काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चार्टर्ड एकाउन्टेन्ट गणेश कुमार केसी नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको जेठ १० गते बसेको बैठकले केसीलाई आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका अनुसार उनको नियुक्ति जेठ ११ गतेदेखि लागू भएको छ ।
यसअघि बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) का रूपमा कार्यरत केसीसँग बैंकिङ क्षेत्रमा २२ वर्षभन्दा बढीको अनुभव रहेको छ । उनले कार्यकारी तहमा सात वर्षभन्दा बढी समय काम गरिसकेका छन् ।
केसीले यसअघि मालिका विकास बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेका थिए । साथै, कुमारी बैंक लिमिटेडको आन्तरिक लेखापरीक्षण विभागमा विभागीय प्रमुखको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।
बैंकले केसीको प्रशासनिक तथा वित्तीय नेतृत्वले संस्थाको व्यावसायिक यात्रालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।