दीपेन्द्र प्रसाद अवस्थी
प्रबन्ध निर्देशक (MD), नेपाल आईटी सोलुसन प्रा. लि.
(Nepal IT Solution Pvt. Ltd.)
नीलो ग्रहको डिजिटल दृष्टिभ्रम (The
Visual and Data Illusion)
"हामी बाँचेको यो निलो
ग्रह पृथ्वीलाई अन्तरिक्षबाट हेर्दा जताततै पानी नै पानी देखिन्छ," ब्रह्माण्डको अनन्त अन्धकारबाट धर्तीलगायतका ग्रह नियाल्ने
अन्तरिक्षयात्रीहरूको यो साझा अनुभव हो। सूर्यको प्रकाश महासागरहरूमा ठोक्किएर
परावर्तन हुँदा हाम्रो धर्ती एउटा चम्किलो 'नीलो मार्बल' (Blue Marble) जस्तै फगत सुन्दर र जलमग्न देखिन्छ । भूगोलका पुस्तकहरूले पनि यही 'रअ डाटा' (Raw Data) लाई बजारमा बेच्छन्—
पृथ्वीको ७१ प्रतिशत भूभाग पानीले ढाकेको छ।
तर, एउटा आईटी (IT)
व्यवसायी को नजरबाट जब म
यो तथ्याङ्कलाई 'डिप एनालिटिक्स'
(Deep Analytics) मार्फत
फिल्टर गर्छु, तब मलाई महसुस हुन्छ, यो त मानव इतिहासकै
सबैभन्दा ठुलो र खतरनाक दृष्टिभ्रम (Visual
Illusion) मात्र
हो। बाहिरबाट "स्टोरेज" (Storage) विशाल देखिए पनि यो
प्रणालीभित्रको 'ब्याड डाटा'
(Bad Data) हो, जसले सिंगो सभ्यताको अपरेटिङ सिस्टमलाई क्र्यास (System Crash) गराउने सामर्थ्य राख्छ।
प्रकृतिको कठोर फिल्टर र डाटा सुद्धीकरणको नियम हेर्नुस्: यो ७१
प्रतिशत पानीको झन्डै ९७ प्रतिशत हिस्सा त महासागरहरूको नुनिलो पानी हो, जसले न मानिसको तिर्खा मेट्न सक्छ,
न त कृषि र कलकारखाना नै
धान्न सक्छ। हामीले स्क्रिनमा चलाउने फेसबुक, गुगल वा च्याटजीपीटी
जस्ता सफ्टवेयरहरू जुन विशाल डाटा सेन्टर (Data
Centers) मा
चौबीसै घण्टा प्रोसेस भइरहेका हुन्छन्, तिनका शक्तिशाली सर्भर र
प्रोसेसरहरू अत्यधिक तातेर 'सिस्टम क्र्यास' हुन नदिन (Cooling गर्न) मात्रै दैनिक लाखौँ
लिटर स्वच्छ र ताजा पानी चाहिन्छ। क्यालिफोर्निया विश्वविद्यालय, बर्कले र टेक्सास विश्वविद्यालयले संयुक्त रूपमा सन् २०२३ अप्रिलमा
सार्वजनिक गरेको पर्यावरण अनुसन्धान प्रतिवेदन ("Making AI Less Thirsty") अनुसार, हामीले एआई (AI)
सँग गर्ने एउटा सामान्य
कुराकानी (१० देखि ५० वटा प्रम्प्ट) मा मात्रै पनि ब्याकइन्ड डाटा सेन्टरमा आधा
लिटर अमूल्य पानी वाष्पीकरण भएर हावामा उडिरहेको हुन्छ। डिजिटल युगको यो अदृश्य
प्यासले प्राकृतिक जलस्रोतलाई तीव्र गतिमा सिध्याउँदै छ।
हाम्रो जीवन रेखा मानिने त्यो स्वच्छ र ताजा पानी (Freshwater) त मात्र ३ प्रतिशतको सानो भण्डारमा खुम्चिएको छ। विडम्बनाको
पराकाष्ठा के छ भने, यो ३ प्रतिशत ताजा पानीको पनि झन्डै ७० प्रतिशत
हिस्सा हिमालय र ध्रुवहरूमा हिउँका ढिक्का बनेर जमेर बसेको छ। बाँकी रहेको ३०
प्रतिशत जति मात्र जमिनमुनिको गर्भमा (Groundwater)
र नदीनालामा तरल रूपमा
