काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार संघीय सरकारी निकायमध्ये अर्थ मन्त्रालय सबैभन्दा बढी बेरुजु हुने निकाय बनेको छ । आर्थिक वर्ष २०८१८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार १० वटा मुख्य मन्त्रालयहरूको बेरुजु कुल बेरुजुको ९७.३९ प्रतिशत रहेको छ ।
अर्थको बेरुजु सबैभन्दा उच्च
प्रतिवेदनअनुसार अर्थ मन्त्रालयको बेरुजु अंक ३ खर्ब ७६ अर्ब ३३ करोड ९१ लाख रुपैयाँ पुगेको छ । यो सङ्घीय मन्त्रालयहरूको कुल बेरुजुको ७०.३६ प्रतिशत हो। अर्थ मन्त्रालयको कुल लेखापरीक्षण अंकको तुलनामा बेरुजु प्रतिशत १.६८ देखिएको छ ।
दोस्रो स्थानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेको छ। यस मन्त्रालयको बेरुजु ७१ अर्ब ३ करोड ३३ लाख रुपैयाँ (१३.२८ प्रतिशत) रहेको छ । यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बेरुजु १५ अर्ब ३६ करोड ६६ लाख रुपैयाँ छ।