दीपेन्द्र प्रसाद
अवस्थी
जराको खोजी: मूलखटालीको गौरव
सुदूरपश्चिमको बैतडी, जहाँको भूगोलले कठोर सङ्घर्ष र संस्कृतिले विनम्रता सिकाउँछ। वि.सं. २०४६ साल पुस २० गते, साविकको शङ्करपुर गाउँ विकास समिति (हाल सुर्नया गाउँपालिका) को एउटा कुनामा मेरो जीवनको पहिलो रुवाइ गुन्जियो। मेरो अस्तित्वको आदिथलो र पुर्ख्यौली पहिचानको मुहान हो— 'मूलखटाली'। यो केवल भूगोल मात्र होइन, अवस्थी वंशको सभ्यता र विरासतको जीवित दस्तावेज हो। मूलखटालीको वात्सल्यमयी आँगनभित्र खर्काधार, तिमुनी र कोखेतजस्ता बस्तीहरू एउटा सुन्दर मालामा उनिएझैँ सजिएका छन्।
खर्काधारको बिहानी निकै अलौकिक हुन्थ्यो। हरेक बिहान जब मेरो निद्रा खुल्थ्यो, आँखाअगाडि चाँदीझैँ टल्किने उत्तरतर्फका हिमालहरूले मलाई स्वागत गर्थे। त्यहीँ खर्काधारबाट पारिपट्टि देखिने 'गोफाकटाल' (घनघोर जङ्गलभित्र रहेको गुफा) को दृश्य र त्यहाँबाट आउने चराचुरुङ्गीको मधुर स्वरले बिहानीलाई झनै आनन्दमय बनाउँथ्यो। रौला केदारको काखमा रहेको हाम्रो घरमा बिहानको पहिलो झुल्के घामले पार्ने त्यो न्यानो स्पर्श र शुद्ध पहाडी हावाको झोक्काले निद्रा मात्र खुल्दैनथ्यो, जीवनप्रतिको एउटा नयाँ उमङ्ग नै जाग्थ्यो। गोफाकटालको चिसो र शुद्ध पानी खाएर हुर्किएको मेरो बाल्यकाल अझै मानसपटलमा ताजा छ।

देवभूमि र आध्यात्मिक ओत
हाम्रो मूलखटाली आस्था र विश्वासले घेरिएको छ। यस क्षेत्रको सुरक्षा र समृद्धिको बागडोर आराध्य देवता अनिरुद्र, सिगास र कैलपालको हातमा छ भन्ने हाम्रो दृढ विश्वास छ। उत्तरतर्फ चाँदीझैँ टल्किने हिमाल र पूरै बैतडीको रक्षा कवचका रूपमा उभिएको एक विशाल एवं अभेद्य प्राकृतिक स्तम्भझैँ देखिने ’रौला केदार’ को भव्यताले हामीलाई सधैँ सुरक्षित रहेको आभास गराइरह्यो।
संस्कारको पाठशाला र अक्षरारम्भ
मेरो शैक्षिक यात्राको जग श्री अनिरुद्र प्राथमिक विद्यालय, खर्काधारबाट सुरु भएको हो। रोचक र गर्विलो कुरा त के छ भने, यस विद्यालयको नाम हाम्रै कुल देवता ’अनिरुद्र’ को नामबाट राखिएको हो। त्यहाँ हामीले केवल अक्षर मात्र चिनेनौँ, गुरुप्रतिको सम्मान र अनुशासनको कडा संस्कार पनि पायौँ। खरि र पाटीको खस्रो स्पर्शमा कोरेका ती बाङ्गाटिंगा अक्षरहरू नै मेरो आजको सफलताका पहिलो खुड्किला हुन्।
मुस्याखान, चाउचाउ र ऐतिहासिक जयपृथ्वी राजमार्ग
कक्षा ५ मा पढ्दा वातावरण शिक्षाको 'प्रदूषण' पाठ बुझ्न हामी खर्काधारबाट करिब एक घण्टाको पैदल यात्रा गरेर मुस्याखान पुगेका थियौँ। मुस्याखान जाने त्यो बाटो उकालो र निकै कठिन थियो। त्यो ठाडो उकालो चढ्दा मुटुको धड्कन बढ्ने र शरीर थकित भएर लखतरान हुन्थ्यो। तर, जतिसुकै थकान र कमजोरी महसुस भए पनि बाटोमा पर्ने 'जित्किजवाड' नामक थली (समथर भूभाग) मा पुगेपछि छुट्टै आनन्द र राहत मिल्थ्यो।