बगिरहेको छ। समग्र पृथ्वीको कुल पानीलाई एउटा बाल्टीमा राख्ने हो भने, आज संसारका ८०० करोड मानिस र अर्बौँ जीवजगतले उपभोग गर्न पाउने
पानी त्यो बाल्टीबाट खसेको मात्र "एक थोपा" जति हो। यही एक थोपा
पानीको सन्तुलनमा मानव सभ्यताको भाग्य र भविष्य अडिएको छ।
'सुजलाम्' आमा र नेपालको 'तरल सुन' (The Asset of Liquid
Gold)
सन् १८७० को दशकमा बङ्गाली साहित्यका 'साहित्य सम्राट' बङ्किमचन्द्र
चट्टोपाध्यायले आफ्नो प्रसिद्ध ऐतिहासिक उपन्यास 'आनन्दमठ' भित्र एउटा कालजयी रचना उने, जसको पहिलो हरफ थियो—
"सुजलां सुफलां मलयजशीतलाम, शस्यश्यामलां मातरम्।"
(अर्थात्— "सफा र
प्रचुर पानी भएकी, मीठा फल र अन्न दिने, चिसो हावा र हरियालीले भरिएकी आमा,
म तिमीलाई ढोग्छु।")
बङ्किमचन्द्रको यो दर्शनले प्रकृतिलाई कुनै निर्जीव भूगोल होइन, साक्षात जीवनदायिनी आमाको रूपमा प्रस्तुत गरेको थियो। यदि यो
साहित्यिक र प्राकृतिक कसीमा राखेर हेर्ने हो भने,
हाम्रो देश नेपाल विश्वकै
सबैभन्दा भाग्यमानी 'सुजलाम्' आमा हो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र नापी विभागले वि.सं. २०७७ जेठ
७ गते (२० मे २०२०) मा नेपालको राजपत्रमा आधिकारिक रूपमा प्रकाशन गरेअनुसार, लिम्पियाधुरा, लिपुलेक र कालापानी
क्षेत्र समेटिएको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा बमोजिम नेपालको कुल क्षेत्रफल
१,४७,५१६ वर्ग किलोमिटर कायम भएको छ। यही भूगोलभित्र
नेपाल सरकारको जल तथा ऊर्जा आयोगको सचिवालय (WECS)
द्वारा विभिन्न समयमा
प्रकाशित प्रतिवेदनहरूका अनुसार हाम्रा ६ हजारभन्दा बढी नदीनालाहरूमा वार्षिक औसत बहाव करिब २२५ बिलियन
घनमिटर (BCM) हुन्छ, जुन विश्वको कुल स्वच्छ पानीको करिब २.२७ प्रतिशत हिस्सा हो।
अन्तर्राष्ट्रिय जल मापदण्ड (Falkenmark Water
Scarcity Indicator) अनुसार
वार्षिक प्रतिव्यक्ति १,७०० घनमिटर पानी हुनुलाई 'पर्याप्त' (Water Adequate) मानिने परिप्रेक्ष्यमा
नेपालमा प्रतिव्यक्ति झन्डै ८,००० घनमिटर पानी उपलब्ध
हुनु आफैँमा एउटा अद्भुत संयोग हो। यो उपलब्धता अन्तर्राष्ट्रिय मापदण्डभन्दा ४
गुणा बढी भएकाले नै प्राविधिक र आर्थिक रूपमा नेपालको पानी फगत एउटा प्राकृतिक
स्रोत मात्र नभएर राष्ट्रको अर्थतन्त्रको कायापलट गर्न सक्ने वास्तविक 'तरल सुन' (Liquid Gold) बन्न पुगेको हो।
विरोधाभास: कोसी, गण्डक, महाकाली र भू-राजनीतिको चेस-बोर्ड (The Geopolitical Chessboard)
तर, जब म 'नेपाल आई.टी. सोलुसन प्रा. लि.' को व्यवस्थापकीय
कुर्सीबाट यो प्रचुरतालाई बजारको माग र आपूर्ति (Demand
and Supply) को
कसीमा राखेर हेर्छु, तब नेपालको यथार्थ निकै विरोधाभासपूर्ण र
