काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत सेमिफाइनलमा नेपाल बंगलादेशसँग २–१ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
खेलमा नेपालले सुरुआती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा अन्तिम समयमा गोल खाएर हार व्यहोर्नुपरेको हो । इन्जुरी समयको ९३औँ मिनेटमा सागाेरिकाले निर्णायक गोल गर्दै बंगलादेशलाई तेस्रोपटक फाइनलमा पुर्याइन् ।
नेपालका लागि २२औँ मिनेटमा गीता रानाले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। दीपा शाहीको कर्नर प्रहारमा आएको बललाई गीताले जाली चुमाएकी थिइन् ।
तर दोस्रो हाफ सुरु भएको एक मिनेटमै, ४६औँ मिनेटमा रितु पाेर्ना चक्माले कर्नरबाटै सिधा गोल गर्दै खेल १–१ को बराबरी भएकाे थियाे ।
नेपाल समूह चरणमा भूटानलाई १–० र श्रीलकालाई २–० ले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।
यस जितसँगै बंगलादेशले फाइनलमा स्थान सुरक्षित गरेको छ । अब उसले उपाधिका लागि भारत र भूटानबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।