काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गत वर्षको निर्वाचनमा लागेको धक्काको क्षतिपूर्ति हुने गरी जनतासँग सम्बन्ध बिस्तार गर्ने बताएका छन् । बुधबार काठमाडौँमा आयोजित एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा बोल्दै उपाध्यक्ष पौडेलले पार्टीका हरेक गतिविधि अब जनतातिर फर्किने बताए ।
‘गत वर्षको जेनजी आन्दोलन र फागुनको निर्वाचनमा हामीले इतिहासमा नै खराब धक्का बेहोरेका छौँ,’ पौडेलले भने, ‘यो सिकाइबाट अब पार्टीका हरेक गतिविधि जनतातिर फर्किएका हुनेछन् र राष्ट्रिय हिततिर फर्किएका हुनेछन् ।’
उनले जनतासँग टुटेको सम्बन्धलाई फेरि जोड्नु पार्टीको मुख्य कार्यभार रहेको बताए । संगठनात्मक जीवनमा भोगेका चुनौतिलाई सामूहिक रुपमा किनारा लगाउनु सबै सदस्यको दायित्व भएको बताए ।
उनले पार्टी सदस्यता प्राप्ति तथा नवीकरण केवल एउटा सदस्यता मात्र होइन त्यो एउटा राजनीति, विचार र जिम्मेवारीको प्राप्तिको रुपमा पनि बुझ्नु पर्ने बताए ।
सन् १९२० मा स्थापना भएको छिमेकी भारतीय कम्युनिस्ट पार्टी र चीनमा सन् १९२१ मा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टीका कार्यशैलीले एउटा कम्युनिस्ट पार्टी अत्यन्तै कमजोर भएको र अर्को कम्युनिस्ट पार्टी विश्वकै शक्तिशाली हुँदै गएको बताए ।
‘भारतको कम्युनिस्ट पार्टी इतिहासमै कमजोर भयो तर चीनको कम्युनिस्ट पार्टी शताब्दीमा शक्तिशाली छ,’ पौडेलले भने ‘नेपालले छिमेकका यी दुई ठूला देशका कम्युनिस्ट पार्टीका कार्यशैलीबाट आफू कस्तो अवस्थामा पुग्ने भन्ने पनि शिक्षा लिनु पर्दछ ।’