त्यस समयमा खर्काधारमा सडक पुगिसकेको थिएन, त्यसैले हामी हिँडेरै मुस्याखान पुग्नुपर्थ्यो जहाँ ऐतिहासिक र धेरै पुरानो 'जयपृथ्वी राजमार्ग' को पहुँच थियो। यो राजमार्ग मुस्याखान हुँदै बझाङ जिल्ला जोड्ने सुदूरपश्चिमको एक महत्त्वपूर्ण धमनी हो। सडक पुगेसँगै मुस्याखान एउटा व्यापारिक केन्द्रका रूपमा पनि विकसित भएको थियो। त्यतिबेला मुस्याखानमा भट्टमाससँग चामल साट्ने एउटा परम्परागत र महत्त्वपूर्ण व्यापारिक थलो थियो, जहाँ गाउँलेहरू आफ्ना कृषि उपज साटासाट गर्थे। त्यहाँ सडक पुगेसँगै नयाँ कुराहरू पनि भित्रिएका थिए। हामीले पहिलो पटक त्यहीँ चाउचाउ देखेका र खाएका थियौँ। त्यो समयमा चाउचाउ पाउनु र खानु हाम्रा लागि एउटा ठूलो उत्सव र नयाँ स्वादको अनुभव थियो। सडक छेउका धुलाले भरिएका खैरा पातहरू र जङ्गलभित्रका सफा हरिया पातहरू बीचको फरक हेर्नु हाम्रा लागि पहिलो प्रयोगात्मक शिक्षा थियो। सडक कस्तो हुन्छ र गाडी कसरी गुड्छ भनेर हेर्नु हाम्रा लागि एउटा अलौकिक अनुभव थियो।
.jpeg)
'झरो' को उज्यालो र सुर्नया तिरको त्यो घट्ट
बिजुली नहुँदा रातको समयमा टुकी, लालटिन र झरोको मधुरो प्रकाशमा पढ्नुको विकल्प थिएन। हातमा बल्दै गरेको झरो या निगालो लिएर खर्काधारबाट तिमुनी हुँदै त्यो एकान्त र डरलाग्दो सुर्नया नदीको तिरमा रहेको घट्टसम्म पुग्नु आफैँमा एउटा साहसिक यात्रा थियो। सुर्नयाको त्यो घट्टको सम्झना अझै डरलाग्दो र जीवन्त छ। रातिको समयमा सुर्नया नदीको त्यो गडगडाहट आवाज, चारैतिरको सुनसान जङ्गल, र चिसो स्याँठका बीचमा घट्टको त्यो "घुइँ-घुइँ" आवाजले मनमा एक प्रकारको भय पैदा गर्थ्यो। घट्टभित्रको त्यो ओसिलो गन्ध र मकै-गहुँ पिस्दा आउने पिठोको ताजा बास्ना अहिले पनि नाकमा ठोक्किएझैँ लाग्छ। बिहान उठेर नाक सफा गर्दा टुकी र झरोको धुवाँले निस्कने त्यो कालो मुस्लोले हाम्रो अभावलाई मात्र होइन, अन्धकार चिरेर अगाडि बढ्ने हाम्रो जिद्दी र सङ्घर्षलाई पनि दर्साउँछ।
जापानको प्रविधि र ’अचम्मको कथा’
प्राथमिक तह पार गरेपछि म माध्यमिक शिक्षाका लागि श्री शङ्कर संस्कृत उच्च माध्यमिक विद्यालय, मूलखटाली भर्ना भएँ। जब म कक्षा ६ मा पढ्थेँ, एउटा पाठमा जापानको आधुनिक प्रविधि र कम्प्युटरको संसारबारे पढ्दा म आश्चर्यचकित भएको थिएँ। पाठमा लेखिएको थियो— “जापानमा मान्छेबिना नै कम्प्युटरबाट सामानहरू बेचबिखन गरिन्छ।“ झरो र टुकीको धुवाँमा बसेको त्यो बालकका लागि यो एउटा सपनाजस्तै थियो।
सूचनाको तिर्खा र रेडियोको त्यो जमाना
