काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भारतको केरला राज्यमा भएको वामपन्थी हारसँग जोडेर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको विश्लेषण गर्नु गलत भएको टिप्पणी गरेका छन् । 'भारतको केरला राज्यमा भएको वामपन्थी हारसँग जोडेर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको भनेर विश्लेषण गर्न थालिएको छ,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'जबकि केरलामा प्रायः प्रत्येक निर्वाचनमा सत्ता परिवर्तन हुँदै आएको इतिहास छ। अपवादका रूपमा अघिल्लो निर्वाचनमा वाम गठबन्धन पुनः सत्तामा दोहोरिएको थियो ।'
नेपालको वामपन्थको भविष्य कुनै एक चुनावी परिणामले नभई यसका भविष्यमुखी एजेन्डा, जनहित, राष्ट्रको पक्षमा गरिने गतिविधि र जनतासँगको सम्बन्धका आधारमा निर्धारण हुने पोखरेलको तर्क छ । उनले अहिलेको हार केवल वामपन्थको मात्र नभई नेपालका समग्र लोकतान्त्रिक शक्तिहरूको हार भएको उल्लेख गरेका छन् ।
अहिलेको मुख्य आवश्यकता नेपालको लोकतान्त्रिक आन्दोलनका आधारस्तम्भका रूपमा रहेका शक्तिहरूले हारको कारण खोज्नु, त्यसको गम्भीर समीक्षा र मूल्याङ्कन गर्नु, तथा सुरक्षित लोकतान्त्रिक भविष्य निर्माणका लागि पुनर्जागरण र पुनर्गठनको स्पष्ट योजना तयार गर्नु रहेको उनले बताए ।
संकट र चुनौतीको समयमा निराशा र पलायनता अवसरवादी एवं कायरहरूको बाटो भएको भन्दै उनले एक क्रान्तिकारीले जस्तोसुकै संकटको सामना गर्ने र प्रतिकूलतालाई अनुकूलतामा बदल्ने सामर्थ्य राख्नुपर्नेमा जोड दिएका छन् ।