भक्तपुर । सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजनामा ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता–२०८३ सुरु भएको छ । सूर्यविनायक नगरपालिकाको सहयोग तथा समन्वयमा वैशाख २४ गतेदेखि वडा नं. ८ स्थित हेल्दी फुटसलमा प्रतियोगिता सञ्चालन गरिएको हो ।
प्रतियोगिताको उद्घाटन सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता भट्टराईले गरेकि थिइन । उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख भट्टराईले खेल क्षेत्रले युवापुस्ता तथा बालबालिकालाई अनुशासित, सक्रिय र सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्ने बताइन ।
उनले खेलकुदको विकासमार्फत सामाजिक सद्भाव, स्वस्थ जीवनशैली तथा समग्र मानवीय विकासमा नगरपालिका निरन्तर सक्रिय रहेको उल्लेख गर्दै सहभागी खेलाडीलाई सफलताको शुभकामना दिनुभयो।
सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाका अनुसार वैशाख २४, २५ र २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाभरका २५ वटा टोली सहभागी छन् ।
प्रतियोगिताको समापन वैशाख २६ गते अपराह्न नगर प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यतामा हुने तथा विजेता टोली र खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने कार्यक्रम रहेको छ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद ६० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीलाई ३० हजार, तेस्रो हुने टोलीलाई २० हजार र सान्त्वना टोलीलाई १० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
त्यस्तै उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोलकिपरलाई २० हजार तथा सर्वाधिक गोलकर्तालाई १० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
कार्यक्रममा सामाजिक विकास समितिका संयोजक रवीन्द्र सापकोटा, वडा नं. ८ का अध्यक्ष पुष्पराज बस्नेत तथा नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापालगायतले खेलकुदमार्फत युवालाई सकारात्मक र सिर्जनशील गतिविधितर्फ अग्रसर गराउन यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।
नगरपालिकाले खेलकुद गतिविधिमार्फत युवाहरूलाई सकारात्मक दिशामा प्रेरित गर्दै स्वस्थ, जिम्मेवार र सिर्जनशील नागरिक निर्माण गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।