पीडादायी देखिन्छ। नेपालमा पानी छ, तर त्यसको उपलब्धता, भण्डारण र वितरण 'मिस-म्यानेज्ड' (Mismaged) छ। बर्खाका ३ महिनामा कुल पानीको ८० प्रतिशत भाग महाविपत्ति बनेर
बगेर जानछ, तर बाँकी ९ महिना हामी काकाकुल बन्छौँ। हामीसँग
पानी त प्रचुर छ, तर त्यसलाई 'क्याप्चर' र 'स्टोर' गर्ने चेतना र प्रविधि
नहुँदा देश 'आर्थिक जल-संकट'
(Economic Water Scarcity) को शिकार भइरहेको छ।
यो
प्राकृतिक सङ्कटभन्दा पनि भयानक अर्को सङ्कट दक्षिण एसियाको कूटनीतिक र
भू-राजनीतिक चेस-बोर्डमा देखिन्छ। दक्षिण एसियामा पानी कसरी राजनीतिक हतियार बन्न
सक्छ भन्ने कुरा बुझ्न भारत र पाकिस्तानबिच सिन्धु नदी (Indus River) को पानी बाँडफाँटलाई लिएर दशकौँदेखि चलिरहेको 'कोल्ड वार' (Cold War) र संवेदनशीलतालाई हेरे पुग्छ, जहाँ युद्धको गम्भीर मोडमा समेत नदीको
बहाव रोक्ने कूटनीतिक धम्कीहरू मञ्चन हुने गर्छन्। यही भू-राजनीतिको बाछिटा
नेपालमा पनि उत्तिकै प्रष्ट देखिन्छ, जहाँ नेपाल सरकारको ऐतिहासिक सन्धि भारतबिचका असमान जल
सम्झौताहरूले हाम्रो जल-सार्वभौमिकतामाथि कडा चोट पुर्याएको स्पष्ट हुन्छ।
इतिहासको कालखण्डमा वि.सं. २०११ वैशाख १२ गते (२५ अप्रिल १९५४) मा काठमाडौँमा
हस्ताक्षर भएको कोसी सम्झौता र वि.सं. २०११ मङ्सिर १९ गते (४ डिसेम्बर १९५९) मा
सम्झौता गरिएको गण्डक सम्झौता हुँदै महाकाली नदीको एकीकृत विकास र पानी बाँडफाँटका
लागि गरिएको विवादास्पद महाकाली सन्धिसम्म आइपुग्दा नेपाली नदीहरूको प्राकृतिक
अधिकार संकुचित पारिएको छ। स्मरणीय छ, उक्त महाकाली सन्धिमा
वि.सं. २०५२ माघ २९ (१२ फेब्रुअरी १९९६) मा नयाँ दिल्लीमा हस्ताक्षर भएको थियो भने
संसद्मा भारी राजनीतिक गतिरोध र विवादका बिच वि.सं. २०५३ असोज ४ (२० सेप्टेम्बर
१९९६) को मध्यरातमा दुई-तिहाइ बहुमतले अनुमोदन गरिएको थियो।
यी सम्झौताहरूको प्राविधिक नियन्त्रण प्रणाली (Control System) नेपालको हितमा डिजाइन नै गरिएन। नेपाली जनमानसमा एउटा अकाट्य र
यथार्थपरक आक्रोश छ: बर्खायाममा जब नेपालका नदीमा पानीको सतहले खतराको विन्दु पार
गर्छ, तब भारतीय पक्षले आफ्नो तल्लो तटीय क्षेत्र (Lower Riparian) जोगाउन ब्यारेजका ढोकाहरू समयमै खोल्दैन वा बन्द गरिदिन्छ।
परिणामस्वरुप, ब्याक-वाटर (Backwater
Effect) का
कारण नेपालको तराई क्षेत्र (सुनसरी, सप्तरी, नवलपरासी) डुबानमा पर्छ र हाम्रा नागरिक आफ्नै पानीमा विस्थापित
हुन्छन्। ठीक विपरित, हिउँदको सुख्खा याममा जब नेपालका किसानलाई
सिँचाइका लागि र हाम्रा जलविद्युत आयोजनालाई बढी पानीको खाँचो हुन्छ, तब सम्झौताका बुँदाहरू अनुसार ठुलो परिमाणमा पानी सीमापारिका
नहरहरूतिर मोडिन्छ। महाकाली सन्धि पारित भएको तीन दशक पुग्न लाग्दा पनि नेपालले
