काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले विभिन्न ४९ वटा विभाग तथा मोर्चाको जिम्मेवारी तोकेको छ । गत चैत १९ गते सुरु भएर वैशाख १५ गते सम्पन्न भएको केन्द्रीय कार्य–संयोजन समितिको निर्णय कार्यान्वयनका लागि पठाइएको अन्तरपार्टी निर्देशन–३ मा विभाग तथा मोर्चाका प्रमुख तथा उपप्रमुख तोकिएका छन् ।
अनुगमन तथा मूल्याङ्कन विभाग प्रमुखको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन् भने अन्तर्राष्ट्रिय सम्बन्ध विभागको जिम्मेवारी प्रमेश कुमार हमालले सम्हाल्ने छन् । वामदेव गौतमलाई उद्यमशीलता तथा उत्पादन विभागको प्रमुख बनाउँदा रेखा शर्मालाई प्रचार विभागको जिम्मेवारी दिइएको छ ।
यसअघि सुदूरपश्चिम प्रदेशको सहइञ्चार्ज जिम्मेवारी पाएकी रञ्जिता श्रेष्ठले कृषि तथा भूमि व्यवस्था विभाग प्रमुखको जिम्मेवारी पाएकी छन् भने कृष्णबहादुर महराले राष्ट्रिय हित सुरक्षा विभागको जिम्मेवारी पाएका छन् ।
संगठन विभागको प्रमुखको जिम्मेवारी वर्षमान पुनले पाएका छन् भने पम्फा भुसालले प्रवास प्रदेश समन्वय समितिको जिम्मेवारी पाएकी छन् । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले हस्ताक्षर गरेर पठाएको अपानी–३ मा नीति अध्ययन अनुसन्धान प्रतिष्ठानको प्रमुखको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई, स्थानीय तह विभाग अग्नि सापकोटालाई, श्रम तथा रोजगार विभागको गरिमा शाहलाई, शिक्षा विभाग गिरीराजमणि पोखरेललाई दिइएको छ ।
डा. बेदुराम भुसालले पार्टी स्कुल विभागको जिम्मेवारी पाउँदा विना मगरले खानेपानी तथा सरसफाइ विभाग पाएकी छन् ।