काठमाडौँ । निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारले अब प्रदेश स्तरमै निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) ले उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने भएका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पतालको सेवा प्रदेश स्तरसम्म विस्तार गर्ने नीति कार्यान्वयन गर्दै प्रदेश अस्पतालमार्फत सेवा उपलब्ध गराउने व्यवस्था सुरु गरेको हो।
काठमाडौँ उपत्यकाबाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र उनीहरूका आश्रित परिवारलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले प्रदेशमै सेवा विस्तार गरिएको मन्त्रालयको भनाई छ ।
मन्त्रालयका अनुसार निजामती कर्मचारी, अवकाशप्राप्त निजामती कर्मचारी तथा उनीहरूका आश्रित परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज, सुलभ र पहुँचयोग्य रूपमा उपलब्ध गराउन प्रदेश अस्पतालहरूसँग सम्झौता प्रक्रिया सुरु गरिएको छ।
पहिलो चरणमा मधेश प्रदेशका लागि नारायणी अस्पताल र बागमती प्रदेशका लागि भरतपुर अस्पताल मार्फत सेवा प्रदान गरिने भएको छ। यी अस्पतालबाट निजामती कर्मचारीहरूले सिभिल अस्पताल, काठमाडौँबाट प्राप्त गर्दै आएको छुट तथा सहुलियतसहितको स्वास्थ्य सेवा पाउने मन्त्रालयले जनाएको छ।
आइतबार मन्त्रालयले दुवै अस्पतालसँग सम्झौता गरेसँगै सोमबारदेखि सेवा सञ्चालनमा आउनेछ। सेवा प्राप्त गर्न निजामती कर्मचारी वा अवकाशप्राप्त कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी गरिएको आधिकारिक परिचयपत्र साथमा राख्नुपर्ने व्यवस्था गरिएको छ।
मन्त्रालयका अनुसार मधेश र बागमती प्रदेशबाहेक अन्य प्रदेशमा पनि सेवा विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ। यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी सेवा प्रदायक अस्पतालहरूको सूचीकरण सम्पन्न भइसकेको जनाइएको छ।
आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी पूरा भएपछि देशभरका प्रदेशबाट निजामती कर्मचारी अस्पतालले उपलब्ध गराउँदै आएको छुट तथा सहुलियतसहितको स्वास्थ्य उपचार सेवा प्रदान गरिने मन्त्रालयले जनाएको छ।