अहिले जस्तो हातहातमा मोबाइल र इन्टरनेटको सुविधा त कल्पनाभन्दा बाहिरको कुरा थियो। सूचनाको मुख्य स्रोत रेडियो नै थियो। मेरा स्वर्गीय हजुरबुबाले रेडियो ल्याउनुभएको थियो। बिहानीपख रेडियो नेपालबाट बज्ने त्यो शङ्ख ध्वनि, “यो रेडियो नेपाल हो“ भन्ने गम्भीर आवाज, र बिहान आठ बजेको समाचारपछि बज्ने डेउडा गीतको धुन अहिले पनि मानसपटलमा ताजा छ। त्यो समयमा राति ८ बजे बज्ने अङ्ग्रेजी समाचारको आफ्नै सान र प्रभाव थियो। अङ्ग्रेजी बुझ्न नसके पनि रेडियोबाट बज्ने त्यो अङ्ग्रेजी समाचारको “दिस इज रेडियो नेपाल...“ भन्ने आवाज र त्यसको गम्भीरताले हामीलाई बाहिरी संसार निकै विशाल छ भन्ने आभास गराउँथ्यो।
सञ्चारको कुरा गर्दा, नाताले आदरणीय दाइ विष्णु अवस्थीको घरमा रहेको सोलारबाट चल्ने टेलिफोन (V-SAT) मेरो लागि प्रविधिको पहिलो चमत्कार थियो। गाउँका सबैले त्यसलाई “फोनवाला घर“ भन्थे। टाढा–टाढाका मानिसहरू कुरा गर्न त्यही घरमा आउँथे। सोलारको पाताबाट बिजुली निकालेर एउटा सानो बट्टा (सेट) बाट मानिसहरूले सयौँ कोस टाढाका आफन्तसँग बोलेको देख्दा मलाई यो कुनै जादुजस्तै लाग्थ्यो। आकाशको घामबाट कसरी आवाज टाढा पुग्छ होला भन्ने त्यो बाल्यकालको जिज्ञासाले नै मभित्र प्रविधिप्रतिको एउटा छुट्टै भोक जगाएको थियो। आज फर्केर हेर्दा लाग्छ, मेरो आई.टी. यात्राको वास्तविक बीजारोपण त्यही “फोनवाला घर“ को कौतूहलताबाटै भएको थियो।

जीवनको टर्निङ प्वाइन्ट: द्वन्द्व र विस्थापन
मेरो जीवनको सबैभन्दा ठूलो र पीडादायी ’टर्निङ प्वाइन्ट’ वि.सं. २०६२/६३ को समय नै बन्यो। देशमा माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा थियो र त्यसको रापले हाम्रो शान्त गाउँलाई पनि अछूत राखेन। जताततै त्रास, अनिश्चितता र असुरक्षाको बादल मडारिएको थियो। माओवादीका गतिविधिका कारण गाउँमा बसिसक्नु भएन; मैले आफ्नो थातथलो, ती प्यारा गोरेटो र आफन्तहरूलाई छोडेर विस्थापित हुनुपर्ने एउटा निकै कठिन मोड आयो।
आफ्नो जन्मभूमिबाट उखेलिनुको पीडा निकै गहिरो हुन्छ। ज्यान जोगाउन भारततिर लाग्नु मेरो रहर थिएन, एउटा नमीठो बाध्यता थियो। तर कहिलेकाहीँ समयले मानिसलाई नचिताएको बाटोमा हिँडाउँछ। आज फर्केर हेर्दा लाग्छ— “यदि माओवादीले दुःख नदिएको भए र त्यो असहज परिस्थिति नजन्मिएको भए, सायद म आज पनि मेरो प्यारो शङ्करपुर छोड्ने थिइनँ होला। यदि म विस्थापित भएर बाहिर ननिस्किएको भए, सायद आज मेरो हातमा कम्प्युटरको किबोर्ड (Keyboard) हुने थिएन होला।" त्यो विस्थापनले मलाई बाँच्न मात्र होइन, नयाँ संसार खोज्न र सङ्घर्ष गर्न पनि सिकायो। त्यही विस्थापन नै मलाई कम्प्युटरको किबोर्डसम्म पुर्याउने माध्यम बन्यो।
हरिद्वार, वाल्मीकि र सानोठिमीको शैक्षिक जग
ज्यान जोगाउन भारतको पवित्र तीर्थस्थल हरिद्वारतिर लाग्नु मेरो बाध्यता भए पनि त्यहाँको आध्यात्मिक र ज्ञानमय भूमि मेरो लागि वरदान साबित भयो। गङ्गाको पावन तटमा बसेर संस्कृतका श्लोकहरू र व्याकरणको अध्ययन गर्दा मभित्र एउटा छुट्टै अनुशासन र बौद्धिक स्पष्टता पलायो। त्यहाँको सङ्घर्षपूर्ण परिवेशबाट SLC उत्तीर्ण गरेपछि म आफ्नो माटोको सुगन्ध र हरिद्वारमा आर्जन गरेको ज्ञानको पोको बोकेर काठमाडौँ फर्किएँ।
