दिपेन्द्र प्रसाद अवस्थी
मानव सभ्यताको विकास
क्रममा आगोको आविष्कारदेखि चक्काको निर्माणसम्म थुप्रै क्रान्तिहरू भए। तर, मानिसका विचार, भावना र आदेशलाई डिजिटल
संसारको कमाण्डसँग जोड्ने सबैभन्दा शक्तिशाली,
खतरनाक
र अक्सर ओझेलमा पारिएको 'डन' माध्यम हो— किबोर्ड। एक सूचना प्रविधि (IT) व्यवसायीको नजरबाट हेर्दा कहिलेकाहीँ मलाई राति एउटा निकै रोचक तर
घाम्टो कल्पना (दिमागमा अचानक आउने अनौठो र हलुका
पागलपन जस्तो लाग्ने तर रमाइलो कल्पना) मनमा आउँछ। यदि हाम्रा खल्तीका मोबाइल र अफिसका कम्प्युटरका
किबोर्डहरूले बोल्न सक्ने भए यिनीहरू बिच कस्तो शास्त्रार्थ चल्थ्यो होला? दिउँसो कार्यालयको टेबलमा कम्मर कसेर बस्ने कम्प्युटरको 'ठुले किबोर्ड' (QWERTY) र २४ घण्टा मान्छेको
हत्केलामा म्याटिङ-म्याटिङ नाच्ने 'सानी मोबाइलको भर्चुअल किबोर्ड' बिच राति प्रयोगकर्ता सुतेपछि कस्तो गफगाफ चल्थ्यो होला? यदि उनीहरू नेपाली समाजकै पात्र भइदिएको भए, उनीहरूको यो जुहारी कुनै कडा देउडा,
कचहरी
वा अन्तर्राष्ट्रिय अदालतको बहस भन्दा कम रोचक हुने थिएन।
१.
टेबलको बुढो हाकिम र खल्तीकी पाउडर घसेकी सुन्दरी
कार्यालयको
एउटा कुनामा ठुलो जिउडाल लिएर बस्ने 'ठुले किबोर्ड' अलि पुराना जमानाको कडा र निष्ठावान् हाकिम
जस्तै देखिन्छ। काम गर्दा "कट-कट, cut-cut" गरेर ठुलो स्वर निकाल्ने र
आफ्नो लामो 'स्पेस-बार' (Spacebar) हल्लाउँदै
उसले गर्वका साथ भन्छ,
"म भनेको यो डिजिटल साम्राज्यको जेठो राजा हुँ। क्रिस्टोफर
लाथम सोल्सले सन् १८६८ मा मेरो रचना गर्दा संसार चकित भएको थियो। मलाई चलाउन
मान्छेले दुवै हातका १० वटै औँला निष्ठाका साथ प्रयोग गर्छन्। मेरो एउटा 'Enter' की
थिच्दा सिङ्गो कोठा नै थर्किन्छ! अचेलका यी काँचका पर्दामा फुसफुस गर्ने डिजिटल
नाटक मलाई मन पर्दैन।"
तर, आधुनिकताको
पाउडर घसेकी 'सानी
मोबाइल' पनि
के कम? नाक
खुम्च्याउँदै र आँखा तर्दै उनी जवाफ फर्काउँछिन्, "ए ठुले दाइ! धेरै पुराना जमानाको गफ नलगाउनुस्
है। तपाईँको त्यो कच्याक-कुचुक आवाजले राति मान्छेले च्याट गर्न खोज्दा घरका
बुढाबुढी ब्युँझिएर गाली गर्छन्। म त कति ज्ञानी, कति शान्त छु। स्टिभ जोब्सले सन् २००७ मा जब
मलाई भर्चुअल रूपमा स्क्रिनमा ल्याए, तब तपाईँ जस्ता प्लास्टिकका डब्बाहरूको आधा उमेर त त्यसै
