फूल मन्दिरमा पनि चढ्छ
लासमा पनि,
दिन ज्यूँदो पनि हुन्छ
मरेको पनि ।
दिन सुस्त पनि त हुनेगर्छ,
चुस्त पनि हुनेगर्छ,
यही चुस्तता र सुस्तताकै बिचमा
संसारको नीति
या भनौँ विधि–विधान
अढेको हुँदोरहेछ ।
आजको ज्यूँदोजाग्दो दिन
बिस्तारै ओइलाउन पनि सक्दोरहेछ
हिजो औलाएको या सुस्ताएको भनिएको दिन
आज ढकमक्क फूल फुलेझैँ
मग्मगाउँदो पनि रहेछ,
दिन र फूलको जीवनचक्र
उस्तै–उस्तै पो हुँदोरहेछ ।
— श्यामकृष्ण लम्साल, दिङ्ला, भोजपुर