काठमाडौँ । करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा फरार रहेकी चर्चित टिकटकर तुलसी अधिकारी थाइल्यान्डबाट पक्राउ परेकी छिन् । उनको नाममा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएको थियो । थाइल्यान्डमा पक्राउ परेकी ३२ वर्षीया अधिकारीलाई शनिबार नेपाल ल्याएर ललितपुर प्रहरीको हिरासतमा राखिएको छ । उनलाई सोमबार अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।
नवलपरासी घर भएकी अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको कसुरमा मुद्दा दायर भएको थियो । जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले चार महिनाअघि ललितपुर जिल्ला अदालतमा अधिकारीविरुद्ध मुद्दा दर्ता गरेको हो ।
एक अटो व्यवसायीको जाहेरीका आधारमा अधिकारीविरुद्ध आपराधिक लाभ, ठगी, आपराधिक विश्वासघात, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत गरी ५ वटा कसुरमा मुद्दा चलाइएको छ ।
पीडितलाई ‘हनी ट्र्याप’मा पारि जबरजस्ती करणीको मुद्दा हाल्ने धम्की दिँदै करोडौँ रुपैयाँ असुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उक्त रकम नेपाल र चीनमा लगानी गरी संगठित रूपमै सम्पत्ति शुद्धीकरण गरेको दाबी अभियोगपत्रमा गरिएको छ ।
पीडित व्यवसायीले गत साउनमा प्रहरीमा जाहेरी दिएपछि यसको अनुसन्धान सुरु भएको थियो । अभियोगपत्रअनुसार २०७५ सालमा व्यावसायिक सिलसिलामा उनीहरूबीच चिनजान भएको थियो ।