काठमाडौँ प्रवेश गरेपछि मेरो शैक्षिक यात्राको अर्को महत्त्वपूर्ण गन्तव्य बन्यो— प्रदर्शनी मार्गस्थित वाल्मीकि विद्यापीठ। काठमाडौँको मुटुमा रहेको वाल्मीकिमा संस्कृत शिक्षालाई थप उचाइमा लैजाँदै गर्दा मेरो व्यक्तित्वमा अझ निखार आयो। यहाँको शैक्षिक परिवेश र गुरुहरूको मार्गदर्शनले मलाई आफ्नो जरा र आधुनिकताबीच सन्तुलन मिलाउन सिकायो।
तर मेरो मनभित्र प्रविधिप्रतिको जुन कौतूहलता कक्षा ६ देखि नै थियो, त्यसले मलाई नयाँ बाटो रोज्न प्रेरित गरिरह्यो। फलस्वरूप, मैले भक्तपुरस्थित सानोठिमी क्याम्पसमा सूचना तथा सञ्चार प्रविधि (ICT) को अध्ययन सुरु गरेँ। सानोठिमी क्याम्पसमा बिताएका ती दिनहरू मेरो जीवनका लागि ’प्राविधिक कोसेढुङ्गा’ साबित भए। संस्कृतको त्यो प्राचीन ज्ञान र सानोठिमी क्याम्पसको आधुनिक प्रविधिको सङ्गमले नै मलाई आजको डिजिटल युगमा सफलतापूर्वक हिँड्न सक्ने र प्रविधिको साम्राज्य खडा गर्न सक्ने बलियो आधार दियो।
व्यक्तित्व विकास र गुरुको सानिध्य
वि.सं. २०६९ मा काठमाडौँको बागबजारस्थित ’इको मिडिया’ (Echo Media) मा गुरु हरि बल्लभ नेपालसँगको सामीप्यले मेरो जीवनमा नयाँ आयाम थप्यो। उहाँले नै मलाई समाजमा खुला रूपमा बोल्न र लेख्न सिकाउनुभयो। Public Speaking को कडा अभ्यास र ’मेरो एफएम’ (Mero FM) मा उहाँको रेडियो कार्यक्रममा सहभागी हुने अवसरले मभित्रको आत्मविश्वासलाई उजागर गरिदियो।
.jpeg)
प्रविधिको पूर्ण गन्तव्य: ’नेपाल आई.टी. सोलुसन’
हिजो बैतडीको विकट गाउँमा एउटा रेडियो सुन्न गाउँ चाहर्ने त्यो बालक आज देशको राजधानीमा एउटा प्रतिष्ठित आई.टी. कम्पनी ’नेपाल आई.टी. सोलुसन’ (Nepal IT Solution : THE ONLY OPTION) को प्रबन्ध निर्देशक (MD) का रूपमा स्थापित छ। वि.सं. २०७३ तिर एउटा सानो कोठा र सीमित स्रोतसाधनबाट सुरु भएको यो कम्पनी आज प्रविधिको क्षेत्रमा एउटा विश्वसनीय नाम बनेको छ।
समयको परिवर्तनसँगै आज हामीले आफ्नो सेवालाई थप व्यवस्थित बनाउँदै लगेका छौँ र विभिन्न स्थानहरूबाट सेवाग्राहीहरूसँग जोडिने अवसर पाएका छौँ। हामी केवल व्यापार मात्र गर्दैनौँ, जटिल प्राविधिक समस्याहरूको समाधान पनि दिन्छौँ। हामी नेटवर्किङ (Networking), Website Design, सफ्टवेयर निर्माण (Software Development) र देशभरि IT उपकरणहरूको बिक्री तथा मर्मत सेवा प्रदान गर्छौँ। सडकमा गुड्ने गाडी र जापानको प्रविधि देखेर अचम्म मान्ने मेरो बाल्यकालको त्यो आँखा आज सीसीटीभी (CCTV) को आधुनिक मोनिटर र सर्भरका लाइटहरूमा अभ्यस्त भइसकेको छ। मेरो नेतृत्वमा रहेको यो कम्पनी आज सयौँ संस्थाहरूलाई डिजिटल युगसँग जोड्ने पुल बनेको छ।