ढल्कियो। मलाई त मान्छेले ओछ्यानमा सिरकभित्र लुकाएर पनि सररर चलाउँछन्। तपाईँ त
त्यो ठुलो डब्बा (CPU) सँग
तारको साङ्लोले बाँधिएर कुनामा थन्किनुस्! मेरो त खुट्टा छ—म ओछ्यानमा, बाटोमा, गाडीमा, जहाँ
पनि हिँड्छु। " ठुले
किबोर्डको 'Caps Lock' आफैँ
अन हुन्छ र जङ्गिँदै भन्छ,
"बाटोको कुरा नगर म सँग! तिम्रो चक्करमा लागेर कति जना मान्छे
पोलमा ठोक्किएर अस्पताल पुगेका छन् थाहा छ? बाटो हेर्नु छैन, तिम्रो त्यो 'Touch' स्क्रिन हेर्दै हिँड्छन्। म सँग बसेर मान्छेले
देशको बजेट बनाउँछन्, कोडिङ
गर्छन्, ठुला-ठुला
सफ्टवेयर र आईटी सोलुसनका काम गर्छन्। तिमीले के गर्छौ नि? "सानी
मोबाइलले खित्का छोडेर हाँस्दै आधुनिक पुस्ताको नाडी छाम्छे, "हाहाहा!
तपाईँको त्यो कण्ठ नहुने १० हजार पेजको प्रतिवेदन कसले हेर्छ र दाइ? म त
मान्छेको दिलको कुरा लेख्छु। 'Love
You' लेख्छु,
मुटुको फोटो (इमोजी) पठाउँछु। मेरो एउटै रातो मुटुको इमोजीले
कतिको ब्रेकअप रोकिदिन्छ, कतिको
नयाँ गफ सुरु
गराइदिन्छ । तपाईँसँग
छ त यस्तो जादु? कि
तपाईँ आफ्ना 'F1 देखि F12' सम्मका
बटन जस्तै बोरिङ हुनुहुन्छ?"
२. 'अटोकरेक्ट' को लफडा र अर्बौँ रुपैयाँ स्वाहा
पार्ने टाइपिङ मिस्टेक
यति भएपछि ठुले किबोर्डले
मोबाइलको सबैभन्दा ठुलो कमजोरी अर्थात् 'अटोकरेक्ट' (Autocorrect) माथि कडा प्रहार गर्छ, "इमोजी रे! धत् मूर्ख! तिम्रो त्यो अटोकरेक्टले गर्दा कति जना
प्रेमी-प्रेमिकाहरू राति रोएर सुतेका छन् थाहा छ?
मान्छेले
'खाना खायौ?'
लेख्न
खोज्दा तिम्रो त्यो उल्टो दिमागले 'थाना गयौ?' बनाइदिन्छ। मान्छेले 'म तिमीलाई सम्झिन्छु' भन्न खोज्दा तिमी 'म तिमीलाई सन्किन्छु' बनाइदिन्छौ। तिमी त मान्छेको इज्जत सखाप पार्ने मेसिन हौ! "मोबाइल पनि आफ्नो बचाउ गर्दै भन्छिन्, "त्यो त कहिलेकाहीँ प्रविधिको गल्ती भइहाल्छ नि। तर तपाईँको जस्तो
मान्छेको औँला दुखाउने रोग त दिन्नँ नि मैले। तपाईँको त्यो बलियो बटन
थिच्दा-थिच्दा मान्छेको औँलाका नङ खिइने बेला भइसक्यो। मेरोमा त 'Swipe' गर्यो भने औँला सररर बग्छ र आफैँ लेखिन्छ।"
ठुले किबोर्डले आफ्नो
कम्मर मर्काउँदै हाँस्छ र भन्छ, "ए नानी, तिमीलाई त 'आई लभ यु' र ब्रेकअपको मात्र चिन्ता छ। तर तिमीलाई थाहा छ? हाम्रो एउटा सानो टाइपिङ, सिम्बल वा अनुवादको
