सिन्धुपाल्चाेक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको अगुवाईमा बाह्रविसेका विभिन्न क्षेत्रको अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माको नेतृत्वमा, बाह्रविसे नगरपालिकाका प्रतिनिधि, उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख, जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि, उपभोक्ता हक हित संरक्षण मंचका प्रतिनिधि , सुरक्षा निकाय लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूबाट आइतबार बाह्रविसे नगरपालिका भित्र संचालित, खाद्य वस्तु बिक्रेता, होटल, औषधि पसल, मेडिकल, निजि स्वास्थ्य संस्था लगायतका व्यवसायहरूको स्थलगत अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा भेटिएका अखाद्य वस्तु जफत गरि नष्ट गरिएको उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख त्रिपुरारी बख्रेलले जानकारी दिए ।
उनका अनुसार इन्धन, ग्याँस, खाद्य वस्तु लगायतका अति आवश्यक दैनिक उपभोग्य वस्तुहरूको बिक्री वितरणमा सहजता होस र व्यवसायीबाट हुनसक्ने कृत्रिम अभाव र सम्भाव्य कालोबजारी नियन्त्रणका लागि बजारको बजार अनुगमन गरिएको हो । दर्ता , नविकरण नगर्ने तथा सरसफाइ , म्याद गुज्रेका सामग्री राख्ने लाई सचेत गराइएको बख्रेलले जानकारी दिए ।
यस्तै बाह्रविसे स्थित किष्टोन हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. अनुगमन गर्दा २०७१ साल देखि नविकरण नगरि संचालित रहेको तथा चिकित्सक नराखि सन्चालन गरेको पाइएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले बताइन् । समय समयमा बजार अनुगमन हुँदा उपभोक्ता लाई सहज हुने स्थानीयको भनाई छ ।