पाउनुपर्ने पानीको न्यायोचित हिस्सा पाएको छैन। पानीको यो असमान राजनीतिले हामीलाई
सधैँ एउटै तितो यथार्थ सम्झाउँछ "बर्खामा बाढी हाम्रो, हिउँदमा पानी अरूको।"
जमिनमुनिको अदृश्य सङ्कट र
भासिँदै गरेका सहर (The Invisible Depletion)
हामीले आँखा अगाडि नदी सुकेको वा सीमा क्षेत्र डुबेको त देखिरहेका
छौँ, तर त्योभन्दा भयावह र अदृश्य सङ्कट जमिनमुनिको गर्भमा (Deep Aquifers) भइरहेको छ। काठमाडौँ उपत्यकामा सरकारी खानेपानीको संयन्त्र फेल
भएपछि यहाँका हजारौँ घर, व्यापारिक कम्प्लेक्स, उद्योग र होटलहरूले दिनहुँ 'डीप ट्युब-वेल' (Deep Tube-well) मार्फत करोडौँ लिटर पानी अनियन्त्रित रूपमा तानिरहेका छन्।
प्रकृतिको नियम अनुसार वर्षाको पानी माटोले सोसेर जमिनमुनिको पानी
रिचार्ज हुनुपर्ने हो। तर काठमाडौँ आज कंक्रिटको जङ्गल बनिसक्यो। ढलान र कालोपत्रे
सडकका कारण वर्षाको पानी जमिनभित्र पस्नै पाउँदैन र सबै बगेर ढलमा मिसिन्छ। Extraction ७/२४ जारी छ, तर (Recharge) हुने बाटो बन्द छ। जसले
गर्दा काठमाडौँको जमिनमुनिको पानीको सतह वर्ष बर्षेनी मिटरका मिटर तल खसिरहेको छ।
उता तराई मधेश, जसलाई नेपालको अन्न
भण्डार भनिन्छ, त्यहाँको अवस्था झन् दर्दनाक बन्दै छ। तराईको
जमिनमुनिको पानी जोगाउने मुख्य 'स्पन्ज' (Sponge) भनेको चुरे पहाड र भावर क्षेत्र हो। तर क्रसर उद्योगहरूको अवैध
उत्खनन, ढुङ्गा-गिट्टीको दोहन र वनजङ्गलको विनाशका कारण
चुरेको छाती रित्तिएको छ। पहिले १५-२० फिट खन्दा भलभली आउने पानी आज ५० देखि १००
फिटभन्दा तल पुगिसकेको छ।
संयुक्त राष्ट्रसंघको पर्यावरण कार्यक्रम (UNEP) र भू-वैज्ञानिकहरूको अध्ययन अनुसार,
भूगर्भबाट अनियन्त्रित
पानी तान्दा इन्डोनेसियाको राजधानी जकार्ता (जुन वार्षिक २५ सेन्टिमिटरका दरले
भासिइरहेको छ र यसै कारणले उनीहरूले राजधानी नै नुसन्तारा सार्न बाध्य भए) र
थाइल्यान्डको ब्याङ्कक जस्ता सहरहरू अहिले डुबान र भासिने गम्भीर सङ्कटमा छन्।
नेपालले समयमै नसोचे हाम्रा सहरहरूको हविगत पनि यही हुनेछ।
आमिर खानको 'पानी फाउन्डेसन' देखि बालेन्द्र शाहको 'वाटर बजेटिङ' सम्म (The Innovation and Heritage)
म आफैँमा कुनै परम्परागत जल-विज्ञ वा सिभिल इन्जिनियर होइन। मेरो
दैनिक कर्मक्षेत्र र व्यावसायिक विज्ञता नितान्त प्रविधि अर्थात् आईटी (IT) र डिजिटल प्रणाली हो। तर, एकदिन पानी र यसको भविष्यका
बारेमा एउटा गहिरो कौतुहलता मनमा जाग्यो र जब मैले यसको गम्भीर अध्ययन सुरु गरेँ, तब मलाई महसुस भयो कि पानीको सङ्कटलाई हामीले जुन चस्माले हेरिरहेका
छौँ, त्यो अपुरो छ। डिजिटल डाटा आर्किटेक्चर जस्तै
प्रकृतिको यो जल-प्रणाली पनि एउटा विशाल, संवेदनशील र अन्तरसम्बन्धित