जीवनको दर्शन: साहित्य, सङ्गीत र कला
मेरो जीवन यात्रालाई नियाल्दा यो श्लोक सधैँ स्मरणमा आउँछ:
साहित्यसङ्गीतकलाविहीनः साक्षात्पशुः पुच्छविषाणहीनः।
यस श्लोकले सिकाएझैँ, केवल मेसिन र प्रविधिसँग बाँच्नु मात्र पूर्ण जीवन होइन। मेरो जीवनमा संस्कृतको साहित्य, रेडियोका ती डेउडा धुनहरू (सङ्गीत) र गुरु हरि बल्लभ नेपालले सिकाउनुभएको ’वाक्–कला’ को निकै गहिरो प्रभाव छ।
हरिद्वार र वाल्मीकिमा पढेको संस्कृतले मलाई जीवनको अनुशासित व्याकरण सिकाएको थियो भने सानोठिमीको प्रविधिले मलाई पखेटा दिएको थियो। तर, गुरु हरि बल्लभ नेपालले मभित्र जुन बोल्ने र लेख्ने कला भर्नुभयो, त्यसले मात्र मलाई एउटा यन्त्र (Device) हुनबाट जोगाएर एउटा सचेत र सामाजिक मानव बनाउन मद्दत गर्यो। प्रविधिले मलाई व्यावसायिक उचाइ दियो, तर साहित्य र कलाले मलाई समाजसँग जोडिन र आफ्नो भावना अभिव्यक्त गर्न सक्ने बनायो। आज म केवल एक ’आई.टी. उद्यमी’ मात्र होइन, प्रविधिलाई मानवीय भावना र कलासँग जोड्न चाहने एक साधक पनि हुँ। मेरो बुझाइमा प्रविधिबिनाको जीवन अपूर्ण छ, तर कला र साहित्यबिनाको जीवन त साक्षात् पशु सरह हो।
उपसंहार: अटुट साइनो र भविष्यको यात्रा
आज समयको गतिसँगै धेरै कुरा फेरिएका छन्। मेरो प्यारो मूलखटालीमा बिजुली पुगेको छ, घर–घरमा Mobile र इन्टरनेटको पहुँच छ। हिजो मैले अभावमा बिताएका ती दिनहरू आज इतिहास बनिसकेका छन्। तर, काठमाडौँको यो अति आधुनिक प्रविधिको साम्राज्य र सुविधाहरूका बीचमा रहँदा पनि मेरो मन भने अझै खर्काधारको त्यही चिसो हावा, अनिरुद्र स्कुलको त्यो आत्मीय आँगन र गुरुहरूले दिएको जीवन उपयोगी संस्कारमा नै अल्झिरहेको छ।
धेरैले मलाई आज सफल देख्छन् होला, तर मलाई भने लाग्छ— “म अझै सफल भइसकेको छैन।“ बैतडीको विकट गोरेटोबाट सुरु भएको यो यात्रामा मैले केही खुड्किलाहरू त पार गरेँ होला, तर मेरो लक्ष्यको शिखर अझै बाँकी छ। मेरो लागि सफलता भनेको केवल व्यावसायिक मुनाफा मात्र होइन; सफलता त त्यो दिन हुनेछ जब प्रविधिको पहुँच मूलखटाली जस्ता हजारौँ विकट गाउँका प्रत्येक झुपडीसम्म सहजै पुग्नेछ।
प्रविधिले मलाई काम र पहिचान दियो, तर मेरो माटोले मलाई ’आत्मा’ दिएको छ। म प्रविधिको क्षेत्रमा जतिसुकै उचाइमा पुगे पनि आफ्नो धरातल कहिल्यै बिर्सने छैन। यो यात्रा रोकिएको छैन; यो त निरन्तर सङ्घर्ष, सिकाइ र नयाँ सम्भावनाहरूको खोजीमा झनै वेगका साथ अगाडि बढिरहेको छ। मेरो हृदयको कुनामा मूलखटालीको त्यो गौरव र रौला केदारको भव्यता सधैँ–सधैँ गुन्जिरहनेछ र मलाई अगाडि बढ्न प्रेरित गरिरहनेछ।
(लेखक दीपेन्द्र प्रसाद अवस्थी नेपाल आई.टी. सोलुसनका प्रबन्ध निर्देशक हुन्।)