काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७ सय ७५ वटा विद्युतीय गाडीलाई नियन्त्रणमा लिएको प्रकरणमा कर्मचारीलाई जिम्मेवारी मुक्त गरिएको छ ।
भन्सार छली गरी नेपाल भित्र्याइएको आशंकामा थप अनुसन्धानका लागि रसुवागढी भन्सार नाकाका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारी मुक्त गरेर भन्सार विभाग तानिएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवागढी नाकामा भन्सार बिन्दुमै नआएका सवारी साधनको भन्सार जाँचपास भएको भन्ने सन्दर्भमा अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिले गरेको सिफारिसअनुसार थप अनुसन्धानका लागि रसुवागढी भन्सार नाकाका प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारी मुक्त गरेर भन्सार विभाग तानिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
यस्तै, मुस्ताङको कोरोला नाकाबाट भन्सार जाँचपास भएका कारका सन्दर्भमा पनि अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिले स्थलगत रुपमा छानबिन प्रक्रिया अगाडि बढाइएको छ ।
अर्थ मन्त्रालय र भन्सार विभागका उपसचिवद्वयसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको अनुसन्धान टोली फिल्डमै रहेको सचिवालयले जनाएको छ । प्रारम्भिक रुपमा भन्सार छलीको आशङ्कामा सुरक्षाकर्मीको सहायतामा नियन्त्रणमा लिइएका कार र आयातकर्ता कम्पनीमाथि अनुसन्धान चलिरहेको जनाइएको छ ।