर्दै आएको छ । यस महोत्सवको निर्णायक मण्डलमा विगतमा ओस्कार र एमी अवार्ड विजेताहरू समेत सहभागी भइसकेका छन् ।
यहाँ प्रदान गरिने गोल्ड, सिल्भर, ब्ल्याक, ब्लु र ह्वाइट डल्फिन ट्रफीहरू कर्पोरेट फिल्म क्षेत्रका सर्वोच्च सम्मानका रूपमा मानिन्छन् । १७औँ संस्करणका रूपमा आयोजना हुन लागेको सन् २०२६ को अवार्डमा ६३ प्रतिस्पर्धात्मक विधा समावेश छन् र विश्वभरका फिल्म निर्माता, विज्ञापन एजेन्सी, ग्राहक संस्था, प्रसारण संस्था तथा विद्यार्थीहरूको सहभागिता रहने छ ।
नेपाली कथालाई विश्वमञ्चमा पुर्याउने सिर्जनात्मक यात्रा
विज्ञापन, ब्रान्ड रणनीति, क्रिएटिभ निर्देशन, फिल्म निर्माण तथा जनसम्पर्क (पब्लिक रिलेशन) क्षेत्रमा ३५ वर्षभन्दा बढी अनुभव हासिल गर्नु भएका आचार्य नेपालको सञ्चार तथा विज्ञापन उद्योगका प्रभावशाली व्यक्तित्वमध्ये एक मानिन्छन् । आचार्यकै नेतृत्वमा प्रिज्मा एड्भर्टाइजिङले विज्ञापन क्षेत्रकै सर्वोत्कृष्ट मानिने कृति अवार्ड मा लगातार चार पटक ‘बेस्ट एजेन्सी अफ द इयर’ उपाधि प्राप्त गरेको छ भने नेपालकै सर्वाधिक पुरस्कार प्राप्त स्वतन्त्र विज्ञापन एजेन्सीका रूपमा पनि स्थापित भएको छ ।
आचार्यका चर्चित अभियानहरूमध्ये कोका–कोला नेपालको ‘मन खोलौँ कोकसँग’ अभियान तथा ‘मेरो मोबाइल’ लाई ‘एनसेल’ मा पुनः ब्रान्डिङ गर्ने ऐतिहासिक अभियानमा पहिलो र अन्तिम पटक दैनिक पत्रिकाको मास्टहेडनै पर्पल कलरमा रुपान्तरण गरी प्रकाशन गर्नुलगायतका अभियानहरु उल्लेखनीय रहेका छन् ।