काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उनीहरूलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
गत वैशाख १८ गते जारी अध्यादेशअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानबाट चल्ने मुद्दा विशेष अदालतमा दर्ता हुनुपर्ने व्यवस्था छ । तर विशेष अदालतको साटो काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको भन्दै सर्वोच्च अदालतले उक्त पक्राउ पुर्जी कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
सम्पत्ति शुद्धीकरण विभागको पक्राउ पुर्जीविरुद्ध देउवा दम्पतीको तर्फबाट सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो । रिटमा आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको, सम्पत्तिको स्रोत देखाउन मञ्जुर रहेको तथा पक्राउ गर्नुपर्ने अवस्था नरहेको जिकिर गरिएको थियो ।
उपचारका लागि बैंकक पुगेका देउवा हाल हङकङमा रहेका छन् ।
यसअघि सरकारले देउवाविरुद्ध रेडकर्नर नोटिस जारी गर्दै इन्टरपोलमार्फत पक्राउ गर्ने तयारीसमेत गरेको बताइएको थियो ।