अपरेटिङ सिस्टम हो।
यही कौतुहलताकै क्रममा बलिउड अभिनेता आमिर खान र किरण रावद्वारा
सन् २०१६ मा भारतको महाराष्ट्रमा स्थापना गरिएको 'पानी फाउन्डेसन' (Paani Foundation) को अभियानले मलाई यो विषयमा झन् गहिरो अनुसन्धान
र चिन्तन गर्न बाध्य बनायो। महाराष्ट्रका सुख्खा गाउँहरूलाई प्रविधि, स्याटेलाइट म्यापिङ र डाटा-अनालिसिसको माध्यमबाट 'वाटर बजेटिङ' (Water
Budgeting) गरी
कसरी जनसहभागितामार्फत पुनर्जीवन दिन सकिन्छ भन्ने कुरा पानी फाउन्डेसनले संसारलाई
देखाएको छ।
हाम्रो राष्ट्रिय सन्दर्भमा कुरा गर्दा, यो अदृश्य संकटलाई इन्जिनियरिङ र राजनीतिक इच्छाशक्तिको कसीमा
राखेर समाधान गर्ने नवीन प्रयासको नेतृत्व वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह
(बालेन) ले हिजो काठमाडौँको मेयर हुँदा नै सुरु गरिसक्नुभएको थियो। आफैँमा सिभिल र
स्ट्रक्चरल इन्जिनियर रहेका शाहले स्थानीय सरकारको नीतिमै 'वाटर बजेटिङ' र 'ग्राउन्डवाटर रिचार्ज'
(Groundwater Recharge) को अवधारणा अघि सारेका थिए। कंक्रिटले थुनिएको काठमाडौँको छातीलाई
पुनः रिचार्ज गर्न उहाँले चालेका टुकुचा उत्खनन,
पुराना हिटी (ढुङ्गेधारा)
ब्युँताउने अभियान र 'रेनवाटर हार्भेस्टिङ' (आकासे पानी संकलन) सम्बन्धी कदमहरू केवल एउटा सहरका लागि मात्र
होइन, आज सिङ्गो देशको कार्यकारी प्रमुखको कुर्सीमा बस्दा राष्ट्रिय
जल-नीति निर्माणका लागिसमेत एउटा बलियो जग र मार्गदर्शक बनेका छन्।
जब मैले यसैलाई आधार मानेर नेपालको इतिहास खोतलेँ, तब म अचम्ममा परेँ। हाम्रा पुर्खाहरू लिच्छविकाल र मल्लकालमै पानी
व्यवस्थापनका ठुला इन्जिनियर थिए। काठमाडौँका ऐतिहासिक राजकुलोहरू, ढुङ्गेधाराहरू र तराईका पुराना पोखरीहरू केवल पानी भर्ने भाँडा
मात्र थिएनन्, ती त वर्षाको पानीलाई सोसेर जमिनमुनि पठाउने र
प्रकृतिको WATER-BALANCE (वाटर ब्यालेन्स) मिलाउने 'स्मार्ट प्रविधि' थिए। विडम्बना, आधुनिकताको नाममा हामीले ती ऐतिहासिक पोखरीहरू पुर्यौँ, ढुङ्गेधाराका मुहानमा कंक्रिटका महल ठड्यायौँ र आफ्नो इतिहाससँगै
भविष्य पनि ध्वस्त पार्यौँ।
हाइड्रोपावरहरू जमिनमा बिलाउने दिन (The Technical Vulnerability)
हामी गर्वका साथ छाति फुलाएर भन्छौँ हामी बिजुली बेचेर धनी
बन्नेछौँ। हाम्रा नदीहरूमा अर्बौँ-खर्बौँ खर्चेर ठुला-ठुला हाइड्रोपावरहरू
बनिरहेका छन्। तर, यो विकासको जग एकदमै कमजोर छ। नेपालका जलविद्युत
आयोजनाहरू ९०% भन्दा बढी नदीको बहावमा आधारित (Run-of-the-River) छन्, जसको मतलब नदीमा जति पानी बग्छ, त्यति नै बिजुली निस्किन्छ।
विश्वको तापक्रम वृद्धिका कारण हाम्रा हिमालका हिउँहरू तीव्र गतिमा