गल्तीले संसारमा अन्तरिक्ष रकेट पड्किएका छन् र विश्वयुद्ध (World War) सम्म भएका छन्! तिमीलाई पत्यार लाग्दैन भने हाम्रा नेपाल आईटी
सोलुसनका एमडी दिपेन्द्र सरलाई नै सोध, उनले भर्खरै इन्टरनेटमा
प्रविधिको इतिहास र यसका गम्भीर गल्तीहरूबारे गहिरो खोज (Research) गर्दा अचम्मका तथ्यहरू फेला पारेका छन्।"
हो, मैले इन्टरनेटमा डिजिटल इतिहासका पुराना पानाहरू पल्टाउँदै जाँदा
प्रविधिको सानो त्रुटिले कति ठुलो वित्तीय अपराध र विनाश निम्त्याएको रहेछ भन्ने
कुराले म आफैँ पनि स्तब्ध भएँ। इन्टरनेटमा भेटिएको एउटा रोचक तथ्य सन् २००६ को हो, जब एउटा अनलाइन शेयर ट्रेडरले जापानको मिजुहो सेक्युरिटीमा '१ वटा शेयर ६ लाख येनमा' बेच्नुपर्ने ठाउँमा
किबोर्डमा उल्टाएर '६ लाख वटा शेयर १ येनमा' कमाण्ड टाइप गरिदियो! ओहो, त्यो एउटै टाइपिङ
मिस्टेकले गर्दा त्यो कम्पनीलाई एकै मिनेटमा २६ अर्ब रुपैयाँ बराबरको घाटा लाग्यो
र जापानको शेयर बजार नै हल्लियो!
त्यस्तै, सन् २०१० मा अलिटालिया एयरलाइन्सले किबोर्डमा टाइपिङ मिस्टेक गरेर
बिजनेस क्लासको टिकट '३ हजार डलर' हुनुपर्ने ठाउँमा जम्मा
'३९ डलर' टाइप गरिदियो। मान्छेहरूले केही घण्टाभित्रै हजारौँ टिकट काटे र
एयरलाइन्सले करोडौँ रुपैयाँ घाटा बेहोर्नुपर्यो। तिम्रो जस्तै फुसफुसे किबोर्ड
चलाउँदा मान्छे पलभरमै टाट पल्टिन्छन्, बुझ्यौ?"
३. जब एउटा 'हाइफन' ले रकेट पड्काउँछ र टुरुम्यानले परमाणु बम खसाल्छन्
इन्टरनेटको खोजका क्रममा भेटिएको
अर्को डरलाग्दो तथ्य सन् १९६२ को हो, जब नासा (NASA) ले शुक्र ग्रहको अध्ययनका लागि 'मरिनर १' (Mariner 1) नामक अन्तरिक्ष यान प्रक्षेपण गरेको थियो। तर, रकेट उडेको केही मिनेटमै आकाशमै पड्कियो। नासाका वैज्ञानिकहरूले
सफ्टवेयरको कमाण्ड कोड कम्प्युटरमा चेक गर्दा थाहा भयो कि किबोर्डबाट एउटा सानो 'हाइफन (-)' वा ड्यास टाइप गर्न छुटेको रहेछ।
इतिहासमा यसलाई "इतिहासकै सबैभन्दा महँगो हाइफन" भनिन्छ, जसको कारण नासाको अर्बौँ रुपैयाँ एकै झट्कामा खरानी भयो।
इन्टरनेटको महासागरमा
डुबुल्की मार्दै जाँदा मैले इतिहासकै सबैभन्दा भयानक र आत्मघाती टाइपिङ गल्ती फेला
पारेँ, जसले दोस्रो विश्वयुद्धको
रूप नै बदलिदियो र लाखौँको ज्यान लियो। सन् १९४५ मा मित्रराष्ट्रहरूले जापानलाई
आत्मसमर्पण गर्नका लागि 'पोट्सडाम (दोस्रो विश्वयुद्धको अन्त्यतिर (सन्
