काठमाडाैँ । तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएपछि थालापति विजयले तीन निर्णय गरेका छन् । आइतबार चेन्नईमा शपथपछि उनले तीनवटा निर्णयमा हस्ताक्षर गरेका हुन् । बिबिसीका अनुसार उनले प्रत्येक परिवारलाई २०० युनिटसम्मको बिजुली निःशुल्क, लागुऔषध दुर्व्यसनी हटाउन प्रत्येक जिल्लामा विशेष बल बनाउने र महिलाहरूको सुरक्षाका लागि एउटा स्पेशल टास्क फोर्स गठन गर्ने निर्णय गरेका छन् ।
उनी नेतृत्वको तमिलगा वेत्री कजगम (टिभिके)ले बहुमत जुटाएपछि राज्यपाल राजेन्द्र अर्लेकरले विजयलाई आइतबार मुख्यमन्त्री नियुक्त गरेका थिए । आइतबार बिहान १० बजे चेन्नईस्थित नेहरू स्टेडियममा शपथ लिएका हुन् ।
त्यस्तै बुसी एन आनन्द, आधव अर्जुन, केजी अरुणराज, केए सेंगोट्टैयन, पी वेंकटरमणन, सीटीआर निर्मलकुमार, ए राजमोहन, टी के प्रभु र एस कीर्तनाले मन्त्रीको शपथ लिए । टिभिकेलाई कंग्रेस आई, सिपआई, सिपिएम, विदुथलाई चिरुथैगल कच्ची (भीसीके) र इन्डियन युनियन मुस्लिम लिग (आईयूएमएल)ले समर्थन दिएको छ ।
२३४ सदस्यीय तमिलनाडु विधानसभा निर्वाचनमा टिभीकेले १०८ सिट जितेको थियो । विजय स्वयं दुई सिटबाट निर्वाचित भएकाले एक सिट छाड्नुपर्नेछ । कांग्रेससँग ५ सिट छ भने सीपीआई, सीपीएम, भीसीके र आईयूएमएलसँग दुई–दुई सिट छन् । यी दलको समर्थनपछि टिभीके पक्षमा १२१ सिट पुगेको छ, जुन बहुमतका लागि आवश्यक संख्या ११८ भन्दा बढी हो ।