पग्लिरहेका छन्। काठमाडौँमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय संस्था इसिमोड (ICIMOD) द्वारा जुन २०२३ मा प्रकाशित चर्चित वैज्ञानिक प्रतिवेदन "Water,
Ice, Society, and Ecosystems in the Hindu Kush Himalaya (HI-WISE)" ले डरलाग्दो चेतावनी दिएको छ। उक्त अध्ययन अनुसार, यदि वर्तमानकै गतिमा वैश्विक तापक्रम बढ्दै जाने हो भने यो
शताब्दीको अन्त्यसम्ममा (सन् २१०० सम्म) हाम्रा हिमालका झन्डै ३६ देखि ८०
प्रतिशतसम्म हिउँ पूर्ण रूपमा बिलाउनेछन् र हिमताल विस्फोटन (GLOF) को खतरा कैयौँ गुणा बढ्नेछ।
हिउँ नभएपछि हाम्रा सदाबहार नदीहरू हिउँदमा पूर्ण रूपमा सुक्नेछन्।
जब नदीमा पानी नै हुने छैन, तब ती अर्बौँ रुपैयाँ
खर्चेर बनाइएका हाइड्रोपावरका विशाल टर्बाइन, बाँध र सुरुङहरू केवल
कङ्क्रिटको मृत थुप्रो बनेर जमिनमा बिलाउनेछन्। प्रकृतिको यो आक्रोश र
अनिश्चितताका बिच हाम्रा गौरवका आयोजनाहरू बालुवाको घर जस्तै ढल्ने खतरामा छन्।
दूधको मूल्यमा पानी, डिजिटल प्यास र तेस्रो विश्वयुद्धको पदचाप (The
Ultimate System Failure)
हामी
मानव इतिहासकै एउटा यस्तो भयावह र उथलपुथलपूर्ण भविष्यतर्फ तीव्र गतिमा अगाडि
बढिरहेका छौँ, जहाँ स्वच्छ र पिउने
योग्य पानी पाउनु संसारकै सबैभन्दा महँगो विलासिता, प्रतिष्ठा र सुरक्षा चुनौती बन्नेछ। त्यो समय अब धेरै टाढा छैन,
जब मानिसहरूले बजारमा साधारण पिउने पानी
पनि "दूध वा तेलको मूल्यमा" किन्न बाध्य हुनुपर्नेछ। आर्थिक असमानताको
चरम रूप जल-सङ्कटमा देखिनेछ— जहाँ समाजका मुठ्ठीभर धनी र हुनेखानेहरूले महँगो
बोतलको पानी किनेर आफ्नो विलासिता धान्नेछन् र नुहाउनेछन्, भने अर्कातर्फ बहुसङ्ख्यक गरिब, विपन्न र निमुखा नागरिकहरू फगत एक घुट्को स्वच्छ पानीका लागि
काकाकुल बन्दै गल्ली-गल्लीमा तड्पिनुपर्नेछ। यो केवल पानीको अभाव मात्र हुने छैन,
बरु यो मानव सभ्यताको नैतिक र सामाजिक
न्यायको पूर्ण पतन हुनेछ।
जब
पानीको चरम अभावले पृथ्वीलाई गाँस्नेछ, तब
मानिसको विवेक, चेतना र सांस्कृतिक
मूल्य-मान्यताहरू हराउनेछन्। त्यहाँ केवल एउटै आदिम प्रवृत्ति बाँकी रहनेछ 'बाँच्ने इच्छा' (Survival
Instinct)। भोकभन्दा पनि तिर्खाले मानिसलाई
हिंस्रक बनाउँछ। त्यसैले त २० औँ शताब्दीका प्रख्यात भू-राजनीतिक रणनीतिकार,
पर्यावरणविद् र भविष्यवेत्ताहरूले दशकौँ
अघि चेतावनी दिँदै त्यसै भनेका होइनन् सन् १९९५ मा विश्व
बैंकका तत्कालीन वातावरण उपाध्यक्ष (Environmental Vice-President) रहेका इजिप्टका प्रख्यात अर्थशास्त्री
तथा विचारक इस्माइल सेरागेल्डिनले आधिकारिक रूपमा भनेका थिए:
"If the wars of this century
were fought over oil, the wars of the next century will be fought over
water."