१९४५ को जुलाईमा) यही सहरमा संसारका तीन महाशक्ति राष्ट्रहरू— अमेरिका (राष्ट्रपति
Truman), बेलायत (प्रधानमन्त्री विन्स्टन चर्चिल)
र सोभियत संघ (जोसेफ स्टालिन) का नेताहरू बिच एउटा ऐतिहासिक बैठक भएको थियो) घोषणापत्र'
पठाएका
थिए। तत्कालीन अमेरिकी राष्ट्रपति ह्यारी एस. टुरुम्यान (Harry S. Truman) जापानको आधिकारिक जवाफको
पर्खाइमा थिए।
जापानका प्रधानमन्त्री
कान्तारो सुजुकीले पत्रकारहरूसँग कुरा गर्दा "मोकुसात्सु" (Mokusatsu) शब्द प्रयोग गरे, जसको सही अर्थ हुन्थ्यो—
"हामी अहिले नै कुनै निर्णय गर्दैनौँ, विचार गर्दैछौँ।" तर, जब त्यो सन्देश कूटनीतिक च्यानल र किबोर्ड हुँदै टाइप भएर
अंग्रेजीमा अनुवाद भयो, त्यहाँ अनुवादक र किबोर्ड
चलाउनेहरूले त्यसलाई "Ignore" वा "Treat with silent contempt" (पूर्ण तिरस्कार) को रूपमा
टाइप गरिदिए।
इन्टरनेटमा भेटिएको यो
ऐतिहासिक दस्तावेज अनुसार, राष्ट्रपति ट्रुम्यानले
सोचे— जापानले शान्तिको प्रस्तावलाई लात हान्यो र आत्मसमर्पण गर्न अस्वीकार गर्यो।
यदि त्यतिबेला किबोर्डमा "हामी यसबारे सोच्दैछौँ" भन्ने स्पष्ट अर्थ
टाइप भइदिएको भए सायद इतिहास अर्कै हुन्थ्यो होला र राष्ट्रपति ट्रुम्यानले त्यो
आत्मघाती निर्णय लिने थिएनन्। तर, एउटा शब्दको गलत टाइपिङ र
बुझाइकै कारण क्रुद्ध भएका राष्ट्रपति ट्रुम्यानले परमाणु बम खसाल्ने ऐतिहासिक
आदेश पत्रमा हस्ताक्षर गरे। परिणामस्वरुप, हिरोसिमा र नागासाकी
सेकेन्डभरमै मसानघाटमा परिणत भए र लाखौँ निर्दोष मानिसले ज्यान गुमाउनुपर्यो।
प्रविधिको इतिहासमा यो घटनाले प्रमाणित गर्छ कि— एउटा शासकको हातमा परमाणु बमको 'ट्रिगर' भए पनि, त्यो ट्रिगरलाई उक्साउने काम किबोर्डको एउटै गलत शब्दले गरेको
थियो।
अहिलेको आधुनिक 'हाइपर-डिजिटल' युगमा त झने तेस्रो विश्वयुद्ध
(World War 3) को त्रास सिधै किबोर्डको
एउटा 'Key' मा अडिएको छ। आज संसारका
महाशक्ति राष्ट्रहरू आणविक मिसाइलको 'लन्च कोड' बोकेर किबोर्ड अगाडि बसेका छन्। सन् १९८३ को त्यो घटना सम्झौँ, जब सोभियत संघको कम्प्युटर प्रणालीले अमेरिकाबाट पाँचवटा मिसाइल
आइरहेको गलत डाटा (सफ्टवेयर ग्लिच) देखायो। त्यतिबेला ड्युटीमा रहेका स्टेनिसलाभ
पेत्रोभले यदि आफ्नो किबोर्डबाट "काउन्टर अट्याक" को कमाण्ड टाइप
गरिदिएका भए, सायद आज यो पृथ्वीमा मानव
