भक्तपुर । सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम निर्माण गर्ने प्रक्रिया अघि बढाउँदै नगरवासीसँग सुझाव मागेको छ ।
नगरपालिकाले “समृद्ध सूर्यविनायक निर्माणका लागि, तपाईंको सुझाव हाम्रो मार्गदर्शन” भन्ने नारासहित सार्वजनिक सूचना जारी गर्दै स्थानीय नागरिक, करदाता, बुद्धिजीवी, संघ–संस्था तथा सरोकारवालाहरूलाई योजना निर्माणमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको हो । नगरपालिकाका अनुसार शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, वातावरण संरक्षण, रोजगार प्रवद्र्धन, डिजिटल सेवा विस्तार, सुशासन तथा सामाजिक विकासका क्षेत्रमा प्राप्त सुझावलाई प्राथमिकताका साथ समेटिनेछ ।
यस अभियानलाई थप प्रभावकारी बनाउन नगरपालिकाले विभिन्न डिजिटल माध्यमहरू प्रयोगमा ल्याएको छ। नगरवासीहरूले गुगल फर्म, इमेल, नगरपालिकाको आधिकारिक वेबसाइट, फेसबुक पेज तथा फोन÷व्हाट्सएप मार्फत आफ्ना राय तथा सुझाव पठाउन सक्ने व्यवस्था गरिएको छ ।
नगरपालिकाले तोकेको समयसीमा अनुसार आगामी जेठ ३१ गतेभित्र सुझाव तथा परामर्श पेश गर्न सबै नगरवासीलाई आग्रह गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले नागरिक सहभागितामार्फत नीति निर्माण प्रक्रियालाई अझ समावेशी, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्य रहेको बताए ।
उनका अनुसार नागरिकबाट प्राप्त सुझावलाई गम्भीरतापूर्वक अध्ययन गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गरिनेछ ।
नगरपालिकाले स्थानीय आवश्यकता र जनअपेक्षालाई सम्बोधन गर्ने योजनासहित सबै क्षेत्रका सरोकारवालालाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ । यससँगै सूर्यविनायक नगरपालिकाले विकास योजना निर्माणमा नागरिकको प्रत्यक्ष भूमिका सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम अघि बढाएको जनाएको छ ।