""यदि यस शताब्दीका युद्धहरू तेलका लागि लडिएका थिए भने, आगामी शताब्दीका युद्धहरू पानीका लागि
लडिनेछन् । बुट्रोस बुट्रोस-घाली (Boutros Boutros-Ghali) ले सन् १९८५ मा इजिप्टको विदेश मामिला
राज्यमन्त्री हुँदा नील नदी (Nile River) को
पानी बाँडफाँट र मध्यपूर्वको सुरक्षालाई लिएर दिएको त्यो वास्तविक बयान अंग्रेजीमा
यस्तो थियो:
"The next war in our region will be over the waters
of the Nile, not politics." "
यदि मानव सभ्यतामा तेस्रो
विश्वयुद्ध भयो भने, त्यो
कुनै जमिन, खनिज, विचार वा सुनका लागि हुने छैन, त्यो मात्र पानीको अन्तिम थोपाका लागि
हुनेछ।" आज
मध्यपूर्वदेखि दक्षिण एसियासम्म नदीहरूको पानी बाँडफाँटलाई लिएर भइरहेका सुसुप्त
द्वन्द्वहरूले त्यही सम्भावित महाविपत्तिको पदचापलाई सङ्केत गरिरहेका छन्।
हामी
आज जतिसुकै ठुला आईटी प्रविधि, एआई
(AI), क्लाउड कम्प्युटिङ वा
अभूतपूर्व डिजिटल नेटवर्कको कुरा गरौँ, ती
सबैको अस्तित्व अन्ततः प्रकृतिको यही तरल प्रणालीमाथि टिकेको छ। सुपर कम्प्युटर र
डाटा सेन्टरका सर्भरहरूलाई चिस्याउन (Cooling) जति पानी चाहिन्छ, ती
प्रविधिलाई कमान्ड दिने र कोडिङ गर्ने मानव मस्तिष्कलाई जीवित राख्न पनि त्यति नै
पानी चाहिन्छ। प्रविधि पानीको विकल्प हुन सक्दैन, बरु प्रविधि आफैँ पानीको ऋणी छ। हामी 'सुजलाम्' आमाका
सन्तान हौँ, जसले हामीलाई
प्रचुरता दियो, तर आधुनिकता र
विकासको अन्धो दौडमा हामीले आफ्नै जीवनदाता आमाको छाती रित्त्याउँदै छौँ।
यदि
हामीले आजैका दिनदेखि आफ्ना जलस्रोतमाथिको कूटनीतिक अधिकार रक्षा गर्न
अन्तर्राष्ट्रिय मञ्चहरूमा बलियो आवाज उठाउन सकेनौँ, तराईको रक्षाकवच मानिएको चुरेको निरन्तर भइरहेको दोहन र
विनाशलाई कडा कानुनद्वारा रोकेनौँ भने हाम्रो विनाश निश्चित छ। अब हामीले
परम्परागत शैलीबाट माथि उठेर प्रविधिको उच्चतम् प्रयोग गर्दै 'Smart Water
Management' को बाटो रोज्नै पर्छ। जसमा IoT (इन्टरनेट अफ थिंग्स) का अत्याधुनिक
सेन्सरहरू जडान गरेर पानीको बहाव र चुहावटको प्रत्यक्ष निगरानी (Real-time
Monitoring) गर्ने, Big Data Analytics मार्फत जल उपभोक्ताको माग र आपूर्तिको
सही विश्लेषण गर्ने, र आकासे पानी सङ्कलन
(Rainwater Harvesting) सँगै
जमीनमुनिको पानी पुनर्भरण (Artificial Groundwater Recharge) का राष्ट्रिय नीतिहरू युद्धस्तरमा लागु
गर्नु आवश्यक भइसकेको छ।
यदि
हामीले समयमै यो जल-चेतना र प्रविधिको फ्युजन (Fusion) लाई व्यवहारमा उतार्न सकेनौँ भने, भोलि हाम्रो डिजिटल साम्राज्य, गगनचुम्बी भौतिक विकास र मानव अस्तित्व दुवै पानीविनाको
मरूभूमिमा बालुवाको घर जस्तै ढल्नेछन्। प्रविधिको स्क्रिनमा पानीको तस्बिर हेरेर
कसैको प्यास मेटिने छैन।
समयमै
चेतना आओस्, चेत भया !