सभ्यता नै बाँकी रहने थिएन। मिसाइलको 'लन्च कोड' टाइप गर्दा किबोर्डको एउटा बटन 'ह्याङ' भइदियो वा गलत कमाण्ड 'एक्जिक्युट' भयो भने पुरै पृथ्वी खरानी हुन सक्छ। प्रविधिको सानो किबोर्ड केवल
अक्षर छाप्ने यन्त्र होइन, यो त संसारलाई बचाउने वा
सखाप पार्ने 'ट्रिगर' पनि हो।
निष्कर्ष: मोटा औँला र प्रविधिको
फ्युजन
ठुले किबोर्डको यो अकाट्य
र डरलाग्दो इतिहास सुनेर सानी मोबाइलको 'Brightness'
जिरो
हुन्छ र उनी थरथर काप्दै भन्छिन्, "ओहो ठुले दाइ! तपाईँले त
मलाई ठुलो पाठ सिकाउनुभयो। मेरो यो अटोकरेक्टले एउटा सानो शब्द बिगार्दा त यहाँ
घर-घरमा महाभारत युद्ध हुन्छ भने, ठुला देशका रक्षा प्रणाली
र सुपर-कम्प्युटरका किबोर्डले एउटा अक्षर गलत टाइप गरे त साँच्चिकै संसारकै अन्त्य
हुने 'वर्ल्ड वार'
नै
हुने रहेछ!"
तर वास्तविकता के हो भने, प्रविधि जति नै 'स्मार्ट र फास्ट' भए पनि मोटा-मोटा औँला भएका मान्छेहरू मोबाइलको अगाडि आए भने एउटा
अक्षर थिच्न खोज्दा तीनवटा अक्षर सँगै थिचिन्छन् र सन्देशको अर्थ नै अनर्थ लाग्छ।
यस्तो अवस्थामा गम्भीर र संवेदनशील कामका लागि फेरि त्यही ठुले किबोर्डकै याद आउँछ, जहाँ नहेरी-नहेरी पनि १० वटै औँलाले फटाफट र सटिक टाइप गर्न
सकिन्छ।
एक आईटी व्यवसायीको
आँखाबाट यो प्रविधिको झगडा र यसको गम्भीर पाटोलाई नियाल्ने हो भने एउटा कुरा
स्पष्ट हुन्छ—संसार चलाउन यी दुवैको उत्तिकै भूमिका छ। दिउँसो कार्यालयमा
राष्ट्रको डिजिटल प्रणाली, सुरक्षित आईटी पूर्वाधार
र संवेदनशील सरकारी वा ब्याङ्किङ डेटा ह्यान्डल गर्न 'ठुले किबोर्ड' को भौतिक सटिकता नै
चाहिन्छ। तर, बेलुका घर आएर, बत्ती निभाएर, ओछ्यानमा पल्टिँदै
संसारभरिका साथीहरूसँग सुख-दुःख साट्न, सञ्चार गर्न र सामाजिक
सञ्जालमा जोडिन 'सानी मोबाइल' को भर्चुअल किबोर्ड उत्तिकै अपरिहार्य छ।
त्यसैले, ठुले किबोर्डको गम्भीर व्यावसायिकता र सानी मोबाइलको आधुनिक
चञ्चलता मिलेर नै आजको डिजिटल संसार सन्तुलित रूपमा अगाडि बढेको छ। जब ठुले
किबोर्डले आफ्नो तार अगाडि बढाउँछ र सानी मोबाइलले आफ्नो ब्लुटुथ अन गर्छे, तब प्रविधिको यो सुन्दर मिलनले नै मानव जीवनलाई सहज बनाएको छ। तर, यसको प्रयोग गर्दा 'हाम्रो एउटा सानो टाइपिङ
गल्तीले संसार बर्बाद हुन सक्छ' भन्ने कुरामा हामी र देश
चलाउने शासकहरू सधैँ सचेत हुनै पर्छ।